२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

इरानद्वारा ट्रम्पको आर्थिक नीतिको आलोचना

Nada
२०८३ भदौ ४ गते १५:३२
Shares
इरानद्वारा ट्रम्पको आर्थिक नीतिको आलोचना

काठमाडौँ : इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गरेको विषयलाई असफल नीतिको निरन्तरता भन्दै आलोचना गरेका छन् । उनले अमेरिकी दबाबले इरानलाई झुकाउन नसक्ने र यसबाट वासिङ्टनले थप पराजय भोग्ने दाबी गरेका छन् ।

ncell

अराघचीले सामाजिक सञ्जाल एक्समा अमेरिकी कदमलाई अभूतपूर्व ऋण र बढ्दो ब्याज लागतको सामना गरिरहेको अमेरिकाको आफ्नै आर्थिक संकटबाट ध्यान मोड्ने प्रयासका रूपमा व्याख्या गरे । उनले अमेरिकी आर्थिक प्रतिबन्धले विश्व अर्थतन्त्र र राष्ट्रहरूको सार्वभौमसत्तासमेत जोखिममा पार्ने बताए ।

यसअघि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाही घोषणा गर्न लागेको बताएका थिए । उनले इरानलाई आर्थिक वा अन्य कुनै प्रकारको सहयोग उपलब्ध गराउने वित्तीय संस्था, व्यवसाय, विमानस्थल तथा सरकारी निकायले समेत गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि इरान र अमेरिकाबीच युद्ध सुरु भएको थियो । अप्रिल ८ को युद्ध विरामपछि व्यापक बमबारी रोकिए पनि महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलघाँटी आसपास तनाव जारी रहेको जनाइएको छ । इरानले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुका साथै तेल प्रतिबन्ध फुकुवा र विदेशमा रोक्का गरिएका सम्पत्ति खुला नगरेसम्म जलमार्ग बन्द राख्ने अडान लिँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि इरानमाथि ‘अधिकतम दबाब’ को आर्थिक प्रतिबन्ध नीति अपनाउँदै आएका छन् । उनले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेपछि उक्त नीति पुनः लागू गरेका थिए । इरानले भने प्रतिबन्ध र धम्कीबाट आफ्नो नीति परिवर्तन नहुने बताउँदै अमेरिकी दबाब अभियानलाई असफल नीति भन्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर