
काठमाडौं : वैद्य इनर्जी प्रा.लि.अन्तर्गतको एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ हासिल गर्न सफल भएको छ । ६ दिनसम्म सञ्चालन भएको उक्त एक्स्पोमा एथरका नयाँ इलेक्ट्रिक स्कुटर, अत्याधुनिक प्रविधि र बलियो ओनरसिप इकोसिस्टमप्रति नेपाली ग्राहकले उत्साहजनक प्रतिक्रिया देखाएका छन् । यो उपलब्धि केवल आकर्षक प्रवर्धनात्मक योजनाका कारण नभई ग्राहकको विश्वास, ब्याट्री अस्योरेन्स, सर्भिसको उपलब्धता, चार्जिङ पूर्वाधार र व्यावहारिक प्रविधिमा एथर नेपालले गरेको निरन्तर लगानीको परिणाम भएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूको दीर्घकालीन ब्याट्री विश्वसनीयता सम्बन्धी चिन्तालाई सम्बोधन गर्न एथर नेपालले 'एथर अस्योरेन्स'लाई निरन्तर बलियो बनाउँदै आएको छ । यस अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८०,००० किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ, जसमा लागू हुने सर्तहरू अनुसार ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने प्रत्याभूति समेत समावेश छ । हाल नेपालभर एथरका १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेका छन्, जसले ग्राहकलाई खरिद पश्चात् दैनिक प्रयोग र दीर्घकालीन स्वामित्वमा सहजता प्रदान गर्दछ ।
एक्स्पोमा सार्वजनिक गरिएको नयाँ 'एथर ४५० ओभरटोन सिरिज'ले ग्राहकको विशेष ध्यान खिचेको थियो । यस सिरिजमा थ्रोटलको सहज घुमाईबाट रिजेनेरेटिभ ब्रेकिङ नियन्त्रण गर्ने 'म्याजिक ट्विस्ट', लामो दूरीको सवारीलाई सहज बनाउने 'इन्फिनिट क्रुज' र आवाजमार्फत स्कुटरसँग अन्तरक्रिया गर्न मिल्ने 'भोइस अन एथर' जस्ता अत्याधुनिक विशेषताहरू उपलब्ध छन् । यसका साथै एथर ४५० सिरिज र रिज्टा फेमिलीले पनि ग्राहकको दैनिक सहरी यात्राका विभिन्न आवश्यकताहरूलाई उपयुक्त विकल्प प्रदान गरेका छन् ।

एथर नेपालका अनुसार ५०० भन्दा बढी बुकिङ हुनु केवल बिक्रीको एउटा कोशेढुंगा मात्र नभई नेपालमा विद्युतीय सवारी र एथरको इकोसिस्टमप्रति नेपाली ग्राहकको बढ्दो भरोसाको संकेत हो । ग्राहकहरू केवल अल्पकालीन अफरहरू मात्र नहेरी उत्पादनको विश्वास, ब्याट्रीको ग्यारेन्टी, तथा चार्जिङ र सर्भिसको सहज पहुँच खोजिरहेको कम्पनीको भनाइ छ । एथर नेपालले आगामी दिनमा पनि प्रविधि, विश्वसनीयता र ग्राहकको विश्वासलाई केन्द्रमा राखेर नेपालमा विद्युतीय सवारीको इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।