
काठमाडौं : ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा समीक्षा शर्मा ‘मिस ब्युटिफुल नेपाल’ र रिता तामाङ ‘मिसेस ब्युटिफुल नेपाल’ घोषित भएका छन् । दक्ष इन्टरनेसनल प्रा.लि.को आयोजनामा शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ११औं संस्करणको प्रतियोगिता भव्य समारोहबीच सम्पन्न भएको हो ।
पेसाले सौन्दर्यकर्मी रहेकी रिता तामाङले ‘मिसेस ब्युटिफुल नेपाल’को मुख्य उपाधिसहित ‘बेस्ट वाक’, ‘मस्ट फोटोजेनिक’ र ‘मस्ट ट्यालेन्टेड’ गरी चारवटा उपाधि हात पारिन् । उपाधि जितेपछि तामाङले यो सफलताले आफूलाई थप जिम्मेवार बनाएको र नयाँ उत्साह प्रदान गरेको बताइन् ।
‘मिसेस ब्युटिफुल नेपाल’तर्फ मन्दिरा आचार्य फर्स्ट रनर–अप, गीता बुढाथोकी सेकेन्ड रनर–अप, सृजना घिमिरे थर्ड रनर–अप र रिता कटुवाल फोर्थ रनर–अप घोषित भए । सृजना घिमिरेले ‘भ्युअर्स च्वाइस’ तथा रेखा श्रेष्ठले ‘अर्गनाइजर च्वाइस’को उपाधि हात पार्दा सुनिता श्रेष्ठ आचार्य ‘मस्ट पपुलर’ घोषित भइन् ।
त्यसैगरी ‘मिसेस ब्युटिफुल नेपाल’तर्फ रिता तामाङले ‘बेस्ट वाक’, ‘मस्ट फोटोजेनिक’ र ‘मस्ट ट्यालेन्टेड’ उपाधि जितिन् । मन्दिरा आचार्यले ‘मस्ट डिसिप्लिन्ड’, सुनिता श्रेष्ठ आचार्यले ‘बेस्ट स्माइल’ तथा ‘सोसियल वेलफेयर एम्बासडर’, रेखा श्रेष्ठले ‘मस्ट पंक्चुअल’, गीता बुढाथोकीले ‘मस्ट एक्टिभ’, सृजना घिमिरेले ‘बेस्ट स्किन’ तथा रिता कटुवालले ‘बेस्ट स्पिच’ र ‘मस्ट क्रिएटिभ’ उपाधि प्राप्त गरे ।
‘मिस ब्युटिफुल नेपाल’तर्फ समीक्षा शर्मा विजेता बन्दा तारा कुमारी दुलाल फर्स्ट रनर–अप, निशा राजवाहक सेकेन्ड रनर–अप र संजिना चौधरी थर्ड रनर–अप घोषित भए । समीक्षा शर्मा नै ‘मस्ट पपुलर’ तथा संजिना चौधरी ‘भ्युअर्स च्वाइस’ घोषित भइन् ।
यस विधातर्फ ‘बेस्ट वाक’, ‘मस्ट फोटोजेनिक’ र ‘मस्ट पंक्चुअल’ उपाधि पनि समीक्षा शर्माले हात पारिन् । तारा कुमारी दुलालले ‘मिस फिटनेस’, संजिना चौधरीले ‘बेस्ट स्माइल’ र ‘मस्ट ट्यालेन्ट’ तथा निशा राजवाहकले ‘बेस्ट स्किन’ उपाधि प्राप्त गरे ।
प्रतियोगितामा राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । वरिष्ठ अभिनेता शिव श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए । पूर्वएआईजी तथा गीतकार टेक तामाङ, वरिष्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्य, इभेन्ट डाइरेक्टर निशुकान्त झा र डिजे युवा विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेत्री तृप्ति नाडकर मुख्य निर्णायकका रूपमा रहेकी थिइन् । वरिष्ठ गायक आनन्द कार्की, पत्रकार सन्दीप पौडेल, ‘मिसेस ब्युटिफुल नेपाल २०२४’ विजेता बिजया अधिकारी, डा. सूचना मराहट्टा, फेसन विज्ञ दिना गुरुङ र ‘मिसेस गुरुङ २०२२’ विजेता नीलम गुरुङ निर्णायकका रूपमा रहेका थिए ।
समारोहमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा ज्योतिषविद्, कुशल व्यवसायी तथा युवा सामाजिक अभियन्ता अर्जुन न्यौपाने, ‘द रिमर ओभरसिज प्रालि’का महाप्रबन्धक नगेन्द्र न्यौपाने, युवा व्यवसायी सुनील अर्याल, गायक तथा कार्यक्रम सञ्चालक राजेश बर्देवा, चर्चित नायक तथा वरिष्ठ अभिनेता धिरेन शाक्य, सौन्दर्यकर्मी तथा मेकअप प्रशिक्षक मञ्जिला सुवेदी, मिराकल इन्टरनेसनल मोडल एकेडेमीकी प्रधानाचार्य मनकुमारी पोखरेल, वरिष्ठ सौन्दर्यविद् अमृता ढेके, महिला उद्यमी तथा सामाजिक अभियन्ता सपना शर्मा, वरिष्ठ ब्युटी एक्सपर्ट राधा शर्मा, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे, दिपा कटलवाल, धार्मिक अभियन्ता श्याम बहादुर महत ‘हारती माता’, गजलकार कृष्ण कुमारी महत, मेकअप आर्टिस्ट माया लामा, वरिष्ठ सौन्दर्यविद् ललिता जोशी श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् रोशना राजथली, वरिष्ठ पत्रकार एवं सञ्चारकर्मी गीता अधिकारी तथा महाकाव्यकार खेमनाथ दाहाल रहेका थिए ।
कार्यक्रम दक्ष इन्टरनेसनलका अध्यक्ष टेकराज पाण्डेको आयोजनामा, गीता उप्रेतीको व्यवस्थापन तथा राहुल बन्जाडेको निर्देशनमा सम्पन्न भएको हो । प्रतियोगिताको कोरियोग्राफी आश्विनी कान्त झाले गरेका थिए । कार्यक्रम मेगा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
आयोजक दक्ष इन्टरनेसनलका अनुसार महिलाहरूको आत्मविश्वास, कला, प्रतिभा र सौन्दर्यको प्रवर्द्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो । प्रतियोगिताले सौन्दर्यसँगै प्रतिभा, व्यक्तित्व, सामाजिक उत्तरदायित्व र आत्मविश्वासलाई समेत प्राथमिकता दिएको आयोजकले जनाएको छ ।