–सरिता अर्याल
मेरो उमेर वसन्तको फूल झैँ फक्रिइसकेको भएतापनि मनले भने बसन्त झैँ बत्तिन खोजेको थिएन । किशोरावस्थामा राम्री हुन सबैलाई मन लाग्छ क्यारे ! मलाई भने ठूला आँखामा गाजलको कोस तान्नु सिवाय अरू सिँगारका सामानले आकर्षित गर्न सकेका थिएनन् । यौवनावस्थामा पुगिसक्दा पनि मलाई विपरीत लिङ्गीप्रति कुनै आकर्षण थिएन । विदेशमा भए मेरो स्वभावले मेरा अभिभावकहरू चिन्तित भैसक्थे । डाक्टरकामा पुराइसक्थे होलान् । तर यहाँ म सिधासोझी, जोकोही केटाको मुखै नहेर्ने केटीका रूपमा चिनिएकी थिएँ ।
दिनहरू आफ्नै पारामा कटिरहेका थिए । केही वर्षदेखि यता भ्यालेन्टाइन डेको लहर वर्षेनी बढ्दै आउन थालेको थियो । मेरा सबै साथीहरू महिनादिन अगाडिदेखि आफ्ना प्रेमीसित यो पर्व कसरी मनाउने भन्ने कार्यक्रम बनाउन व्यस्त थिए । उनीहरू भ्यालेन्टाइन डेलाई कसरी प्रेमिल बनाउन सकिन्छ भनेर लागेको समय म किताबका पानाहरूमा हराउँथेँ । पढाइमा व्यस्त हुनुबाहेक मेरो काम नै थिएन । यौवनले मस्त मेरा साथीहरूका लागि भ्यालेन्टाइन एउटा सुन्दर अवसर थियो । हरिलो, भरिलो र रसिलो मौसम थियो । तर, म चाहिँ पुर्णरूपमै भन्दा पनि हुने गरि बेखबर ।
भ्यालेन्टाइन डे आउनै लागेको थियो । साथीहरू तीव्र योजनामा थिए । उनीहरूले समयको पलपल गनिरहेका थिए । उनीहरूका योजना भत्कँदै अनि बन्दै गरेको पनि थाहा थियो । जे होस्, उनीहरू सफलताको नजिक थिए । पछिल्लो हप्ता व्यस्त मात्रै होइन मस्त पनि हुन थालिसकेका थिए । मेरी अभिन्न साथी मीना र उनको प्रेमीले उनीहरूको भ्यालेन्टाइनको कार्यक्रममा मलाई पनि सरिक गराउने योजना बनाएछन् । निम्तो आयो । मीनाको निम्तोले मेरो मनमा पनि थोरै जिज्ञासा पलायो । कस्तो हुँदोरहेछ भ्यालेन्टाइन डे, आफैँले हेर्न मन लाग्यो । मनमनै निर्णय गरँे भ्यालेन्टाइन डेको कार्यक्रममा जसरी पनि जान्छु ।
मेरा साथीहरूले भ्यालेन्टाइन डेकै लागि भनेर शनिबारको रातै बिताउने गरी पिकनिकको योजना बनाएका रहेछन् । गन्तव्य चाहिँ भेँडेटार । मेरा लागि बुनिएको साथीहरूको योजनामा म अनभिज्ञ थिएँ । हाम्रो समूहमा केटाहरू पनि जाँदै छन् भन्ने कुरा मलाई लुकाइएको रहेछ । केटी साथीहरूसित मात्र पिकनिक जाने भन्दा घरबाट मलाई जान रोकतोक पनि भएन ।
हामी हिँड्दा केटीहरू मात्र बसमा चढेका थियौँ । भेँडेटार पुगेपछि मात्र केटाहरू हाम्रा अगाडि देखापरेका थिए । त्यहाँ पुगेपछि मात्र मलाई थाहा भयो मीना, अञ्जु सबै आ–आफ्ना प्रेमीसित पो भेँडेटार आएका रहेछन् । दिनभर यताउता घुम्दै बित्यो तर, सोंचे जस्तो रमाइलो भएन । दिन त्यत्तिकै बित्यो । साथीहरू सबै आ–आफ्नै जोडीसित मस्त थिए, म भने एक्लै उनीहरूको प्रेमिल कला हेरेर बसिरहेँ ।
साँझ पर्यो । बस्ने बासको खोजी गरियो । एउटा ठूलो हलमा बासको व्यवस्था भएछ । कोठामा पुगेपछि सबै स्टार बियरको बोतल र सितनसहित मस्ती लिन थाले । मैले बियर पिउन नमानेकाले कोक मगाइयो । कोकको स्वाद अलि फरक जस्तो लाग्यो । साथीहरूले उल्याउलान् कि भन्ने संकोचले केही नभनी पिएँ ।
नाचगान सुरू भयो । म पनि साथीहरूसित रमाउँदै नाच्न थालेँ । नाच्दानाच्दै केटाहरूसित मेरो शरीर टाँसिन पुग्दथ्यो । कहिल्यै केटालाई नछोएको मेरो शरीरले पहिलोपल्ट केटा साथीहरूसित लठारिँदै नाच्दा करेन्ट लागे जस्तो हुन्थ्यो । नढाँटी भन्दा मलाई एक प्रकारले आनन्द लागिरहेको थियो । कोक समाएको मेरो हातले कुन बेला बियरको बोतल समाएछ थाहै पाइन । पहिलोपल्ट नशामा लठ्ठिएर जानी नजानी धेरै रातिसम्म नाँचिरहेकी थिएँ । बिहान म उठ्दा साथीहरू सुतिरहेका थिए । कोही पनि उठेका थिएनन् । कोठा हेर्न लायक थियो । त्यो दृश्यले मुटु हल्लियो । साथीहरू सबै आ–आफ्नो प्रेमी च्यापेर निदाइरहेका थिए । त्यहाँको दृश्यमा मैले आफूलाई उभ्याउन सकिनँ र ढोका खोलेर बाहिरिएँ ।
मलाई बेलुकाको नाचगानको सम्झना भयो र बिहानको दृश्य । उफ् ! तर, मलाई कुनै कुरा पनि नराम्रो लागेन । कारण थियो पहिलोपल्ट मेरो मनले पनि प्रेमीको चाहना राख्यो । बाहिर कौसीमा घुम्दै सम्झिएँ, मेरो पनि प्रेमी भएको भए म पनि कत्ति रमाउने थिएँ होला यो दिनमा !
भ्यालेन्टाइन डे त संघारमा आइसकेको थियो । म पनि रातो गुलाफ कसैलाई दिऊँ भनेर आतुर थिएँ । तर, यत्ति छोटो समयमा कसलाई भेटाउनु र ह्याप्पी भ्यालेन्टाइन भन्नु ? यही सोचमा रूमलिँदै मनमनै मेरो भावी प्रेमीको अनुहार खोज्दै थिएँ । कोठाबाट अञ्जुले बोलाई । भित्र पस्दा सबै सामान्य भइसकेका रहेछन् । अनुहारमा एक किसिमको चमक बोकेर, सबै एक अर्कालाई हेर्दै मुसुमुसु हाँसिरहेका थिए । उनीहरूको मुस्कानले मलाई गिज्याइरहेको अनुभूति भयो । मीनाले त मुखै फोरी, “तेरो ब्वाइफ्रेन्ड भएको भए आज तँ पनि मस्ती गर्ने थिइस् नि ! फ्रेस हुने थिइस् ।”
“खोजि दे न त, एउटा ब्वाइफ्रेन्ड !” म पनि जिस्किएँ । सायद सँगै सुत्नुलाई नै उनीहरुले फ्रेस भनेका होलान् ।
मनको चाहना मुखबाट निस्कियो । मेरो कुरा सुनिसकेपछि सबै मिलेर मेरो ब्वाइफ्रेन्ड खोज्ने काम सुरू भयो । धेरै नामहरू आउँदै जादैँ गरे । केटाको टुङ्गो लागेन त । भोलिसम्म मलाई पनि एउटा प्रेमी त उब्जाउनु नै पर्ने थियो– एउटा रातो गुलाफ दिनका लागि !
तातो जुलेबी र पुरी खाएर हामी ओरालो लाग्यौँ । सबै खुसी थिए । मेरो मन भने निराश र सोचमग्न थियो । कसैको खोजीमा भौँतारिएको मन ।
घर आएँ तर, मन शान्त हुन सकेन । बिस्तारामा पल्टिएँ, दिमागमा उही रातो गुलाफ दिने केटाको खोजी जारी रह्यो । मन परेका जस्ता लाग्ने धेरै अनुहार अरूकै प्रेमी थिए । सम्झनामा आएका कुनै अनुहार मन नै परेनन् । हतार छ, अब त समय नै छैन । कहाँबाट ल्याउनु त्यो मन परेको अनुहार र मैले पनि दिन पाउँला रातो गुलाफ ! सोचिरहेँ ।
आमाले भात खान बोलाउनुभयो । म हात धुन धारामा गएकी थिएँ । हाम्रो घरमा डेरा लिएर बस्नुभएको पूर्ण काका नुहाउँदै हुनुहुँदो रहेछ । बाथरूमको व्यवस्था थिएन । आँगनको छेउमा भएको धारामा नै हामी सबै नुहाउँथ्यौँ । पूर्ण काका नुहाउँदै गरेको धेरैपल्ट देखेकी थिएँ । आज मेरो आँखाले पूर्ण काका मात्र होइन, पुरूषको शरीर पनि देख्यो । गोरो राईको पिठ्युँबाट मेरा आँखा हटेनन् । धारामुनि थापेको बाल्टिन सारेर काकाले मलाई हात धुने बाटो बनाइदिनुभयो । मनमा हावा हुण्डरी खेलाउँदै म हात धोएर भान्सातिर लागेँ ।
पूर्ण काका – भोजपुरको राई । तीन छोरीका बाबु । जेठी छोरीलाई बिहे गरेर पठाइसकेका । मालपोतका सुब्बा साब । पैँतालीसभन्दा उकालो लागेको उमेर । परिवार भोजपुरमै राखेर हाम्रै घरमा खाने बस्ने । उहाँ बसेको दुई वर्ष भइसकेको थियो । हामी सबै केटाकेटीका काका । छोटो समयमा प्रेमी खोज्न नसकेको मेरो मनले पूर्ण काकामा प्रेमीको रूप देख्न थाल्यो । काकालाई पर्खिन मैले भात बिस्तारै खान थालेँ । काका तयार भएर भान्सामा आउनुभयो । आफूभन्दा दोब्बर उमेरका, ससुरा भइसकेका काकालाई त्यो बेला मेरो आँखाले राजेश हमालजस्तो हिरो देख्नपुँगे । खाना खाएर काका र बुबासंँगै अफिसतिर लाग्नुभयो ।
मेरो मनले भन्यो — के भो त बिहे गर्ने होइन, प्रेमी त हो नि । पूर्ण काकामा के कमी छ र ? उनकी श्रीमती पनि यहाँ छैनन् क्यारे, म पनि के कम छु र ? राम्री पनि छु, पढ्दै पनि छु, मलाई पक्कै मन पराउलान् नि ! तर गुलाफ के भनेर दिने ?
साँझमा काका आउनुभयो । म पढाइकै बहाना बनाएर काकाको कोठामा पसेँ । पहिले पनि म काकाको कोठामा धेरैपल्ट पसिसकेकी थिएँ । तर, आज त्यही कोठामा पस्दा खुट्टा कामिरहेका थिए । पढाइको काम सकेपछि काकाको घरका बारेमा केही जानकारी लिएँ । उठ्ने बेलामा काकासित भ्यालेन्टाइन डेको बारेमा कुरा गरेँ । राईको छोरा, उमेर दोब्बर उनलाई भ्यालेन्टाइन डेको बारेमा खासै थाहा रहेनछ । मैले बुझेसम्म काकालाई भ्यालेन्टाइन डे र रातो गुलाफको बारेमा जानकारी दिएँ । कहिल्यै यस्ता कुरा गरेकी थिइन काकासित । यस्ता प्रेम प्रसङ्गका कुराले काकालाई अचम्मित त बनायो होला तर, मलाई कुनै मतलब थिएन ।
बिहान हजुरआमालाई पूजा गर्ने फूल टिप्ने बहानामा रातो गुलाफ पनि टिपेर ल्याँए । ‘एक फूल दो माली’ फिल्मकोे सइयाँले गई जिया तेरी पहिली नजर भन्ने गीत कापीमा लेखेँ । गीतको तल ‘हजूरलाई मेरो भ्यालेन्टाइन ल’ पनि लेखेँ । गीत लेखेको पन्नामा गुलाफ राखें । काकालाई सिधै गुलाफ दिन सक्ने हिम्मत मसित थिएन । काका नुहाउन धारामा गएको बेलामा काकाको कोठामा पसेर उहाँको आँखा पर्ने गरी बिस्तारामाथि कपी राखेर म आफ्नो कोठामा आएँ । रातो गुलाफ त राखेँ तर बाबुजस्तो काकाले त्यो घरमा देखाइदिए भने ? डरले मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो । आफ्नो कोठाबाट बाहिर निस्कन सकिन ।
काकाले केही भनेनन् होला, घरमा हल्लखल्ला भएन । काका अफिसतिर लागेको झ्यालबाट देखेपछि बाहिरिएँ । कसैले मसित रातो गुलाफको कुरा गरेनन् । बेलुका काकालाई अफिसबाट फर्कँदै गरेको परै देख्नासाथ मुटु ढक्क फुल्यो र म आफ्नै कोठातिर दौडिएँ । काकाले नै बोलाउनुभयो । म डराउँदै उहाँको कोठामा पुगेँ । रातो गुलाफमा काकाको नजर बिहानै परिसकेको रहेछ । मलाई ‘बदमास’ भन्दै धेरै गाली गर्नुभयो । मैले काकाको मुखमा पनि हेर्न सकिनँ, बोल्न त परै जाओस् । त्यो भ्यालेन्टाइन डे मेरा सबै साथीहरूको रमाइलो गरेर बित्यो भने मेरो डरले काम्दै बित्यो ।
शनिबारको दिन थियो । दिउँसो काकाले फेरि मलाई बोलाउनुभयो । किन हो फेरि गाली गर्ने हुन् कि काकाले भन्ने डरले म काम्दै काकाको कोठामा पुगेँ । काकाले इसाराले मलाई कुर्सीमा बस्न भन्नुभयो । म कुर्सीमा बसें, काका खाटमा हुनुहुथ्यो । केहीबेर कोठामा मौनता नै छायो । खाटबाट उठेर आएर काकाले मेरो गाला निमोठ्दै भन्नुभयो, “रातो गुलाफ दिन हिम्मत गर्नेले बोल्न त पर जाओस् अनुहार देखाउन पनि किन नसकेको नि ?”
अप्रत्यासित प्रश्नले मेरा आँखा काकाको अनुहारमा पुगे । काका त्यही मौकाको पर्खाइमा हुनुहुन्थ्यो होला, मेरो नजर उहाँको अनुहारमा पर्नासाथ मेरो गालामा चुम्मा लिँदै भन्नुभयो, “रातो गुलाफ मलाई स्वीकार छ !”
म स्वर्ग पुगेँ । मुसुक्क मुस्कुराएँ, काकाको अँगालोमा कसिँदै । केही बेर अंँगालोमा कसेपछि काकाले भन्नुभयो, “तयार भएर आऊ, हिँड सिनेमा हेर्न जाऔँ ।”
हामीले घरमा केही नभनी बजार जाने भन्दै काका भतिजी पुग्यौँ सिनेमा हलमा । हलमा ‘कुसुमे रूमाल’ चलिरहेको रहेछ । हलभित्र बत्ती बलुन्जेल काका भित्र पस्नुभएन । बत्ती निभेपछि मेरो छेउमा आएर बस्नुभयो । भुवन केसीको हाउभाउसित काका पनि दाँजिँदै जानुहुन्थ्यो, अँध्यारोमा मेरो शरीरसित । साँझ नपर्दै सिनेमा सकियो । सिंगडा र लालमोहन खाएर हामी घरतिर लाग्यौँ । अब काका मेरो प्रेमी, म उहाकी प्रेमिका ।
काकाकी माइली छोरीको बिहे हुने भयो । काकाले बिहेको निहुँ पारेर मलाई पनि भोजपुर लिएर जानुभयो । अरूका अगाडि हामी काका भतिजी, सबैले मलाई छोरीकै स्थानमा राखे । मौका मिलाएर म काकाको अँगालोमा बाँधिन्थेँ पनि । एक हप्ता भोजपुर बसेर हामी उड्यौँ विराटनगर ।
मलाई किन काकालाई रातो गुलाफ दिन मन लाग्यो भन्ने कुरामा मैले काकासित भेँडेटार यात्राको कुरा गरिसकेकी थिएँ । विराटनगर पुगेपछि काकाले भन्नुभयो, “मसित पनि भेँडेटार जाने हो ?” म पनि साथीहरूको जस्तै रमाउन चाहन्थैं, त्यही ठाउँमा गएर । के खोज्छस् कानो आँखो । काकाको प्रस्तावले म पुलकित हुँदै मुस्कानरूपी जवाफ दिएँ, “हुन्छ ।”
काकाले विराटनगरबाट मलाई सिधै भेडेटार लिएर जानुभयो । मेरो मनमा लुकेको चाहना थियो स्टार वियरको बोतल समाउँदै प्रेमीसित नाच्ने । काकाको चाहना के–के थियो कुन्नि मेरो चाहना भने पूरा गरिदिनुभयो । जीवनमा भेँडेटारमा पुगेर पहिलोपल्ट पूर्ण रूपमा काकाकी भएँ । एक रातले हामीलाई पुगेन । हामी कोठाभित्रै मात्र बसेर चार दिन बितायौँ । म पनि खुसी काका त अनुभवी झन् खुसी ।
चार दिनपछि हामी घर आयौँ । सबै सामान्य थियो । दिन बित्दै गए । काकाको बिस्तारा हामीले हाम्रो बिस्तारा बनाइसकेका थियौँ । मौका मिल्यो कि हामी एक हुन्थ्यौँ ।
भेँडेटार गएको दुई महिना पछाडि महिनावारी रोकियो । सबैले थाहा पाउलान् भनेर स्थानीय डाक्टरकामा जाने हिम्मत भएन । बाहिर जाने बाहाना बनाउन हामी असफल हुँदै गएका थिर्यौँ । त्यही समयमा काकाको भद्रपुर सरूवा भयो । बल्लबल्ल मौका मिलाएर काकाले मलाई लिएर सिलिगुडी जानु भयो गर्भपतन गराउन । मेरो पेटमा तीन महिनाको गर्भ भइसकेकाले गर्भपतन गराउन डाक्टरले मानेन ।
म रून थालेँ । काकालाई प्रेमी मात्र भनेर हेरेकी थिएँ । घरमा बिहेका लागि केटा खोज्ने काम भइरहेको थियो । काकाको आफ्नै संसार थियो दुई छोरीको बिहे भइसकेको बाबु, मेरो श्रीमान् हुने कुरा पनि भएन । म त बेस्कन आत्तिएँ । दुवैको चाहना श्रीमान् श्रीमती हुने भन्ने थिएन । तर बढ्दै गएको पेटलाई के गर्ने ? आखिरमा निर्णय भयो, काका हिँड्ने दिन काकाको सामानसँगै मेरो सामान पनि पोको पारेर भद्रपुरतिरै हानिने ।
काकाको हिँड्ने दिन पनि आयो । काकाको सामान मिलाउँदै मैले पनि घरका अरूका आँखामा छारो हालेर आफ्नो सामान पनि पोको पारिसकेकी थिएँ प्रेमी काकाको बक्सामा । घरमा सबैसित बिदाबारी भएर काका हिँड्न लाग्दा काकासितै म पनि बजारसम्म पुगेर आउँछु भन्दै चढेँ काकाको सामान राखेको जिपमा ।
भद्रपुर पुिगयो । काकाले त्यहाँ सबैसँग मलाई श्रीमती भनेर चिनाउँदा धेरै नरमाइलो लागेको थियो । म कुनै पनि हालतमा काकाकी श्रीमती हुन चाहन्न थिएँ । तर, बढ्दै गएको मेरो पेटले काकाकी श्रीमती बन्न बाध्य बनायो । आठ महिना भएपछि अब सुत्केरी कसरी उकास्ने भन्ने चिन्ताले काकालाई सताउन थाल्यो । माइतको ढोका त मेरा लागि बन्द नै थियो । काकाले धेरै सम्झाएर नौ महिना लाग्ना साथ मलाई पुर्याउनुभयो भोजपुर ।
छोरी भनेकी केटी आइमाई बनेर सौता हुँदै पसेको काकीले किन सहन्थिन् र ? काका केही दिन बसेर भद्रपुर फर्कनुभयो । महिना पुगेपछि छोरी जन्मिई । सुत्केरी सौता र बच्चालाई काकीले देखिसहिनन् । सुत्केरीको स्याहार त मैले पाउँदै पाइनँ । दुई महिनापछि काका आउनुभयो र म रोइकराइ गरेर भद्रपुर नै झरैं । मसंँगसंँगै रिस देखाएँदै काकी र छोरी पनि आए । रातो गुलाफले बनाएको मेरो संसारमा झगडाको डढेलो लाग्यो । काकाले के–के गरेर आफ्नो सरूवा भोजपुरमै गराउनुभयो । अब फेरि काकासँंगै भोजपुर जानुपर्यो ।
मधेशको सुखसयलमा हुर्किएकीले पहाडको घाँस दाउरा गर्न सकिनँ । काकालाई पनि मेरो रातो गुलाफले रोपेको मायाभन्दा सौताले कुटो, कोदालो र घाँसदाउराले रोपेको कामरूपी मायाले उनकै नजिक पुर्यायो ।
पण्डितकी नातिनी, बाहुनकी छोरी, बाबुसरह उमेरको राईकी श्रीमती आफैँलाई अनौठो लागेको थियो । मैले जन्माएकी, मेरै रगत मेरी छोरी राईकी छोरी भई । काकाका लागि म बोझ बन्दै गएको अनुभूति गर्न थालेँ । काका पनि मबाट टाढा हुँदै जानुभयो । हामी आमाछोरीका लागि काकाबाहेक त्यहाँ आफ्नो भन्ने को नै थियो र ? तिनै काका पनि टाढिन थालेपछि अब रहने कोसित ? पहाडको कामले मैले सौतालाई जित्न सकिनँ । जसले रडाको मच्चिन थाल्यो । घरमा बस्नै नसक्ने भएँ । अन्ततः सानी छोरीलाई च्यापेर झरे धरानतिर । जीवन जिउनुको सकस म झेलिरहेछु यतिखेर ।
माइतीलाई त मरेबाँचेको थाहा थियो कि थिएन के थाहा ? रातो गुलाफ स्वीकार छ भन्ने काकाले समेत बिर्सिए । यत्तिका वर्ष बितिसक्दा पनि हाम्रो खोजी गरेनन् । कम्तिमा आफ्नो सन्तान त खोज्नुपर्दछ मेरा काका, प्रेमी, श्रीमान् र छोरीका बाबुले !
भ्यालेन्टाइन डे भर्खरै गएको छ । रातो गुलाफ दिएर प्रेमी बनाउनेहरूलाई सम्झेकी छु । रातो गुलाफ दिएर प्रेमी बनाउने चाहनामा कत्ति बहिनीहरू सपना बुन्दै बसेका थिए होलान् । कतिले मजस्तै किशोरी चाहनामा नसोंची रातो गुलाफमा आफूलाई सुम्पिदिए पनि होलान् । तर म के पो गर्न सक्दछु र उनीहरूका लागि ? मात्र भगवानसित प्रत्येक वर्ष प्रार्थना गर्दछु, “हे भगवान्, एक दिनको रातो गुलाफले मेरो जस्तो पूरै जीवन ओइलिनु नपरोस्, कसैले पनि !”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies