काठमाडौं : मलेसियाकै ठूलो मध्येको प्लानटेशन कम्पनी सिम डार्बी प्लान्टेशन बीएचडी (एसडीपी)ले विदेशी कामदार भर्ना वापतको ८२ मिलियन रिंगेट करिब साढे २ अर्ब रूपैयाँ फिर्ता गरेको छ । उक्त रकम कामदार भर्नामा सम्लग्न विदेशी एजेन्ट, अन्य तेस्रो पक्ष र कामदारले पाएका छन् ।
लामो समयदेखि उक्त पाम आयल (प्लान्टेशन) उद्योगका कामदारहरूको भर्ना शुल्क फिर्ताको विषय विवादको घेरामा थियो । पाम आयलको स्वतन्त्र प्रमाणीकरण मूल्यांकन टोली (आरएसपीओ)को संयुक्त बैठकपछि एसडिपी आप्रवासी कामदारको भर्ना शुल्क फिर्ता गर्न तयार भएको हो । एसडीपीले फिर्ता गरेको यो रकम आप्रवासी कामदार भर्ना वापतको मलेसियामा हालसम्मको ठूलो रकम भएको बताइएको छ ।
एसडीपीले सन् २०१८ नोभेम्बरपछि भर्ना गरेका कामदारको भर्ना शुल्क फिर्ता गर्न बाँकी रहेको थियो । कम्पनीले भर्ना शुल्क फिर्ता नगरेपछि इम्प्लोइमेन्ट पे मोडल अन्तर्गत शून्य भर्ना शुल्क नीतिको उल्लंघन भएको भन्दै कतिपय युरोपेली मुलुकले उक्त कम्पनीका उत्पादन रोक्ने तयारी गरिरहेका थिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कामदारको भर्ना शुल्क फिर्ता नगर्दा कामदार ऋणको बन्धन अन्तर्गत जबरजस्ती श्रमको वर्गमा पर्ने चेतावनीसमेत दिएको थियो । कम्पनीले क्षतिपूर्ति पाउने विदेशी कामदारहरूको संख्या खुलासा गरेको छैन । तर भर्ना शुल्क फिर्ताबाट करिब १९ हजार ५ सय कामदारहरूलाई प्रत्यक्ष लाभ पुगेको बताइएको छ ।
पछिल्ला दिनमा मलेसियाका रोजगारदातामाथि जबरजस्ती श्रम, दासत्व, मानव बेचविखन वा यौन शोषणलगायत सबै प्रकारका शोषण शून्य अवस्थामा हुनुपर्ने दबाब परेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies