
काठमाडौं : एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ । यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बिवाइडीका प्रत्येक सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आइओटी) सिम जडित हुनेछन् जसबाट ग्राहकलाई अझ सहज र डिजिटल्ली कनेक्टेड ड्राइभिङ अनुभव प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यले नेपालमा आइओटी नवप्रवर्तनको क्षेत्रमा एनसेलको अग्रणी स्थानलाई थप सुदृढ बनाएको छ । यसलाई अवलम्बन गर्दै, एनसेलले विभिन्न क्षेत्रमा कनेक्टेड प्रविधिको प्रयोगलाई थप प्रवर्धन गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
आइओटी सिम जडित भएपछि गाडीमा अन्य कुनै उपकरणको प्रयोगबिनै इन–भेइकल इन्टरनेट कनेक्टिभिटीको सेवा उपलब्ध हुन्छ, जसले बिवाइडी एप इकोसिस्टम र कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्छ ।
प्रयोगकर्ताले फोन कनेक्ट नगरी वा वाई–फाई हटस्पटमा निर्भर नभई सवारीसाधनको सिस्टमबाटै युट्युब, स्पोटिफाई, काराओकेलगायत अनलाइन सेवा र डिजिटल मनोरञ्जन लिन सक्नेछन् ।
एनसेलसँगको साझेदारीप्रति साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘बिवाइडी सधैं प्राविधिक नवप्रवर्तनको अग्रपंक्तिमा रहेको छ । एनसेलसँग सहकार्य गरेर हामी हाम्रा ग्राहकको अनुभवलाई अझ उन्नत बनाउने अर्को महत्त्वपूर्ण कदम चालिरहेका छौं । भरपर्दो इन–भेइकल कनेक्टिभिटीले हाम्रा प्रयोगकर्तालाई बिवाइडी सवारीसाधनका इन्टेलिजेन्ट सुविधा पूर्ण रूपमा अनुभव गर्न सहजीकरण गर्दछ ।’