२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

नेपाली मूलका आर्यब अस्ट्रेलियन फुटबलमा स्थान बनाउन सफल

Nada
२०८३ भदौ ३ गते १२:०५
Shares
नेपाली मूलका आर्यब अस्ट्रेलियन फुटबलमा स्थान बनाउन सफल

काठमाडौं : अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मूलका १४ वर्षीय आर्यब गौतमले अष्ट्रेलियन फुटबलमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । क्षेत्रीय छनोट प्रक्रिया पार गर्दै उनले न्यु साउथ वेल्स राज्यको प्रतिष्ठित संस्था 'फुटबल एनएसडब्लु' अन्तर्गत १४ वर्षमुनि समूहमा स्थान बनाउन सफल भएका हुन् ।

ncell

आर्यबको यो सफलता केवल उनको परिवारका लागि मात्र नभई अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि पनि गर्वको विषय बनेको छ । हाल उनी 'फुटबल एनएसडब्लु'को ट्यालेन्ट सपोर्ट प्रोग्राम अन्तर्गत रिजनल फुटबल डेभलपमेन्ट पाथवेमा सहभागी भइरहेका छन् । उक्त कार्यक्रमले प्रतिभावान युवा खेलाडीहरूको पहिचान गरी उनीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्दै उच्चस्तरीय प्रतिस्पर्धाका लागि तयार पार्ने लक्ष्य राखेको छ ।

गौतम हाल फुटबल एनएसडब्लु टिमको १४ वर्षमुनिको अन्तिम खेलाडी सूचीमा छनोट भइसकेका छन् । उनले आगामी दिनमा मेलबर्नमा आयोजना हुने 'फुटबल भिक्टोरिया इन्भिटेसनल आइडी कप/स्टेट अफ ओरिजिन टुर्नामेन्ट'मा एनएसडब्लुका तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिता भिक्टोरियाको बन्डुरास्थित 'द होम अफ द माटिल्डाज'मा आयोजना हुँदैछ, जुन अस्ट्रेलियाको महिला राष्ट्रिय टोली ‘माटिल्डाज’ को प्रमुख प्रशिक्षण केन्द्रसमेत हो ।

सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म सञ्चालन हुने यस प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न संघ तथा क्षेत्रका उत्कृष्ट युवा खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगिताले आर्यबलाई भविष्यमा व्यावसायिक फुटबलतर्फ अघि बढ्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ । साथै, यसमार्फत खेलाडीहरूले 'फुटबल अस्ट्रेलिया इमर्जिङ सकरुस च्याम्पियनसिप' जस्ता उच्चस्तरीय प्रतियोगितामा पुग्ने बाटो खुल्ने अपेक्षा गरिएको छ ।

न्यु साउथ वेल्समा बसोबास गर्दै आएका आर्यबले ओरन्ज, बाथर्स्ट र सिड्नी लगायतका स्थानमा नियमित तालिम तथा खेलहरूमा सहभागिता जनाउँदै आएका छन् । उनका पिता विकास गौतमका अनुसार कतिपय अवस्थामा एउटा तालिम वा खेलका लागि पनि परिवारले घण्टौं लामो यात्रा गर्नुपरेको छ । परिवारको निरन्तर सहयोग र आर्यबको मेहनतका कारण उनी आज यो उपलब्धिसम्म आइपुगेका हुन् ।

परिवारका अनुसार आर्यबले अध्ययनसँगै तालिम, खेल र प्रशिक्षणलाई सन्तुलित रूपमा अघि बढाइरहेका छन् । उनको यस सफलताले अस्ट्रेलियामा हुर्किरहेका नेपाली मूलका अन्य युवा खेलाडीहरूलाई पनि आफ्नो सपना पछ्याउन, निरन्तर मेहनत गर्न र अवसरको खोजी गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर