–विष्णु पन्त
पुराना संसदवादीप्रति वितृष्णा
संसदीय राजनीतिले एउटा अनौठौ परिणाम दिएको छ । राजनीतिमा विचार होइन सत्ता वा सरकार प्रधान बनेको छ । दलहरु सत्ता र शक्तिका निम्ति जे–जस्तो गठबन्धन गर्न पनि तयार हुने प्रवृत्तिले राजनीतिलाई नै अनौठो खाडलमा पुर्याएको छ । आज चुनाव र सरकार प्रधान बन्ने तर, पार्टी र दृष्टिकोण सहायक बन्ने अवस्था निर्माण भएको छ । जसको परिणाम पुराना संसदवादी पार्टीहरुको पहिचान एउटै बन्यो । नाम फरक तर, काम एउटै भयो । माओवादी केन्द्रको सबैभन्दा भरपर्दो शक्ति वा मित्र शक्ति नेपाली कांग्रेस बन्यो । जनताको चाहना हो : माओवादी माओवादी जस्तै, नेपाली कांग्रेस कांग्रेस जस्तै र एमाले एमाले जस्तै बनोस् । वैचारिक दृष्टिकोणअनुसारको पार्टी बनुन् भन्ने जनताको चाहना हो । तर, नाममा फरक भएपनि व्यवहारमा दलहरु एउटै बने । आज संसदवादी शक्तिहरुको एउटै साझा नारा बनेको छ : व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं । जनताको प्रश्न छ : व्यवस्था कहाँ बदलियो ? २०६२/०६३ भन्दा अगाडिको व्यवस्था थियो : संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्था । जनताको आरोप छ, संसदीय व्यवस्थाको ठाउँमा संसदीय व्यवस्था नै र एउटा राजाको ठाउँमा तीन वटा मुख्य राजा र सयौं सहायक राजाहरु बनेका छन् । राजनीतिक अभ्यासका दृष्टिकोणले हामी झनै पछाडि गयौं । यदि अहिलेकै राजनीतिक अभ्यासको निरन्तरता कायम रहेमा एमाले, नेका र माकेभन्दा राप्रपा अग्रगामी शक्तिको रूपमा स्थापित हुनेछ ।
संसदीय पुराना दलहरुको तुलनामा रवी लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टी पो नयाँ र परिवर्तनकारी शक्तिको रूपमा देखियो । आज पुराना दलहरु सत्ताको लुछाचुँडीमा पतन भएर दुर्गन्धीत बन्दा लामिछानेको पार्टी नयाँ ढंगबाट उदाउने अवस्था बन्यो । आज पुराना संसदीय दलहरुको विकल्प रवी लामिछानेको पार्टी बनेको छ । जुन चुनावी सुरुवाती नतिजाले पनि देखाएको छ । धेरै ठाउँमा माओवादी शिला खोज्नुपर्ने अवस्थामा परिणत भएको छ, यसको कारण फरकपन नहुनु पनि हो ।
प्रचण्डले चुनाव जित्नका लागि चितवनबाट गोरखा जानु प¥यो । युवाहरु चाहन्छन् केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई चुनाव हराउनु पर्छ । तर, यस पटकको चुनाव पनि उनीहरु जसरी पनि जित्ने सम्भावना छ । तर, निकट भविष्यमा उनीहरुको पतन निश्चित छ । हुन पनि अति नै भयो : दुई तिहाई बहुमत दिँदा पनि केही गर्न नसक्ने, उल्टो आपसमा लडेर पार्टी नै फुटाउने अनि जनताबाट पराजित नेपाली कांग्रेसलाई सत्ताको बागडोर सुम्पने । वैचारिक हिसाबले टाटपल्टाई र पतनको योभन्दा पराकाष्ठा के हुन सक्छ ? अब त चुनावी गठबन्धन सत्ताको गठबन्धन अनि दीर्घकालिन गठबन्धन : दलहरुबीचको प्रतिस्पर्धा नै समाप्त भयो । चुनाव त प्रतिशोध र बदलाको साधन बनाइयो ।
देश र जनताका लागि सोंच्ने हो भने राष्ट्रिय एकता आजको प्रमुख आवश्यकता हो । राष्ट्रिय एकताका लागि गोलबन्ध गर्ने शक्ति हामीलाई चाहिएको छ । बृहत राष्ट्रिय एकताको माध्यमद्धारा मात्र हामी हाम्रो अस्तित्वलाई जोगाउन सक्छौं । विभाजन, प्रतिशोध र बदलाको राजनीति गृहयुद्धभन्दा पनि खतरनाक हुन्छ । त्यसकारण यो राजनीतिक र वैचारिक वितृष्णाको अवस्था हो । संसदीय पार्टी र नेतृत्व यतिविघ्न बदनामित र अलोकप्रीय बन्नुको मुख्य कारण हो : संसदीय व्यवस्था वा संसदीय अंकगणित संसदलाई सरकार बनाउने वा ढाल्ने अधिकार दिनु नै सबै खराबी, विकृति र अलोकप्रियताको जड हो । प्रचण्ड र देउवाबीचको अन्तरघुलनको जड संसदीय व्यवस्था र दृष्टिकोणहीन नेतृत्व हो । विचार प्रधान कि सत्ता प्रधान भन्ने बहस गरिएको भए यो अवस्था आउने थिएन । आज बजारमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति बरु आकर्षण बढ्दै छ तर, एमाले, माके र नेकाप्रति घट्दो छ । चुनावमा स्वतन्त्र उम्मेदवारहरुको आकर्षण तिव्ररूपमा बढेको छ । स्वतन्त्र उम्मेदवारहरु प्रति जनताको सम्मान र सहानुभूति बढ्दो छ । आज पुराना दल र नेतृत्वबाट जनता वाक्क दिक्क बनिसकेका छन् । यो पटकको संसदीय निर्वाचनको परिणामबाट राप्रपा, नेपाल स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको उल्लेख्य संसद प्रवेश हुनेछ । जुन चुनावको सुरुवाती परिणामले पनि देखाएको छ ।
विचारको प्रतिस्पर्धा
आजको मुख्य समस्या कार्यकर्ता नेता केन्द्रीत र नेताहरु सत्ता केन्द्रीत भए । एमसीसी, नागरिकता विधेयकमा यो प्रवृत्ति छरप्रष्टै देखियो । एक दिन अगाडि एमसीसी सम्झौताको विरोधमा ढुंगामुढा र अर्का दिन समर्थनमा खुसीयाली । आज केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई पार्टी र गणतन्त्रको नाममा जे गर्नेपनि छुट छ । हुन त हाम्रो जस्तो देशको स्थिरताको लागि दलहरु र नेताहरुलाई सुद्धढ गराउनु पर्ने बाध्यता छ । तर, नेताहरु यस्ता बने कि उनीहरुलाई निषेध नगर्दासम्म देशले मुक्ति नपाउने भयो । हाम्रो राष्ट्रिय स्वाधिनताको बाधक स्वयम् मुख्य नेताहरु प्रचण्ड, बाबुराम, शेरबहादुर देउवा र केपी ओली बने । समय र विश्व परिस्थितिको माग छ : देशलाई स्वाधिन, स्वतन्त्र र समृद्ध बनाउने तर, नेताहरुको दौड छ देश र जनतालाई कलंक बनाउने । आजको आवश्यकता छ देशलाई राजनीतिक स्थिरता दिने व्यवस्था तर, नेताहरुको जोड अस्थिरताको स्रोत संसदीय व्यवस्थाको रक्षा गर्नुमा छ ।
निश्चित नेताको स्वार्थका लागि हिजो एमाले र माकेको एकता भयो र फेरि उनीहरुकै स्वार्थका लागि एमाले र माकेको विभाजन भयो । आजको सत्ताधारी गठबन्धन त स्वार्थ र पतनको पराकाष्ठा नै बन्यो । आज हामीले गरेको कमजोरी हो : विचारबिहीन नेतृत्वको रक्षा । हामीले पथभ्रष्ट र दिशाहीन नेतृत्वको वकालत गर्यौं । हामी सर्वत्र दलाल प्रवृत्तिको शिकार बन्यौं । दलाली गरेर स्वार्थपूर्ती गर्ने चक्करमा हामी फस्यौं । बाम गठबन्धनभन्दा पनि समर्थन गर्ने अनि बाम लोकतान्त्रिक गठबन्धनभन्दा पनि समर्थन गर्ने संस्कृतिको विकास हामीले गर्यौं । भ्रष्टीकरणलाई हामीले प्रोत्साहित ग¥यौं । हुँदा हुँदा त आजका सबैभन्दा खराब पात्र त हामी माओेवादी र कम्युनिष्ट बन्यौं । यसको पूर्णंसमिक्षा र पूनर्शंष्लेषण नगरेसम्म राजनीति शुद्धिकरण हुने अवस्था छैन ।
कम्युनिष्टहरु असफल
जनताले अघिल्लो संसदीय चुनावमा परिवर्तन गर्लान् भन्ने शर्तमा वाम गठबन्धन वा नेकपा (नेकपा)लाई बहुमत दिए । यो जनमतलाई रक्षा गर्नुको सट्टा उनीहरु जनताद्धारा पराजित नेपाली कांग्रेसलाई सत्ताको बागडोर सुम्पीए । जनतामा भएको कम्युनिष्टप्रतिको विश्वास निराशा र वितृष्णाका रूपमा बदलियो । जसको कारण चुनावमा त्यसको सिधा प्रभाव देखियो । कमी वा बेसी यो चुनावमा एमाले र माके दुवैले हार्ने देखिएको छ । नेपालीलाई एउटा भनाई छ ः रिसले होइन बुद्धीले चल्नुपर्छ । रिस, डाहा, आवेग र आक्रोशमा चल्दा आफ्नै विचार आफ्नैका लागि बैरी बन्छ । नेपालमा कम्युनिष्ट र अग्रगामी जनमत र त्यसलाई आधार बनाउने कम्युनिष्ट पार्टीको अभाव छ । अवस्था यस्तो बनेको छ कि अब पनि माओवादीहरु र कम्युनिष्टहरु सच्चिएन न भने जनआक्रोश उनीहरुका विरुद्ध उर्लिन सक्छ । माओवादीहरु छानी छानी लखेटिनु पर्ने दिन नआउलान् भन्न सकिँदैन । भरतपुरको स्थानीय चुनाव हुँदै चितवनको संसदीय चुनावसम्म हेर्दा, त्यो धार प्रकट हुन्छ । समग्र कम्युनिष्टहरुको सन्दर्भमा पनि त्यो लागु हुन्छ । एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई सिध्याउने बृद्धि र चेतना हाबी भएसम्म हुने यस्तै नै हो ।
संकीर्ण र दिशाबिहीन नेतृत्वको हाबी
खासगरी माओवादी पार्टीको विभाजनपछि बनेका क्रान्तिकारी शक्तिहरु छन् जसले मालेमावादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्छन् । न त दीर्घकालिन जनयुद्ध वा सशस्त्र विद्रोहमा जान सक्ने न त यो व्यवस्थालाई मान्न सक्ने अप्ठ्यारो अवस्थामा रहेका कम्युनिष्ट पार्टीहरु पनि एक पछि अर्को संकटमा फस्दै गएका छन् । एउटै मुद्दामा पनि कार्यगत एकता गर्न नसक्ने पानी बाराबारको अवस्थामा उनीहरु गुज्रीएका छन् । संसदीय चुनावमा सबैको नारा बहिष्कार छ तर, कार्यगत एकता वा संयुक्त मोर्चा छैन । दुश्मनसँग लड्नुको सट्टा आपसमा लड्ने चेतना हाबी भएको छ । विप्लव, आहुती र ऋषि कट्टेलको धार छ त अर्को तर्फ किरण र कञ्चनको धार । एकले अर्काको रिस, डाहा गर्ने अनि खैरो खन्ने । एकले अर्कालाई साम्राज्यवादी दलाल ठान्ने । पूर्वराजासँग मिलेर पनि संसदीय व्यवस्था फाल्न सकिन्छ भन्ने किरण किन विप्लवसँग टाढा भाग्ने ? नेपालमा प्रचण्ड र बाबुरामको पतन पछि स्थापित नेतृत्वमा विप्लव र किरण नै हुन् । उनीहरु आपसमा लडेर हैन सहकार्य गरेर जानु नै बुद्धिमता हुन्छ । तिक्तता र अविश्वास छन् भने कम गर्न सकिन्छ ।
एकले अर्कालाई दुश्मनीको व्यवहार गर्ने हो भने त्यो अहंकार र पतनको बाटो हो । क्रान्तिलाई केन्द्रमा राख्ने हो भने एउटा नयाँ धुव्रीकरणको आवश्यकता पर्दछ । चुनावको प्रयोग वा बहिष्कार भन्ने विवादमै अल्झिने हो भने त्यो विनाशकारी हुन्छ । हिजो स्थानीय चुनावमा कार्यनीतिक विवाद भई विभाजन भयो तर, आज संसदीय चुनावमा कार्यनीतिक समानता हुँदा पनि सहकार्यसमेत भएन । क्रान्तिकारी शक्तिहरु बीच एकले अर्कालाई साम्राज्यवादी दलाल भन्ने हो भने मित्र को हुन्छ त ?
वैचारिक पूर्नजागरणको आवश्यकता
आजको दिनमा नेपाली कांग्रेसले विपि कोइरालाको “प्रजातान्त्रिक समाजवाद” को अभ्यास गरेर देखाइदिएको भए सायद अहिलेका कम्युनिष्ट पार्टीहरुको औचित्य नै रहने थिएन । एमालेले मदन भण्डारीकै बहुदलीय जनवाद र राष्ट्रियताको मुद्दालाई अनुशरण गर्न सकेको भए आजका माओवादी शक्तिहरुको आवश्यकता नै पर्ने थिएन । माओवादी शक्ति आफ्नो जनयुद्धको मूल्यमान्यतामा अडिग रहेको भए आज अरु पार्टीको अस्तित्व नै रहने थिएन । एमाले, नेका र माकेलाई जनताले पुराना पार्टी र नेता भन्न थाली सके । जनताले उनीहरुको विकल्प खोजी सके । वैकल्पिक शक्तिका रूपमा क्रान्तिकारी शक्तिहरु उदाउनु पर्ने अनिवार्य आवश्यकता हो । समय र परिस्थितिले उनीहरुलाई त्यो मौका प्रदान गरेको छ । यदि क्रान्तिकारी शक्तिहरुले सही दिशा ग्रहण गर्न नसके नयाँ शक्तिहरु जन्मीने र मौलाउने हुन्छन् । यो चुनावबाट निश्चित छ कि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल स्वतन्त्र पार्टी जबरजस्त उदाउँदै छन् । देशभर स्वतन्त्र उम्मेदवारहरुको लहर चलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौति दिइरहेका छन् । आजको आवश्यकता थियो कि सबै क्रान्तिकारी शक्तिहरु मिलेर यो चुनावलाई ध्वस्त पार्ने । सायद यसो हुन सकेको भए नेपालमा क्रान्तिको सम्भावना बलियो बन्दथ्यो । या त प्रयोगबाट या त बहिष्कारबाट यो व्यवस्थाको अन्त्य आजको आवश्यकता थियो ।
राजनीति देश, जनता र परिवर्तन लक्षित हुनुपर्दछ । सत्ता, भ्रष्टाचार र दलालीकरण लक्षित राजनीतिको परिणाम बदनामी मात्र हुन्छ । जनता तर्फ फर्किने राजनीति चाहिन्छ । भ्रम, षडयन्त्र र लुछाचुँडीको राजनीति कहिलेसम्म ? मुठ्ठीभर नवधनाड्य वर्गको स्वार्थका लागि दलहरु नै क्रय–विक्रयका साधन बन्न हुँदैन । आज देशमा एउटा वैचारिक पुनर्जागरणको आवश्यकता बनेको छ । विचारधारा तर्फ फर्क भन्ने आन्दोलनको आवश्यकता परेको छ । परिवर्तन, अग्रगमन र विकासको मूल सिद्धान्तलाई सधैँ आत्मसाथ गर्ने विचार अनि नेतृत्वको विकास गर्नुपर्ने अपरीहार्यता बनेको छ । तर, यदी दलहरुभित्रै वैचारिक पुनर्जागरणको अवस्था निर्माण नहुने हो भने राजनीति शुद्धिकरण हुने अवस्था हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies