२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

लोकदोहोरी क्षेत्रका स्रष्टा-कलाकार सम्मानित

Nada
२०८३ भदौ १० गते १८:१०
Shares
लोकदोहोरी क्षेत्रका स्रष्टा-कलाकार सम्मानित

काठमाडौं : नेपाली लोकदोहोरी संगीत क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘नवौं राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ राजधानीमा सम्पन्न भएको छ । 'अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन' भन्ने नारासहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।

ncell

शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न कार्यक्रममा उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षता रहेको थियो भने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा लोकदोहोरी क्षेत्रका अग्रजदेखि नव कलाकार, संगीतकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्षहरू प्रजापती पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, संगीत रोयल्टी समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ गायक खड्ग गर्बुजा, लोक स्वर सम्राट राजु परियार, समाजसेवी पृथ्वी थकाली, इन्द्रेणी कार्यक्रमका कृष्ण कंडेल तथा चर्चित गायिका निशा सुनारलगायत सहभागी थिए ।

अवार्ड कार्यक्रमको मुख्य प्रायोजक गरिमा विकास बैंक रहेको थियो भने लर्ड पार्टी प्यालेस र पृथ्वी इन्टरटेनमेन्ट सहप्रायोजकका रूपमा रहेका थिए । आयोजकका अनुसार यस कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष प्रसाद लामिछानेले कार्यक्रमले उत्कृष्ट स्रष्टा र कलाकारलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै लोकसंस्कृतिको गरिमा अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा सबैको साथ र सहयोग रहे कार्यक्रमलाई अझ परिष्कृत गर्दै नमुना अवार्डका रूपमा विकास गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा विभिन्न विधामा कलाकार तथा स्रष्टाहरूलाई सम्मान गरिएको थियो । लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ गायक प्रजापती पराजुली सम्मानित भए । त्यसैगरी अग्रज गायिका ज्ञानु राणा, पूर्व अध्यक्ष चन्द्र शर्मा, लोकप्रिय गायिका देवी घर्ती मगर, पीएन सापकोटा, कमल सरगम, अशोक गिरी, मदन परियार र घनश्याम रिजाललगायतलाई विशेष विधामा सम्मान प्रदान गरिएको थियो ।

यस वर्षको अवार्डमा दोहोरी साँझ गायनतर्फ बेलीमाया पुलामी र संगम गुरुङ उत्कृष्ट घोषित भए भने प्रतियोगितात्मक गायनतर्फ सपना रोका र निशान्त बिक उत्कृष्ट बने । लोकगीततर्फ सुरेश खत्री र लोक दोहोरीतर्फ सुदिप अधिकारी पुरस्कृत भए । त्यस्तै खेम सेञ्चुरी उत्कृष्ट गायक र शान्तारानी परियार उत्कृष्ट गायिका घोषित भए । नव प्रतिभातर्फ शान्ती श्रीष मगर र सित्तल गुरुङ सम्मानित भए ।

यसैगरी संगीत निर्माणका विभिन्न प्राविधिक विधामा मिलन विश्वकर्मा, प्रकाश खड्का, सुमन राना, खड्ग बाजुराली, कृष्ण केसी, मौसम हिमाली र जेरी भण्डारीलगायतले अवार्ड प्राप्त गरेका छन् । अभिनय तथा नृत्य विधामा बिमल अधिकारी, जुना विश्वकर्मा, विजय पुन र नारायणी खत्री सम्मानित भए ।

कार्यक्रमको सहजीकरण शिव हमाल, प्रिती आले र दिनेश क्षेत्रीले गरेका थिए भने निर्णायक मण्डलको संयोजन दुर्गा रायमाझीले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर