२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मन्त्रालय मातहतका निर्माणाधीन कामहरू समयमै सम्पन्न गर्न मन्त्री भण्डारीको निर्देशन

ADV
कुलेन्द्र शाही
२०८१ साउन ३० गते १५:२९
मन्त्रालय मातहतका निर्माणाधीन कामहरू समयमै सम्पन्न गर्न मन्त्री भण्डारीको निर्देशन

सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहतमा रहेका निर्माणाधीन संरचनाको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । निर्माण व्यवसायीसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । यसका लागि अबका दिनमा कुनैपनि बाहना बनाउन नमिल्ने उनले बताए । 

अहिले मन्त्रालयअन्तर्गत विभिन्न जिल्लाका १४ वटा योजना सञ्चालनमा छन् । तीमध्ये पाँच वटा योजनाको म्याद सकिएका छन् । उनीहरूका लागि मन्त्रालयले अन्तिम पटक म्याद थप गर्न समन्वय गरिदिने, तर त्यसभित्र काम सम्पन्न गरिनुपर्ने निर्देशन गरिएको छ । 

उनले प्रदेशभित्रको मात्र नभइ अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी हुनेगरी काम गर्न निर्माण व्यवसायीहरुलाई सुझाव दिए । त्यसका लागि निर्माण कम्पनीहरुले बलियो तरिकाले कार्यसम्पादन गर्नुपर्ने उनले बताए । मन्त्री भण्डारीले सरकारका तर्फबाट हुने कुनैपनि काममा ढिलाइ हुन नदिने प्रतिबद्धता जनाए । तर निर्माण व्यवसायीले आफ्नो कारणले काममा ढिलाइ हुँदा सरकारलाई दोष दिन नहुने उनको भनाइ थियो ।

निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव वमले विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योगदान भरपूर रहेको बताए । उनले कार्यालयको कमजोरीले पनि समयमा काम सम्पन्न नभएको बताए । उनले केही पक्ष भने निर्माण व्यवसायीको पनि कमजोरी रहेको बताए । 

राज्यका निकाय जस्तै निर्माण व्यवसायीलाई पनि त्यस अनुरूपको व्यवहार गरिनुपर्ने भन्दै उनले विभिन्न तालिम लिने व्यवस्था गर्नुपर्ने माग राखे । उनले आईई/ईआईएलगायतका कारणले भएका ढिलाइले निर्माण कार्यमा प्रभाव परेको दृष्टान्त राखे । कन्स्ट्रक्सन म्यानेजमेन्ट टिम बनाउन पनि उनले सुझाव दिए । 

गौरा श्याम सुन्दर जेभीले प्रदेश अस्पतालको काम गरिरहेको छ । यस अवधिमा करिब ५० प्रतिशत काम सम्पन्न भएको कम्पनीका आधिकारिक प्रतिनिधिले जानकारी गराए । उनले लक्ष्यअनुसार समयमै काम समापन हुने अपेक्षा गरे। सम्झौताअनुसार आगामी २०८२ मंसिर २९ गतेभित्र काम सम्पन्न गर्नुपर्ने छ । 

दैलेख अस्पताल निर्माणको जिम्मा पाएको स्टार कन्स्ट्रक्सनले समयमा काम गर्न नसकिएको जनाएको छ । कोभिड र निर्माणाधीन क्षेत्रमा रुख कटान गर्नुपर्ने कारणले समयमा काम हुन ढिलाइ भएको सञ्चालक तारा शाहीले जानकारी दिइन् । कार्यालयले समयमा भुक्तानी नदिँदा समस्या भएको उनले बताइन् । सञ्चालक शाहीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने मन्त्रीसमक्ष प्रतिबद्धता जनाइन् ।

सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोव्य सुवेदी जेभीले ६५ प्रतिशत काम सकिएको जनाएको छ । भुक्तानी समयमा नपाएका कारण काम सम्पन्न गर्न ढिलाइ भएको कम्पनीका प्रतिनिधि जितेन्द्र महतोले बताए । यदि समयमा भुक्तानी पाए ३–४ महिनामै बाँकी काम सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए । 

रुकुम प्रदेश अस्पतालको काम अबको ४–५ महिनामा सम्पन्न गरिने कम्पनीका प्रतिनिधिले बताए । कम्पनीले गत असार मसान्तमा कार्य सम्पन्न गर्नुपर्ने थियो । उनले पानीको अभावका कारण समयमा काम गर्न ढिलाइ भएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise