२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

माइतीघर : एउटा फिल्मले बदलेको नाम

Nada
प्रकाश सायमी
२०८३ साउन ३० गते ०६:०५
Shares
माइतीघर : एउटा फिल्मले बदलेको नाम

काठमान्डुको मुटुमा एउटा सहर छ, जहाँ यसपालि पानी जमेर जात्रा भयो– माइतीघर मण्डला । पुरानो नाउँ माइतीघर मात्र हो, पूर्वमेयर केशव स्थापितले माइतीघर मण्डला बनाइदिए । अझै पुरानो नाउँ त ‘फिब्वः ख्यः’ हो । 

ncell

फिब्वः ख्यः कसरी माइतीघर बन्यो ? यसको रोचक कथा छ । 

फिब्वः ख्यः मा एउटा धान गोदाम थियो, त्यसलाई विक्रम संवत् २०२२ सालमा एक राणा परिवारले फिल्मको कार्यालय बनाइदियो । फिल्मको नाम थियो– भगवान्को लीला अपरम्पार । नाम लामो मानेर निर्मातामध्येका एक जनरल नन्दकिशोर तिमिल्सेना र फिल्मका नायक भानुप्रताप राणाले जनसेवा हलका पूर्वम्यानेजर एवं साहित्यकार शंकर लामिछानेलाई पूरै कथा पढ्न लगाए । यो धार्मिक नामको ठाउँमा के नाम राख्दा हुन्छ भनेर सोधेपछि ताहाचल निवासी लामिछानेले यो फिल्मको नाउँ ‘माइतीघर’ राखे हुन्छ भनिदिए । 

फिल्मको नाम माइतीघर भएपछि कार्यालयको नाम पनि माइतीघरको कार्यालय भयो । निर्देशक बिएस थापा पनि दंग भए । 

निर्देशक बिएस थापा त्यतिबेला भारतको मुम्बईमा अजन्ता आर्टस् नामक फिल्म कम्पनीमा निर्माता निर्देशक सुनील दत्तका सहायक तथा लेखक भएर काम गर्दै थिए । सुनील दत्तको क्याम्पमा थापाबाहेक, संगीतकार जय देव, प्रोडक्सन कन्ट्रोलर केबी लामिछाने आदि थिए ।  केबीको कथामा पछि सन्तान भन्ने फिल्म पनि बन्यो । 

बिएस थापालाई फिल्मका नायक भानुप्रताप राणाले नन्दकिशोरसित र नन्दकिशोरले नेपालका जनरल नरशमशेर राणा तथा डा.योगेन्द्र झासित परिचय गराइदिएका थिए । त्यसपछि फिल्ममा तत्कालीन राजा महेन्द्र गीतकारका रूपमा देखिए । महेन्द्रका साथमा प्रदीप रिमाल र किरण खरेल पनि आए । संगीतकारमा जयदेव र उनका सहायक मीनु पुरुषोत्तम पनि आबद्ध भए । 

विसं १९८० मा भारतको देहरादुनमा पिता नारायणसिंह थापा र माता लक्ष्मी थापाका कान्छा छोराका रूपमा जन्मेका भीमसिंह (बिएस) थापाले लखनउबाट राजनीतिशास्त्रमा एमए र कानुनमा एलएलबीसम्मको अध्ययन गरेका थिए । कानुनको अध्ययन गरेका कारण ‘ये रास्ते प्यारकी’ फिल्ममा उनले लेखेको कोर्ट सिन ड्रामा लोकप्रिय भइसकेको थियो । 

माइतीघर निर्माण हुने भएपछि उनलाई नायिका माला सिन्हादेखि नायक सुनील दत्त, राजेन्द्र नाथ, ओमप्रकाश सबैले सहयोग गर्ने भए । नेपाल आएर सुटिङ सुरु गरे । तर, नायकमा निर्माता नरशमशेरका भतिजा भानुप्रताप राणाले अभिनयको पारा नल्याएपछि उनले फिल्ममा गायक प्रेमध्वज प्रधानलाई नायक बन्न आग्रह गरे । माला सिन्हाले समेत मन पराएका ह्यान्डसम गायक प्रेमध्वज लजालु थिए । उनले अभिनय गर्न मानेनन्, बरु उनले अर्का गायक चिदम्बरप्रसाद लोहनीको नाउँ सिफारिस गरे । त्यसपछि चिदम्बरप्रसाद (सिपी) नायक भए । अर्थात्, गायक नायक बने । आमा फिल्ममा पनि गायक शिवशंकर नायक भएका थिए, त्योबेला । 

नायिका माला सिन्हा र नायक सिपी लोहनी दुवैलाई थापाथलीनजिकै कुरिया गाउँमा झाको घरमा अपार्टमेन्ट बनाइदिए– जहाँ अहिले एउटा कलेज छ । त्यही अपार्टमेन्टबाट माइतीघरका नायक–नायिकाको प्रेमकथा सुरु भयो । बिएस थापाले पनि भर्खरै सरस्वती थाापासित विवाह गरेका थिए । उनको प्रेम अलि पुरानै थियो । 

माइतीघर बन्दाबन्दै थापाथलीको फिब्वः ख्यः को नाउँ माइतीघरमा परिणत भयो । भनिन्छ, माइतीघर फिल्म डेढ लाखमा सुरु भएर साढे तीन लाखमा पूरा भएको थियो । 

माइतीघर बन्दै गर्दा नायिका माला सिन्हाको मुम्बईको घरमा रेड प¥यो । बाथरुममा लुकाएको २२ लाख रुपैयाँ राजस्वले पक्डेपछि सुटिङमा समस्या आयो । यो समस्या टार्न नेपालबाट राजा महेन्द्रलगायत नरशमशेरले भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीमार्फत महाराष्ट्रका मुख्यमन्त्री मोरारजी देशाईमार्फत सजाय माफीका निम्ति आग्रह गर्नुप¥यो । समस्या यतिमै टरेन । माला सिन्हाले त्यसपछि कांग्रेस सरकारको आग्रहमा एउटा फिल्म सित्तैमा खेल्नुपरेको थियो । 

माइतीघर पूरा भएपछि माला सिन्हाको विवाह नायक सिपी लोहनीसित भयो । गायिका अरुणा लामाको विवाह शरण प्रधानसित भयो । फिल्म सकेर केही समयपछि बिएस थापाको पनि अर्को विवाह भयो, प्रतिमा थापासित । पछि बिएस थापा र प्रतिमाको एउटा छोरी पनि भइन्– डली । 

डली पनि पछि नेपाली फिल्म दक्षिणामा सहनायिका भएर देखापरिन् । बिएस थापाले यसपछि ‘कान्छी’ र ‘मायाप्रीति’ दुइटा फिल्म बनाए । दुवै सफल भए । कान्छी र मायाप्रीतिमा चेतन कार्कीका कारण बिएस थापाले गोपाल योञ्जनलाई संगीतकारका रूपमा लिएका थिए । 

बिएस थापा ९० वर्ष पुगेपछि एकपटक नेपाल घुम्न आए । माइतीघर सुटिङ गरेका ठाउँहरू घुम्ने इच्छामुताबिक उनी निर्माण नियन्त्रक गेहेन्द्र धिमालसित काठमाडौं र पोखरा घुमे, अनि फर्केर गए । केही वर्षपछि विसं २०७३ साल श्रावण २५ गते मंगलबार बिहान १० बजे मुम्बईस्थित बर्सोवाको सात बंग्लोमा उनको निधन भयो । 

थापाले लक्ष्मी, गंगा धाम, चरणदास चोर, भूल ना जाना, गीत गंगाजस्ता हिन्दी फिल्म बनाएका थिए भने राजेश खन्नालाई पहिलोपटक नाटकमा खेलाएका थिए । कुमार गौरव, सञ्जय दत्त, रति अग्निहोत्री, टिना मुनिम आदिलाई फिल्म अभिनय पनि सिकाएका थिए । 

नेपाली फिल्म ‘जीवन–मृत्यु’ बनाउने घोषणा गरेर उनले नायिका वीना बुढाथोकीलाई साइन पनि गराएका थिए । तर, समयले साथ दिएन । नेपाली फिल्मका महान् हस्ती बिएस थापाप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली !

ताजा खबर

सम्बन्धित खबर