२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

भदौ ९ देखि नाडा अटो सो, २ सय भन्दा बढी स्टल रहने

Nada
२०८३ भदौ २ गते ११:४३
Shares
भदौ ९ देखि नाडा अटो सो, २ सय भन्दा बढी स्टल रहने

काठमाडौं : नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो सो २०२६ भदौ ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ  । नाडा अटो सो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ ।

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ ।

नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो सोको १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ । यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ ।

नाडा अटो सो  को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो । यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पु¥याउने विश्वास आयोजकको रहेको छ ।

प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जस्मा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन् ।

६ दिनसम्म चल्ने नाडा अटो सो  २०२६ मा लगभग २ लाखले अवलोकन गर्ने विश्वास नाडाले लिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर