
झापा : राजनीति जित र हारको अन्तिम सत्य होइन रहेछ । कहिलेकाहीँ निर्वाचनमा हार्ने नेता जनताकोबीचमा अझ बलियो भएर फर्किन्छन् । तर जित्ने नेता जनताकै आँखाबाट टाढिँदै जान्छन् । झापा–५ मा अहिले देखिएको राजनीतिक दृश्यले यस्तै प्रश्न जन्माएको छ ।
निर्वाचनमा पराजित भएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो गृहजिल्ला झापा आइपुगे । निर्वाचनपछि पहिलोपटक झापा–५ पुगेका ओलीलाई भद्रपुर विमानस्थलबाट नेता–कार्यकर्ता तथा समर्थकले स्वागत गरे ।
ओलीको झापा आगमन केवल पार्टीको कार्यक्रमका लागि मात्रै थिएन । स्थानीय नागरिक तथा राजनीतिक वृत्तको बुझाई पनि यही छ । निर्वाचनमा पराजित ओलीको ओलीको उपस्थितिले लामो समयदेखि विश्वास गर्दै आएको जनतासँगको सम्बन्ध नटुटेको सन्देश दिएको छ । अर्कोतर्फ, निर्वाचनमा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति भने झापा–५ का मतदाताले असन्तुष्टि बढएका छन् ।
जित्ने बालेन, फर्किने ओली
एकातिर देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा लामो राजनीतिक अनुभव बोकेका ओली र अर्कोतिर नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै आएका बालेन्द्र शाह प्रतिष्पर्धामा थिए । निर्वाचन सकिएको केही महिनामै राजनीतिक दृश्यमा एउटा रोचक विरोधाभास देखिएको छ—जितेका बालेन काठमाडौंको सत्ता र जिम्मेवारीमा व्यस्त छन्, हारेका ओली भने आफ्ना मतदाताको आँगनमा फर्किएका छन् ।
यही कारण झापा–५ का चोक र चिया पसलमा अहिले एउटा प्रश्न सुनिन थालेको छ, ‘चुनाव जितेर जाने नेता कहाँ छन् ? हारेर जाने नेता फेरि जनतामाझ किन फर्किए ?’
यो प्रश्नको उत्तर बालेनका लागि पनि महत्वपूर्ण हुनेछ । मत माग्न आएका बालेन, धन्यवाद दिन कहिले आउँने ? निर्वाचनका बेला शाहका पक्षमा झापा–५ मा ठूलो लहर देखियो । परिवर्तनको आशा बोकेर मतदाताले उनलाई भारी मत दिए । तर चुनाव जितिसकेपछि मतदाताले खोज्ने कुरा भाषण होइन, उपस्थितिको अनुभूति हो, शाहबाट त्यो अपेक्ष पूरा हुन सकेन ।
झापा–५ का कतिपय नागरिकमा अहिले प्रश्न छ,–निर्वाचन जितेको लामो समय भइसक्दा विजयी प्रतिनिधि जनताबीच पर्याप्त रूपमा किन देखिएनन् ? निर्वाचन जित्नु जनादेश हो । तर जनादेशको सम्मान जनतासँगको निरन्तर सम्बन्धबाट हुन्छ ।
बजेटमा झापा–५ को अपेक्षा
शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि आर्थिक वर्षको बजेट आयो । स्वाभाविक रूपमा झापा–५ का मतदाताले आफ्नो क्षेत्रमा पनि उल्लेख्य योजना र बजेट आउने अपेक्षा गरेका थिए । दमक, गौरादह, कमल र गौरीगञ्जका नागरिकले सडक, खानेपानी, कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा तथा पूर्वाधारका विषयमा वर्षौंदेखि समस्या भोगिरहेका छन् ।
तर बजेटमा आफ्नो क्षेत्रले अपेक्षाअनुसार प्राथमिकता नपाएको गुनासो स्थानीय तहमा सुनिन थालेको छ । यहाँ एउटा राजनीतिक प्रश्न उठ्छ,– जसले यति ठूलो मतान्तरले जिताए, त्यही क्षेत्रका जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी कसको हो ?
बालेनका समर्थकहरूले यसलाई समय र सरकार सञ्चालनको प्रारम्भिक चरणसँग जोडेर हेर्न सक्छन् । तर मतदाताका लागि भने चुनावपछि सुरु हुने प्रतीक्षा अनन्त हुन सक्दैन ।
ओली हारेर पनि किन फर्किए ?
ओलीले झापा–५ मा चुनाव हारे। त्यो जनताको फैसला हो र लोकतन्त्रमा त्यसलाई सम्मान गर्नुपर्छ । तर हार स्वीकार गरेर आफ्नो राजनीतिक आधारभूमिबाट टाढा बस्नु र हारपछि पनि त्यही जनताको बीचमा फर्किनु दुई फरक राजनीतिक संस्कार हुन् । ओलीले दोस्रो बाटो रोजेका छन् । उनी पार्टी संगठन सुदृढ गर्ने अभियानका क्रममा झापा पुगेका हुन् । स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्दैछन् । भोलि हुने ‘मिसन पार्टी जागरण’ कार्यक्रममा सहभागी हुँदैछन् ।
ओलीको झापा आगमनले एमाले कार्यकर्तामा देखिएको उत्साहलाई हेर्दा उनको राजनीतिक सम्बन्ध मतपत्रको परिणामले मात्र समाप्त नभएको देखिन्छ । ओलीका लागि झापा निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक जीवनको एउटा महत्वपूर्ण अध्याय पनि हो । त्यसैले चुनाव हार्दैमा उनले झापा–५ लाई माया मार्न सकेनन् ।
लामो समयदेखि आफ्नो क्षेत्रका नागरिकसँग सम्पर्कमा रहेका, सुख–दुःखमा सहभागी हुने र हारपछि पनि फर्केर आउने नेताप्रति स्थानीय तहमा विगतदेखिको भावनात्मक सम्बन्धमा थप इँटा थप्ने काम भएको छ । ओलीले झापा–५ लाई पटक–पटक आफ्नो राजनीतिक घरका रूपमा प्रस्तुत गर्दै आएका छन् । यही कारण निर्वाचनमा पराजित भए पनि उनी फर्किँदा स्थानीय एमाले पंक्तिमा देखिएको उत्साहलाई स्वभाविकरूपमा लिन सकिन्छ ।
तर बालेन्द्र शाहका लागि यही ठाउँमा चुनौती खडा हुन्छ । बालेनको लोकप्रियता अब कामले जाँचिनेछ । उनको राजनीतिक उदय असाधारण रह्यो । काठमाडौं महानगरपालिकाबाट सुरु भएको उनको लोकप्रियता राष्ट्रिय राजनीतिसम्म पुग्यो र अन्ततः झापा–५ मा ओलीजस्ता अनुभवी नेतामाथि ठूलो जित हासिल गरे । तर लोकप्रियता र शासन क्षमता एउटै कुरा होइन । सामाजिक सञ्जालमा देखिने लोकप्रियता, चुनावी भाषण र वास्तविक जनताको दैनिकीबीच ठूलो अन्तर हुन्छ ।
अब बालेन्द्र शाहलाई आफ्नो लोकप्रियता कामबाट प्रमाणित गर्नुपर्नेछ । झापा–५ का मतदाताले भन्न थालेका छन्,–‘हामीले दिएको मतको प्रतिफल कहाँ छ ?, हाम्रो क्षेत्रको विकासको योजना कहाँ छ ?, हामीसँग प्रत्यक्ष संवाद कहिले हुन्छ ?
यी प्रश्नलाई बेवास्ता गरेर राष्ट्रिय राजनीतिमा मात्र रमाउनु बालेनका लागि महँगो पर्न सक्छ ।
ओलीका लागि पनि अवसर, बालेनका लागि चेतावनी
ओली झापा फर्कनु एमालेका लागि केवल कार्यकर्ता भेटघाट होइन । यो पराजयपछि संगठन पुनर्निर्माणको सुरुवात हो । निर्वाचनले एमालेको कमजोर पक्ष देखाइदिएको छ । अब त्यसबाट पाठ सिकेर संगठनलाई जनतासँग जोड्ने काम ओलीका लागि चुनौती हुनेछ ।
अर्कोतर्फ बालेन्द्र शाहका लागि अहिलेको समय अवसरभन्दा बढी परीक्षा हो । उनले झापा–५ का मतदातालाई धन्यवाद दिनु, उनीहरूका समस्या सुन्नु र विकासका विषयमा स्पष्ट योजना प्रस्तुत गर्नु आवश्यक देखिन्छ । किन कि मतदाताले नेताको अनुहारभन्दा अब परिणाम हेर्न थालेका छन् ।