
काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र पार्टी प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनयन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले विभिन्न विभागका प्रमुखसमेत टुंगो लगाएको हो ।
बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की र पूर्वाधार विभागमा निशा डाँगीलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारी मनोनयन भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
बैठकले सचिवालय विस्तार गरेको छ । सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् ।
केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन् ।
केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई छन् ।
एक उपसभापति, एक महामन्त्री ,एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी छ ।