
काठमाडौं : यस वर्षको तिजलाई लक्षित गर्दै नेपाली महिलाका दैनिक जीवन, पारिवारिक सम्बन्ध, महँगी, दाम्पत्य गुनासो तथा देशमा बढ्दो बेरोजगारीलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको नयाँ तिज गीत सार्वजनिक भएको छ ।
गायक सुरेश शाही र नवोदित गायिका विनूशा राईको स्वर रहेको 'आँशु बरर' बोलको गीत सार्वजनिक भएको हो । गीत गायक शाहीको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो । गीतको रचना व्यवसायी सुमित्रा खड्काले गरेकी हुन् ।
गीतको म्युजिक भिडियोमा सुरेश शाही, सुमित्रा खड्का, सुदिपा पाठक र विक्की विश्वकर्माले अभिनय गरेका छन् । भिडियोको निर्देशन शेर शाहीले गरेका हुन् ।
परम्परागत तिज गीतको शैलीमा महिलाका भावनालाई प्रस्तुत गरिए पनि गीतले समसामयिक सामाजिक तथा आर्थिक विषयलाई समेत व्यंग्यात्मक र हास्यरसपूर्ण ढंगले समेटेको छ।
गीतको सुरुवातमै बढ्दो सुनको मूल्यले तिजमा गरगहना लगाउने महिलाको चाहनामा पारेको असरलाई प्रस्तुत गरिएको छ । महिलाले ‘सुनको भाउ बढेर छोइसक्नु भएन’ भन्दै श्रीमान्सँग गुनासो गर्छिन् । तिजमा गरगहना लगाउने आफ्नो इच्छा पूरा गर्न नसकेको उनको गुनासोपछि श्रीमान्ले पनि घरको आर्थिक अवस्थाका कारण आफूले चाहेर पनि पूरा गर्न नसकेको बाध्यता सुनाउँछन् ।
त्यसपछि गीत सासू–बुहारी सम्बन्धतर्फ मोडिन्छ । सासूले दूध नदिएकोदेखि बुहारीले घाँस नकाटेकोसम्मका घरायसी प्रसंगलाई हास्यरसमा प्रस्तुत गरिएको छ । सामान्य भनाभन र एकअर्काप्रतिको गुनासोलाई रमाइलो संवादका रूपमा समेट्दै अन्ततः सासू–बुहारीबीचको सम्बन्धमा समझदारी आवश्यक रहेको सन्देश दिन खोजिएको छ ।
गीतमा नन्द, सासू तथा श्रीमान्–श्रीमतीबीचका सामान्य पारिवारिक गुनासालाई पनि समेटिएको छ । श्रीमान्ले एउटै कुरा पटक–पटक दोहोर्याउने र श्रीमतीले आफूले भनेका कुरा नसुन्ने जस्ता दाम्पत्य जीवनका सामान्य प्रसंगलाई गीतले मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ ।
गीतको अन्तिम भाग भने वैदेशिक रोजगारी र स्वदेशी बेरोजगारीको विषयमा केन्द्रित छ । जेठाजु युरोप र देवर अमेरिका पुगेको तर आफ्नै श्रीमान् भने नेपालमै बेरोजगार रहेको महिलाको गुनासो गीतमा सुनिन्छ । विदेशमा रहेका आफन्तले सम्मान पाउने तर स्वदेशमै रहेका आफूले परिवारभित्रै उपेक्षा भोग्नुपर्ने पुरुष पात्रको पीडालाई समेत गीतले समेटेको छ ।
यसरी तिजको रमझम र नाचगानसँगै महँगी, सुनको बढ्दो मूल्य, सासू–बुहारी सम्बन्ध, दाम्पत्य जीवनका गुनासा, वैदेशिक रोजगारी र स्वदेशी बेरोजगारीजस्ता विषयलाई एउटै कथामा जोडिएको छ । मनोरञ्जनका माध्यमबाट नेपाली समाजमा देखिएका दैनिक जीवनका यथार्थलाई प्रस्तुत गरिएकाले गीतले तिजको सांगीतिक माहोलमा छुट्टै स्वाद दिने अपेक्षा गरिएको छ ।
गीतकी रचनाकार सुमित्रा खड्काले यस वर्षको तिजमा महिलाहरूले गीतमा नाचेर, गाएर भरपूर मनोरञ्जन लिने विश्वास व्यक्त गरेकी छन् । उनका अनुसार तिजको मौलिक रमाइलोलाई कायम राख्दै समाजमा देखिएका समसामयिक विषयलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको हो ।