
साहित्यको काव्यविधा मानवमनका अत्यन्त सूक्ष्म अनुभूति, आन्तरिक संवेदना, जिजीविषा र जीवनबोधलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने सशक्त माध्यम हो । कविता केवल शब्दहरूको प्राविधिक संयोजन वा तुकबन्दी मात्र होइन, यो त हृदयको गहिराइबाट निःसृत अनुभूतिको संगीतमय र कलात्मक प्रष्फुटन हो । यसमा अन्तर्निहित लय, आन्तरिक भाव, गेयात्मकता र श्रुतिमधुरताले पाठक तथा श्रोताको चेतनामा दीर्घकालीन प्रभाव पार्छ । एक साँचो काव्यकृतिले दुःखको भुमरीमा परेकालाई सान्त्वना दिन्छ, निराशाको अँध्यारोमा आशाको दीप बाल्छ र जीवनलाई हेर्ने दायरालाई व्यापक बनाउँछ । मनभित्र वर्षौंदेखि गुम्सिएर रहेका भावनालाई शब्दको रूप दिँदै मानवजीवनका विविध आयामलाई अनावरण गर्नु नै कविताको मूल सामथ्र्य हो ।
यस्तै, काव्यिक साधना र सिर्जनात्मक कर्ममार्फत नेपाली साहित्यमा निरन्तर आफ्नो उपस्थिति जनाउँदै आएका बहुप्रतिभाशाली सर्जक हुन्– सनत गिरी ‘गाउँले’ । वि.सं. २०३०मा काठमाडौंको ऐतिहासिक थलो दहचोकमा जन्मिएका गिरी नेपाली सञ्चारक्षेत्रका समेत एक परिचित व्यक्तित्व हुन् । लामो समयदेखि विभिन्न राष्ट्रिय छापा माध्यम तथा एफ.एम. रेडियोहरूमा आबद्ध रही सञ्चारकर्ममार्फत उनले सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याएका छन् । समसामयिक राजनीतिक घटनाक्रम, सामाजिक विकृति र मानवीय संवेदनाका विविध पाटामाथि विश्लेषणात्मक तथा विवेचनात्मक टिप्पणी लेख्नु उनको पत्रकारितागत विशेषता हो ।
सर्जकको चौथो कृति र प्रकाशकीय सन्दर्भ
पत्रकारिताको व्यस्त दिनचर्याका बाबजुद साहित्य सिर्जनामा निरन्तर क्रियाशील गिरीले कथा, नाटक, गीत, गजल, कविता र लघुकाव्यजस्ता विविध विधामा समान अधिकारका साथ कलम चलाउँदै आएका छन् । यद्यपि, उनको मुख्य रुचि र पकड भने गीत तथा कविता लेखनमै देखिन्छ । यसअघि उनका ‘तिम्रो लागि’, ‘सुनगाभा’ (गीत–गजलसंग्रह) र ‘परदेशी’ (लघुकाव्य)जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् ।
यसै निरन्तरताको चौथो कडीका रूपमा उनको नयाँ कविता संग्रह ‘आँशु कहिल्यै रित्तिँदैन’ पाठकमाझ आएको छ । यस कृतिमा विभिन्न विषयवस्तु र भावभूमिका ५० वटा कविताहरू संगृहीत छन् । कृतिको प्रकाशकीयमा नवीन सिलवाल लेख्छन्, ‘साहित्यले मानिसको मनमुटुलाई कुन हदसम्म स्पर्श गर्न सक्छ भन्ने कुरा गाउँलेजीका गीत, गजल र यो कवितासंग्रह पढेपछि स्पष्ट हुन्छ । यसमा समेटिएका अत्यन्त मिठासपूर्ण एवं परिस्थितिजन्य रचनाहरूले मलाई भित्री हृदयदेखि नै पुस्तकका रूपमा ल्याउन प्रेरित गरेका हुन् ।’
काव्यिक विशेषता र वैचारिक धरातल
गिरीको काव्यलेखनको मुख्य शक्ति भनेकै भाषाको सरलता, उच्च भावुकता र सहज सम्प्रेषणीयता हो । उनी दुर्बोध प्रतीक, जटिल विम्ब वा क्लिष्ट शब्दावलीको घेरामा अल्झिनुको साटो आमपाठकले सहजै हृदयंगम गर्न सक्ने सरल भाषामार्फत आफ्ना अनुभूति व्यक्त गर्न रुचाउँछन् । उनका रचनामा प्रेमका विविध रंग, वियोगको पीडा, सामाजिक करुणा, अतीतको स्मृति, जीवन–संघर्ष, अदम्य आत्मविश्वास र मानवतावादी दृष्टिकोण बारम्बार प्रखर रूपमा अभिव्यक्त भएका छन् । यस अर्थमा ‘आँशु कहिल्यै रित्तिँदैन’ मानवीय संवेदनाका अनेकौं पत्रहरूलाई सरल रूपमा उघार्ने एउटा परिपक्व काव्यकृति हो ।
संग्रहको शीर्षक कविता ‘आँशु कहिल्यै रित्तिँदैन’मा कविले आँसुलाई मानिसको स्वाभाविक र जैविक अभिव्यक्तिका रूपमा प्रस्तुत गरेका छन् ।
दुःख पर्दा
आँशु नआएर के आउँछ
चोट पर्दा आँशु नआएर के आउँछ
आँशु कहिल्यै रित्तिँदैन ।
आँशुले दुःखमा पनि सन्तुष्टि दिँदो रहेछ ।
यहाँ प्रस्तुत आँसु केवल दुःख र रोदनको बाह्य प्रतीक मात्र होइन; यो त मनको भारी हलुका बनाउने एउटा भावनात्मक उपचार पनि हो । ‘आँशुले दुःखमा पनि सन्तुष्टि दिँदो रहेछ’ भन्ने अभिव्यक्तिले रोदनलाई कमजोरीका रूपमा नभई मनको पीडा विसर्जन गर्ने प्राकृतिक प्रक्रियाका रूपमा स्थापित गरेको छ । मानिसमा संवेदना जीवितै रहेसम्म आँसुको स्रोत सुक्दैन भन्ने गहिरो जीवन–दर्शन यस शीर्षक कविताले बोकेको छ ।
वर्तमानप्रतिको सचेतता र संघर्षको चेतना
अतीतका पानाहरूमा रुमल्लिनुभन्दा वर्तमानलाई सार्थक बनाउनुपर्छ भन्ने विचार ‘अतीत’ शीर्षकको कवितामा प्रस्टसँग आएको छ :
अतीतमा दुःख भयो भनेर रुनु किन ?
अतीतमा दुःख भए
वर्तमानमा सुख हुन सक्छ ।
यी हरफहरूले जीवनको निरन्तर परिवर्तनशीलतालाई इंगित गर्छन् । विगतको दुःखलाई सम्झेर वर्तमान नष्ट गर्नु वा हिजोको सफलतामा मात्तिएर आजको जिम्मेवारी भुल्नु दुवै गलत हुन् । विगतबाट पाठ सिक्दै वर्तमानमा सचेत र सक्रिय हुनुपर्छ भन्ने सकारात्मक सन्देश यस कविताको मूल मर्म हो ।
त्यसैगरी, ‘जित हार’ कवितामा जीवन–संघर्ष र उच्च मनोबलको प्रतिविम्ब पाइन्छ । ‘हारलाई जितमा र आँसुलाई हाँसोमा बदल्नुपर्छ’ भन्ने भावले असफलतालाई अन्तिम परिणाम नमानी आगामी सफलताको प्रस्थान विन्दु मान्न प्रेरित गर्छ । जीवनमा हार र जित चक्रझैं घुमिरहने भए पनि लडेर पुनः उठ्ने साहस नै मानिसको वास्तविक परिचय हो भन्ने कविको दृढ विश्वास छ ।
प्रेम, वियोग र सामाजिक दायित्व
‘चिठ्ठी’ कवितामा प्रेम र साहित्यिक आत्मीयताको सुन्दर संयोजन देख्न सकिन्छ :
तिमी मेरो कविताझैं हाँस
मेरो गीतझैं बाँच ।
प्रिय पात्रलाई आफ्नै सिर्जनासँग तुलना गर्दै कविले उसको सुखद जीवनको कामना गरेका छन् । यहाँ प्रेम स्वामित्व वा अधिकार जमाउने माध्यम नभई आत्मिक समर्पण र शुभेच्छाका रूपमा आएको छ । यसको ठीकविपरीत ‘हामी दुईको माया’ले भने प्रेमको विघटन र वियोगको मार्मिक अवस्थालाई प्रस्तुत गर्छ । ‘हामी दुईको माया एकादेशको कथा भयो’ भन्ने अभिव्यक्तिले सम्बन्धमा आएको दूरी र एकांगी पीडालाई मौन स्वीकृतिका साथ व्यक्त गरेको छ ।
कृति व्यक्तिगत प्रेम र वियोगमा मात्र सीमाबद्ध छैन, यसमा सामाजिक दायित्व र करुणाको पक्ष पनि उत्तिकै सबल छ । ‘मैले केही गर्न सकिरहेको छैन’ कवितामा कविको दृष्टि समाजका दुःखी र उत्पीडित वर्गसम्म पुगेको छ :
म दुःखीका पीडा बुझिरहेछु
म गरिबका कथा पढिरहेको छु ।
पत्रकारिताको पृष्ठभूमिले दिएको यथार्थबोधका कारण कवि समाजका असमानताप्रति संवेदनशील छन् । त्यस्तै, प्रेरणामूलक कविता ‘अठोट’मा ‘चन्द्रमामा पुग्ने लक्ष्य राख’ भन्दै ठुलो सपना देख्न र ‘मुठी रोपे मुरी पाइन्छ’जस्ता लोकोक्तिमार्फत श्रमको महत्त्व बुझ्न आह्वान गरिएको छ ।
भाषिक शैली र समग्र मूल्यांकन
भाषाशैलीका दृष्टिले यस संग्रहका कविताहरू सरल, सहज, भावप्रधान र संवादात्मक छन् । दैनिक जीवनका साधारण प्रतीकहरू (आँसु, हाँसो, अतीत, चिठ्ठी, चन्द्रमा)लाई नै जीवनबोधको माध्यम बनाउनु कविको आफ्नै शैली हो । यद्यपि, साहित्यिक परिष्कारका दृष्टिले केही रचनालाई अझ संक्षिप्त, प्रतीकात्मक र भाषिक कसावटयुक्त बनाउन सकिने गुञ्जायस रहे पनि प्रत्यक्ष अभिव्यक्ति नै सर्जकको मूल पहिचान बनेर आएको छ ।
‘आँशु कहिल्यै रित्तिँदैन’ केवल पीडाको अभिलेख मात्र नभई संघर्ष, आशा, मानवता र अदम्य आत्मविश्वासको काव्यिक दस्ताबेज हो । यसले पाठकलाई निराशाबाट अठोटतर्फ र हारबाट जिततर्फ अघि बढ्ने प्रेरणा दिन्छ । झरेका आँसुलाई जीवनको शक्ति र अनुभवमा रूपान्तरण गर्न सक्नु नै यस कृतिले दिएको सबैभन्दा ठुलो सन्देश र उपलब्धि हो ।