
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता कमल थापाले बागमती प्रदेशसभाका संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति औपचारिक असहमति जनाएका छन् ।
पार्टीले पर्याप्त छलफल नगरी निर्णय गरेको दाबी गर्दै कमल थापाले उक्त निर्णयमा नोट अफ डिसेन्ट दर्ता गराएका हुन् । उनका अनुसार आफू मात्र नभई पार्टीका केही अन्य नेताहरूले समेत कारबाहीको निर्णयप्रति असहमति राखेका छन् ।
थापाले पार्टीको विधानअनुसार आवश्यक प्रक्रिया पूरा नगरी संसदीय दलका नेतालाई कारबाही गरिएको आरोप लगाए । निर्णय प्रक्रियामा संस्थागत छलफल र विधिसम्मत अभ्यासलाई बेवास्ता गरिएको उनको भनाइ छ ।
पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीभित्र निर्णय गर्दा विधान र स्थापित प्रक्रियाको पालना हुनुपर्ने बताए । उद्धव थापामाथिको कारबाहीलाई उनले निरंकुश शैलीमा गरिएको निर्णयका रूपमा व्याख्या गर्दै आफूहरू त्यसलाई स्वीकार गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
यसअघि राप्रपाले पार्टीको निर्देशन विपरीत बागमती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै उद्धव थापामाथि कारबाही गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति पार्टीभित्रै असहमति देखिएपछि राप्रपाको आन्तरिक विवादसमेत सार्वजनिक भएको छ ।