२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

साउदीमा नेपाली श्रमिकले उचित पारिश्रमिक नपाएकोमा परराष्ट्रमन्त्री खनालको चासो

Nada
२०८३ भदौ ५ गते ०७:३४
Shares
साउदीमा नेपाली श्रमिकले उचित पारिश्रमिक नपाएकोमा परराष्ट्रमन्त्री खनालको चासो

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरसँग द्विपक्षीय सम्बन्धका साथै साउदी अरबमा कार्यरत नेपाली श्रमिकका समस्याबारे छलफल गरेका छन् ।

ncell

मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल–साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामको उचित पारिश्रमिक प्राप्त नगरेको भन्ने ‘रिपोर्ट’प्रति मन्त्री खनालले चासो व्यक्त गर्दै त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरेका छन् । त्यस्तै, उनले साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ता ल्याउने कार्यमा साउदी अधिकारीहरूले पु¥याउँदै आएको सहयोगको भने प्रशंसा गरेका छन् । 

साउदी अरेबियामा सप्लाई कम्पनीमा कार्यरत नेपाली कामदारले समयमा तलब नपाउने, परिचयपत्र (अकामा) नबन्ने, अत्यधिक गर्मीमा खुला ठाउँमा काम गर्नुपर्ने, रोजगारदाताले स्वदेश फर्कन नदिने तथा कागजात नदिने, कतिपयले चोरीको आरोपमा फसाउने समस्या झेल्दै आएको गुनासो छ । 

नेपालमा साउदी सीप प्रमाणीकरणको विषयमा वैदेशिक रोजगार व्यवसायीमा असन्तुष्टि रहेकोे छ । त्यस विषयमा छलफल भए÷नभएको भने परराष्ट्र मन्त्रालयले बताएको छैन । परराष्ट्रमन्त्री खनालले दुई देशबाट हुने उच्चस्तरीय भ्रमणले सम्बन्धलाई थप गति दिनुका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पु¥याउने बताएका छन्  । 

भेटमा मन्त्री खनालले हालै क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षा तथा सुरक्षात्मक उपायप्रति धन्यवाद व्यक्त गरेको मन्त्रालयले बताएको छ ।

नेपाल र साउदी अरबबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । यसै वर्ष नेपाल र साउदी अरबबीचको कूटनीतिक सम्बन्धको ५०औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रम गरिने बताइएको छ । 

भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको महत्वलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदान–प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालय जनाएको  छ ।     

त्यसैगरी भेटमा दुवै पक्षले नेपाल–साउदी अरबबीच विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । राजनीतिक परामर्श, लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम गतिशीलता तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको कल्याणलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो । 

नेपालले साउदी अरबसँग राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम र अन्य आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको बताएको छ । दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अब थप परिणाममुखी साझेदारीमा रूपान्तरण गर्न आवश्यक रहेको भन्दै मन्त्री खनालले आगामी दिनमा दुवै देशबीच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिँदै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्ने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर