
काठमाडौं :नेपाल आयल निगमले एलपी ग्यास पर्याप्त आपूर्ति गरेको दाबी गरिरहे पनि देशभर अभाव कायमै छ । नागरिक कहाँ ग्यास पाइन्छ भनेर भौंतारिइरहेका छन् । सरकारले शनिबार राजधानीका ५ स्थान र आइतबार ७ स्थानबाट ग्यास वितरण गरेको थियो । ग्यासका लागि बिहानैदेखि लाइन बसे पनि केहीले पाए भने कोही निरास हुँदै फर्किए ।
ग्यासको लागि भौंतारिनेमा सबैभन्दा धेरै काठमाडौंमा डेरा गरेर बस्ने विद्यार्थी थिए । भाडामा बस्नेहरू जोसँग एउटा मात्र ग्यास सिलिन्डर छ, उनीहरू सबैभन्दा धेरै समस्यामा परिरहेका छन् । ग्यासको समस्याबाट देशभरका उपभोेक्ताले सास्ती व्यहोर्नुपरेको छ । ग्यास कम्पनीबाट मागअनुरूप आपूर्ति गर्न नसक्दा एक महिनादेखि उपभोक्ताले सास्ती भोग्नुपरेको छ । निगमले ७.१ केजी तौल आधा सिलिन्डरबाट १४.२ केजीको भरी सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको हो ।
ग्यासका लागि लाइनमा बसेर पालो कुर्दासमेत डिलरमा ग्यास नआएपछि उपभोक्ता निगमले तोकेको स्थानमै गएर ग्यासको लाइन लाग्न बाध्य भएका छन् । एक महिनाअघि देखि सुरु भएको ग्यासको समस्या समाधान गर्न सरकार चुकेको छ । डिलरमार्फत भन्दा पनि आफ्नै संयन्त्रलाई प्रयोग गर्दा वितरण प्रणाली नै बिग्रिएको छ ।
समाधानभन्दा स्टन्ट धेरै
ग्यास बिक्रेता व्यवसायीले खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकार गम्भीर नभएको बताएका छन् । सरकार र यसका सम्बन्धित निकायहरू समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा अनावश्यक प्रचारबाजी र दोषारोपणमा मात्रै केन्द्रित भएको ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए ।
पछिल्लो चार महिनामा अघिल्लो वर्षको तुलनामा ६० हजार मेट्रिक टन कम एलपी ग्यास आयात भएका कारण बजारमा अभाव सिर्जना भएको महासंघको दाबी छ । महासंघले बजारमा हाल आवश्यकताभन्दा बढी करिब ८० लाख सिलिन्डर छरिएको भन्दै नयाँ सिलिन्डर बिक्री गर्ने होडबाजीले भविष्यमा झन् ठुलो संकट निम्त्याउने चेतावनी दिएको छ । बजारमा सिलिन्डरको संख्या थुप्रिने, तर ग्यासको आयात नबढ्ने अवस्थाले उपभोक्ता र बिक्रेता दुवै मारमा परेको महासंघको भनाइ छ । स्थापित वितरण प्रणालीलाई बाइपास गरेर ग्यास उद्योग र विभिन्न अस्थायी बिक्री केन्द्रबाट सिधै ग्यास बिक्री गर्ने सरकारी निर्णयले अभावलाई थप जटिल बनाएको महासंघले जनाएको छ । बिक्रेतामार्फत वितरण सहज बनाउनुको साटो उद्योगबाटै ग्यास बाँड्ने र अनुगमनका नाममा साना बिक्रेतालाई अनावश्यक दुःख दिने काम भएको व्यवसायीको भनाइ छ ।
तर, बजारमा देखिएको ग्यास अभाव सहज हुँदै जाने नेपाल आयल निगमले जनाएको छ । निगमका एलपी ग्यास तथा हवाई इन्धन विभागका प्रमुख विनीतमणि उपाध्यायले ग्यासको आपूर्ति व्यवस्था निरन्तर भइरहेको केही दिनमा नै ग्यासको समस्या हट्ने दाबी गरे । उनले भने, ‘७.१ केजीको सिलिन्डरबाट १४.२ केजीमा एकैपटक जम्प भएपछि त्यसको प्रभाव बजारमा देखिएको हो ।’
माग एकैपटक बढ्दा बजारमा ग्यासको खपत बढेको उनको दाबी छ । ‘आधाबाट भरी सिलिन्डरमा बढ्दा त्यसको असर मार्केटमा आएको भन्दै उनले मागलाई व्यवस्थापन गर्दै आपूर्ति बढाउनेतर्फ निगम लागिरहेको बताए । उनले भने, ‘आजैदेखि सहज भयो भन्न सक्ने अवस्था छैन, तर सहजताको बाटोमा उन्मुख छ ।’
अति आवश्यक उपभोक्तालाई लक्षित गरी विभिन्न स्थानबाट ग्यास उपलब्ध गराउने प्रयास निगमले गरेको छ ।’ निगमले सहज हुने दाबी गरे पनि ग्यासको समस्या सहजभन्दा पनि दिन–प्रतिदिन उपभोक्ता आत्तिरहेका छन् । एक महिनादेखि ग्यास नपाएका उपभोक्ता ग्यासको सहज हुनेमा ढुक्क देखिँदैनन् । उपभोक्ता अधिकारकर्मी निगमको व्यवस्थापकीय कमजोरीकै कारण ग्यासको हाहाकार भइरहेको बताएका छन् । अन्य समयभन्दा ग्यास बढी आयात भइरहेको छ, तर जनतामा सरकारसँग विश्वासको वातावरण नबन्दा घरमा ग्यास नसकिँदै उपभोक्ता फेरि लाइनमा पुग्न थालेका छन् ।
निगमले असार ३१ गतेदेखि १४.२ केजीको भरी सिलिन्डर ग्यास बिक्री सुरु गरे पनि एक महिना हुँदासमेत ग्यासको सहजता हुन सकेको छैन । एक महिनामा देशभर ३५ लाख सिलिन्डरभन्दा बढी ग्यास खपत हुने गरेको छ । तर, पूरा सिलिन्डर दिन सुरु गरेपछि साउन महिनामा ५४ हजार टन ग्यास नेपाल भित्रिँदा ३८ हजारभन्दा धेरै ग्यास सिलिन्डर भर्न पुगे पनि ग्यासको हाहाकार उस्तै छ । मागभन्दा बढी ग्यास आयात हुँदासमेत आमनागरिकले कहाँ ग्यास बाडिँदैछ भनेर भौंतारिनुपरेको छ ।