२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गाउँपालिका अध्यक्षलाई नै ठगीको आरोप

ADV
शिव विक
२०८१ साउन ३१ गते ०६:५०
गाउँपालिका अध्यक्षलाई नै ठगीको आरोप

काठमाडौं : स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरलाई ठगीको आरोप लागेको छ । उनीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको हो ।

सूर्योदय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोप उनीमाथि लागेको छ । उनको समेत संलग्नतामा ३ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको छानबिन समितिको निष्कर्ष छ । ठगीको आरोप लागेसँगै गाउँपालिका अध्यक्ष कुँवर फरार भएका छन् । 

सूर्योदय र जनजागृति सहकारी मिलेर २०७४ सालमा सूर्योदय सहकारी बनेको थियो । कुँवरले उक्त सहरकारीको सचिवका रूपमा काम गरेका थिए । कुँवरले बचत रकम अपचलन गरी एमालेका सांसदलाई दिएको र उनले समेत निर्वाचनमा खर्च गरेको पाइएको बताइन्छ । 

छानबिनमा दोषी देखिएपछि कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

साउन २८ गते कुँवर, बिरुवा सेवा केन्द्रका संयोजक तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाकी कर्मचारी सन्ध्या भण्डारी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तारेन्द्र र सन्ध्यालाई यसअघि नै पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।

सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्ले २० दिनअघि पक्राउ परेका थिए । सहकारीमा समस्या देखिएपछि प्रहरीले बचतकर्तालाई जाहेरी दिन आह्वान गरेको थियो । बचतकर्ता ध्रुवनारायण श्रेष्ठले साउन १० गते जाहेरी दिएका थिए । 

प्रहरीका अनुसार बिरुवा सेवा केन्द्रमा बचत भएको रकम पालिका अध्यक्षकै मिलेमतोमा हिनामिना भएको आधार देखिएको छ । आधार पाएपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ । छानबिनमा संलग्न अधिकारीहरुका अनुसार  चुनावका बेला रकम निकालेर मनमौजी खर्च गरिएको पाइएको छ ।

गोदावरीका मेयर र उपमेयरलाई भ्रष्टाचार मुद्दामा सफाइ

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले भने भ्रष्टाचारको मुद्वामा सफाइ पाएका छन् । 

बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितलाई सफाइ दिएको हो । अदालतले आरोप दाबी पुष्टि नहुने फैसला गरेको छ । 

‘गोदावरी नगरपालिकाले गरेको विवादित निकासी कर निर्धारण नगरपालिकाले आर्थिक ऐनमा नै तोकेको करको दरको आधारामा मात्र बोलपत्र आह्वान गरी सक्षम पक्षलाई निर्धारण गरेको देखिन्छ’ फैसलामा भनिएको छ, ‘यी प्रतिवादीहरू नगरकार्यपालिका पदाधिकारी जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूको रूपमा सेवारत रहेको हुँदा नगरसभाबाट निर्मित कानुनको कार्यान्वयनसम्म गर्ने हैसियतमा रहेको देखिन्छ ।’ 

उनीहरूमाथि ढुंगा तथा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन र उपमेयर मुना अधिकारीले पाँच वर्षमा एक अर्ब चार करोड ८६ लाख ६५ हजार २८७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित २१ जेठमा मुद्दा दायर गरेको थियो । उनीहरूले अघिल्लो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष थियो ।

तर अदालतले अदालतले आरोप दाबी पुष्टि नभएको भन्दै मेयर र उपमेयर दुवैलाई सफाइ दिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise