
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भूमिकामा रहेकाले संसद्मा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’मा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुनका लागि यस्ता छलफलहरू महत्वपूर्ण हुने उल्लेख गरे ।
उनले पार्टीका नेताहरू यस्ता बौद्धिक र समसामयिक विषयमा शिक्षित हुनुपर्ने र नयाँ विषयवस्तुबारे जानकारी राख्नुपर्नेमा जोड दिए । यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउने उनको विश्वास छ ।
उनले कार्यक्रममा उठाइएका विषय र प्राप्त सुझावहरूलाई संसद्मा पुर्याइने बताए ।