
अबुजा : मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको झडपमा २० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सांसद तथा अन्य स्रोतहरूले बताएका छन् ।
बोर्गू सङ्घीय निर्वाचन क्षेत्रका सांसद जाफर मुहम्मदले झडपको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन सुरक्षा बल परिचालन गर्न माग गरेका छन् । उनका अनुसार स्थानीय मिलिसिया तथा विभिन्न जातीय समूहबीच भएको हिंसामा २० जनाभन्दा बढीको मृत्यु भएको हो ।
मुहम्मदले स्थिति नियन्त्रणमा लिन भारी हतियारसहितको सुरक्षा बल आवश्यक रहेको बताएका छन् । स्थानीय बासिन्दालाई उद्धृत गर्दै एएफपीले उक्त हिंसा मुख्य रूपमा फुलानी र काम्बारी समुदायबीच भएको जनाएको छ ।
नाइजेरियामा पछिल्ला वर्षहरूमा समुदायबीचको द्वन्द्व, सशस्त्र समूहको गतिविधि, अपहरण तथा चोरीका घटनाले सुरक्षा चुनौती बढाएको छ । विशेषगरी मध्य तथा उत्तर–पश्चिमी क्षेत्रमा गाईवस्तु चोरी गर्ने र अपहरणमा संलग्न सशस्त्र गिरोहहरूले स्थानीय समुदायमाथि आक्रमण, हत्या तथा लुटपाट गर्दै आएका छन् ।
यसैबीच, उत्तर–पूर्वी नाइजेरियामा लामो समयदेखि विद्रोह गरिरहेका जिहादी समूहहरूले नाइजर राज्यमा समेत आफ्नो प्रभाव विस्तार गरेका छन् । उनीहरूले कतिपय स्थानीय आपराधिक समूहसँग सहकार्य गर्दै हिंसात्मक गतिविधि सञ्चालन गर्ने गरेको बताइएको छ ।
गत मे महिनामा सेनासँग सहकार्य गर्ने एक मिलिसिया समूहले पछिल्लो झडप भएको क्षेत्रनजिकै करिब ४० जना फुलानी गोठालाको हत्या गरेको थियो । उनीहरूमाथि जिहादी समूह ‘अन्सारु’का लागि सुराकी गरेको आरोप लगाइएको थियो ।
विशेषज्ञहरूका अनुसार फुलानी समुदायमाथि हुने यस्ता प्रतिशोधात्मक कारबाहीले उनीहरूमध्ये केहीलाई सुरक्षाका लागि जिहादी समूहमा आबद्ध हुन बाध्य पार्ने जोखिम बढाएको छ ।
पछिल्लो झडपपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाको थप विवरण तथा क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।