२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

निभेको चुलो कि तातेका सांसद ?

Nada
सपना बोहरा
२०८३ भदौ २ गते १८:२९
Shares
निभेको चुलो कि तातेका सांसद ?

'चार-पाँच दिनदेखि ग्यास पाइएन, लौ आज आगोमै खाना पकाइयो ।'

ncell

फलामको चुलोमा दाउरा बालेर कुकरमा खाना बसालेको फोटो फेसबुकमा देखेपछि मैले केही बेर नियालेँ । फोटो पोस्ट गर्ने व्यक्ति सर्वपरिचित नै थिए । तर, त्यो फोटो र त्यसको क्याप्सनले मेरो मनमा धेरै प्रश्न उब्जाए ।

के ती प्रतिष्ठित व्यक्तिले साँच्चै ग्यास नपाएकै हुन्? कि उनको रुचि दाउराको आगोमा खाना पकाउनु मात्रै हो? देशको मुख्य सहरमा बस्ने एउटा जिम्मेवार व्यक्तिले यस्तो पोस्ट गर्नु कति शोभनीय होला ?

हो, देशभर ग्यासको अभाव छ । बर्खा र गर्मी नभनी सर्वसाधारण घन्टौँ लाइनमा बस्न बाध्य छन् । सायद उनको घरमा पनि ग्यास सकियो होला । तर, वास्तविक अभाव कसलाई भएको हो ? सहरमा डेरा लिएर पढ्ने विद्यार्थीलाई ? ज्यालादारी गरेर बिहान-बेलुका छाक टार्ने मजदुरलाई ? कि गल्लीमा चिया बेचेर परिवार पाल्ने साना व्यवसायीलाई? जसका लागि ग्यासको कुनै सहज विकल्प नै छैन ।

ती व्यक्तिले ग्यासको साटो विद्युतीय चुलो प्रयोग गर्न सक्दैनथे र? दाउरा बालेको फोटोको सट्टा विद्युतीय चुलोमा खाना पकाउँदै- 'ग्यासको विकल्पमा विद्युतीय चुलो पनि प्रयोग गर्न सकिन्छ, बजारमा कम बिजुली खपत हुने चुलोहरू पाइन्छन्' भनेर सन्देश दिएको भए कति राम्रो हुन्थ्यो !

सडकमा सर्वसाधारण ग्यासका लागि महिनौंदेखि भौंतारिरहेका छन् । वास्तविक अभाव झेल्ने तिनै सर्वसाधारण, तर सामाजिक सञ्जालमा रोइलो मच्चाउनेचाहिँ नेता र सांसद ? सडकमा सर्वसाधारणको दुःख देख्दा मन कटक्क हुन्छ, तर सामाजिक सञ्जालमा जनप्रतिनिधिको यस्तो रोइलो देख्दा हाँसो उठ्छ ।

केही दिनअघि एक जना सांसदको भिडियो देखेकी थिएँ । 'खाना पाकेन, घरमा ग्यास ल्याइदिने मान्छेले फोन उठाएन' भन्दै रित्तो सिलिन्डर देखाएर भिडियो पोस्ट गरिएको थियो । ग्यास सकिएपछि प्रक्रियागत रूपमा लाइनमा बस्ने वा विकल्प खोज्ने हो । नेता, मन्त्री र सांसदले नै यसरी भिडियो पोस्ट गर्दै हिँड्ने हो र ? के जान्ने-बुझ्ने भनिएका मानिसहरूलाई ग्यासको विकल्प पनि हुन्छ भन्नेसम्म हेक्का नभएको हो ?

माननीयज्यूहरूको चुलो नबलेपछि एक दिन संसद् तात्यो । त्यो राप संसद् हुँदै सामाजिक सञ्जालमार्फत नागरिकसम्म पुग्यो । संसद् तात्नुको कारण थियो—एक महिला सांसदले ग्यास अभावको समस्यालाई कवितात्मक शैलीमा प्रस्तुत गर्नु । समस्या पोख्ने आ-आफ्नै शैली हुन्छन् । कविता वास्तवमै मार्मिक थियो । तर, अन्य सांसद र सभामुखसम्मले त्यसलाई हाँसोमा उडाइदिए । भाव नबुझे पनि हाम्रा नेताहरू 'ट्रोल' बनाउन भने निकै सिपालु रहेछन्; पलभरमै तिनै सांसदलाई ट्रोल बनाइयो ।

पत्रकारितामा प्रवेश गर्दाका केही वर्षअघिका दिन सम्झिन्छु- कुनै नेता वा प्रतिष्ठित व्यक्तिको घरमा केही कुराको अभाव भए एक फोनकै भरमा घरमै सामान पुग्थ्यो । जनताले जतिसुकै सास्ती पाए पनि ती शक्तिकेन्द्रका लागि एउटा कल नै काफी हुन्थ्यो । त्यतिबेला मलाई लाग्थ्यो- 'ओहो ! म पनि यस्तै ठूलो मान्छे बन्न पाए हुन्थ्यो, जसको घरमा अभाव हुनासाथ एकै कलमा ग्यास पुगोस् ।'

तर, आजभोलि त्यस्तो 'ठुलो मान्छे' बन्ने अलिकति पनि मन छैन ।

अहिले समय फेरिएको छ, तर पदमा पुगेका मानिसहरूको सोच किन फेरिएन? मान्छे जुनसुकै पदमा पुग्न सक्छ, तर पदको गरिमा जोगाउन सबैले सक्दा रहेनछन् । पछिल्लो समय नियम-प्रणालीका कुरा त गरिन्छ, तर ती नियम उच्च पदस्थले पनि पालना गर्नुपर्छ । सानातिना कुरामा सामाजिक सञ्जालमा रोइलो गर्नु शोभनीय हुँदैन ।

अझ अर्को कुरा, चाडबाड नजिकिँदै छ । सर्वसाधारणको घरमा ग्यास छैन, तर कतिपयले अगाडि नै जोहो गरिसकेका होलान् । के सरकारप्रति विश्वास नभएर जनता आफैंले सञ्चय गर्न थालेका हुन्?

चियागफमा एक जना पाका मान्छे भन्दै थिए, 'बजारमा मात्रै ग्यासको अभाव हो, घर-घरमा छापा मार्ने हो भने मेरै घरमा पनि दुई-तीनवटा सिलिन्डर भेटिन्छन् ।' उनको यो भनाइले धेरै कुरा बोल्थ्यो; त्यहाँ उपस्थित सबैले हाँस्दै सहमति जनाए ।

देशमा हरेक कुराको अभाव छ । ग्यासको अभाव भएको यो पहिलो पटक पनि होइन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भारतले महिनौं नाकाबन्दी गर्दा पनि देशले ठुलो संकट भोगेको थियो ।

नाकाबन्दी र अभावका राजनीतिक पाटो आफ्नै ठाउँमा होलान् । तर, नेपालसँग एलपी ग्यासको खानी नभए पनि अपार जलस्रोत त छ नि ! ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न सकिन्छ । देशकै जलस्रोतबाट पर्याप्त ऊर्जा निकालेर घर-घरमा विद्युतीय चुलोको पहुँच पुर्‍याउने दीर्घकालीन योजना सरकारले किन बनाउँदैन ?

आयातित ग्यास र पेट्रोलभन्दा स्वदेशी जलविद्युत्को प्रयोगमै देशको हित छ । छिमेकी देशले हामीलाई ग्यास बेचेर यताबाट ऊर्जा लगिरहेका छन्, तर हामी भने आफ्नै सम्भावनालाई बिर्सेर निभेको चुलो र तातेको संसद्को तमासा हेर्न बाध्य छौं ।

ताजा खबर

सम्बन्धित खबर