
काठमाडौं : नेपाल र भारतबीच निर्वाध सीमापार भुक्तानी प्रणालीमार्फत डिजिटल कनेक्टिभिटीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएल)ले नेपालमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई)को प्रयोग र सहज रेमिट्यान्स सम्बन्धलाई थप विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको हो ।
नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूमाझ क्युआर कोडमा आधारित युपिआई भुक्तानीको बढ्दो लोकप्रियता र हालै सुरु भएको भारतको युपिआई तथा नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपिआई)बीचको आबद्धताले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याएको छ । यस प्रणालीले दुवै देशका नागरिकलाई 'पर्सन-टू-पर्सन' (पिटुपी) रियल–टाइम रकम स्थानान्तरण गर्न निकै सहज बनाएको छ ।
हरेक वर्ष नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारतीय नागरिकको हिस्सा ठुलो रहने गरेको छ । तथ्यांक अनुसार सन् २०२५ मा मात्रै २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका थिए । मनोरञ्जन, धार्मिक यात्रा, व्यापार तथा पारिवारिक सम्बन्धका कारण नेपाल आउने यी यात्रुहरूका लागि यूपीआई भुक्तानी सेवा निकै प्रभावकारी सावित भएको छ ।
हाल नेपालका लोकप्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यहरू जस्तै चन्द्रागिरि हिल्स, मनकामना मन्दिर, र पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा यो सुविधा उपलब्ध भइसकेको छ । पर्यटकहरूले फोनपे नेटवर्कमार्फत आबद्ध व्यवसायीहरूको क्युआर कोड स्क्यान गरी तुरुन्तै र सुरक्षित रूपमा भुक्तानी गर्न सक्छन्, जसले गर्दा नगद बोक्नुपर्ने वा मुद्रा साट्नुपर्ने झन्झट हटेको छ ।
यस प्रणालीले नेपाली व्यवसायीहरूका लागि समेत नयाँ अवसर सिर्जना गरेको छ । डिजिटल भुक्तानीमा अभ्यस्त ठूलो भारतीय ग्राहक समूहसम्म पहुँच पुग्नुका साथै व्यवसायमा द्रुत भुक्तानी, नगद प्रवाह व्यवस्थापनमा सुधार र भौतिक मुद्रामाथिको निर्भरता घट्दा व्यवसाय सञ्चालन थप सहज र प्रभावकारी बनेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)सँगको युपीआई–एनपिआई साझेदारीले सीमापार रेमिट्यान्सलाई थप सरल बनाएको छ । यस अन्तर्गत भारतीय तथा नेपाली प्रयोगकर्ताले रिसिभरको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) को प्रयोग गरी नेपालमा रकम पठाउन सक्छन् । त्यसैगरी, नेपालमा रहेका भारतीय प्रयोगकर्ताले आफ्नो युपिआई आइडीमार्फत भारतमा सहजै रकम पठाउन सक्ने सुविधा छ । यस प्रक्रियामा संवेदनशील बैंक खाता विवरणहरू आदानप्रदान गर्नु नपर्ने भएकाले यो प्रणाली अत्यन्त सुरक्षित र समयमै रेमिट्यान्स पठाउनु पर्ने लाखौँ परिवारका लागि किफायती माध्यम बनेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले समेत भारतको युपिआईलाई विश्वकै सबैभन्दा ठुलो भुक्तानी प्रणालीको रूपमा मान्यता दिएको छ, जसले विश्वभर हुने रियल-टाइम भुक्तानीको करिब ५० प्रतिशत हिस्सा ओगटेको छ र यसमा मासिक २३ अर्बभन्दा बढी वित्तीय कारोबार हुने गर्छ । यसको लचिलो र खुला संरचनाले नेपालको भुक्तानी पूर्वाधारसँग सहज रूपमा आबद्ध हुन सम्भव बनाएको हो ।
एनपिसिआई इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाका अनुसार उपभोक्ता र व्यवसायीहरूका लागि निर्वाध सीमापार भुक्तानी सुनिश्चित गर्न फोनपे र एनसिएचएलसँग मिलेर सुरक्षित र रियल-टाइम भुक्तानी सेवा विस्तार भइरहेको छ, जसले जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ ।
आगामी दिनमा युपिआई भुक्तानी सोलुसनको स्वीकार्यता बढाउन, सीमापार अनुभवलाई थप सहज बनाउन र पिटुपी रेमिट्यान्स प्रणालीलाई थप बैंकहरूमा विस्तार गर्न नेपालका नियामक निकाय र साझेदारहरूसँग निरन्तर सहकार्य गरिने एनआइपिएलले जनाएको छ ।