
संसारभरका मान्छेहरूले बेलाबेलामा रोगको महामारी, भुइँचालो, बाढीपहिरो, सुक्खा खडेरी, भोकमरी, युद्धलगायत विपत्ति व्यहोरिरहेकै हुन्छन् । साधारण मान्छेहरूले युद्धबाहेक अन्य विपत्तिलाई केवल प्राकृतिक ठान्छन् । प्राकृतिक ठानिएका ती विपत्ति के साँँच्चिकै प्राकृतिक मात्र हुन् ? विद्वान्हरू भन्छन्–प्राकृतिक ठानिएका त्यस्ता प्रकोप केवल प्राकृतिक मात्र हुँदैनन् । यसको सिधा सम्बन्ध राजनीति र विश्वव्यवस्थासँग पनि छ ।
विषेशज्ञहरू भन्दै छन्– हालै भोटेकोशीमा आएको बाढी सामान्य, प्राकृतिक र नियमित होइन । यसलाई वैज्ञानिकहरू आकस्मिक भन्छन् । यस्तो बाढी ठुलो हिमपहिरो र चट्टानसहितको हिमनदी विनाश भएर मात्र आउँछ ।
अब प्रश्न उठ्छ, हिमनदीको विनाश किन हुन्छ ? वातावरणविदहरू भन्छन्– यसको मुख्य कारण विश्वव्यापी तापमान वृद्धिले ल्याउने जलवायु परिवर्तन नै हो ।
विश्वव्यापी तापक्रमको वृद्धिले हिमनदीको विनाश भयो, त्यसले आकस्मिक बाढी ल्यायो । बाढीले भोेटेकोशी र त्रिशूली नदी तटीय बस्तीका र बाटोमा यात्रा गर्ने हजारौंको ज्यान गयो । निष्कर्ष निस्कन्छ, त्यहाँ भएको भौतिक र मानवीय क्षतिको प्रमुख जिम्मेवार विश्वव्यापी तापक्रम वृद्धि रहेछ । नेपालजस्तो देश जो निरन्तर यस्ता विपत्ति भोग्न अभिशप्त छ ।
विशेषज्ञहरू भन्छन्– विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारण वायुमण्डलमा हरितगृह ग्यासहरूको मात्रा अत्यधिक बढ्नु हो । यी ग्यासले सूर्यबाट आएको तापलाई पृथ्वीबाट फिर्ता जान नदिई वायुमण्डलमै थुनेर राख्छ, जसलाई हरितगृह प्रभाव भनिन्छ । जसका कारण हिमालहरू पग्लिँदै छन्, समुद्र सतहको वृद्धि भइरहेको छ । फलस्वरूप कतै आकस्मिक बाढी आउँछ, कतै भयानक खडेरी ।
रसुवा र नुवाकोटमा भएको भौतिक र मानवीय क्षतिको कारण केवल प्राकृतिक मात्र रहेन । त्यसबाहेक यो विपत्तिमा ३३ कोटी देवताको पनि कुनै हात छैन । यो तथ्य अब सर्वसाधारणले बुझ्नुपर्छ । अनि मात्र यसको विश्वव्यापी समाधान निस्केला ।
यस मामिलाका विद्वान्हरू भन्छन्– हरितगृह ग्यास बढ्नुको प्रमुख कारणमा (१) कोइला, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अत्यधिक प्रयोग (२) वनविनाश (३) औद्योगीकरण र यातायात (४) आधुनिक कृषि र पशुपालन (५) रासायनिक मलको प्रयोग (६) सहरीकरण र फोहर व्यवस्थापन । अर्थात् प्रकृतिको अत्यधिक दोहन ।
वैश्विक जलवायु तथ्यांकअनुसार जनसंख्याका आधारमा प्रतिव्यक्ति कार्बन उत्सर्जनमा अमेरिका संसारभरमै एक नम्बर देश हो । अन्यमा युरोपेली संघ, भारत, रुसजस्ता देशहरू पर्छन् । त्यसबाहेक चीन, दक्षिण कोरिया, इन्डोनेसिया र ब्राजिललगायत कैयौं देशमा स्थापना गरिएको छ, जसका कारणले पनि हरितगृह ग्यास पृथ्वीले थेग्न नसक्ने गरी निरन्तर उत्सर्जन भइरहन्छ । कार्बन उत्सर्जनलाई सीमित गर्न सन् २०१५मा पेरिस सम्झौता भएको थियो । जुन सम्झौतामा १९४ देशले हस्ताक्षर गरेका छन् । तर, यो सम्झौताबाट सन् २०२०मा अमेरिका पछि हट्यो । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने पृथ्वी बिगारेर संसारभर विपत्ति निम्त्याउने नाइके देश अमेरिका नै हो । भोटेकोशीको विध्वंसमा पनि अमेरिकाको अनुहार देखिएको छ भन्दा अत्युक्ति हुँदैन ।
मानवजीवन सरल र सहज बनाउन निःसन्देह प्राकृतिक संसाधनको उपयोग जरुरी हुन्छ । तर, कति प्रयोग गर्ने ? वातावरण बिगार्ने तहसम्म कि प्रकृति र मानवजीवनको सुरक्षासहित । सम्पूर्ण समस्या यही प्रश्नमा छ । प्रकृतिको दोहनका सन्दर्भमा समग्र विश्वमा दुई फरक विचार छन् र यी विचारका बीचमा ठुलो संघर्ष जारी छ । नाफाका लागि प्राकृतिक स्रोत–साधनको अत्यधिक दोहन गर्ने कि ? मानवजीवनलाई सरल र सहज बनाउन चाहिने जति मात्रै उपयोग गर्ने ?
हो ! यहीँनेर पुँजीवादको सन्दर्भ आउँछ । पुँजीवाद भन्छ, अति उत्पादन अति खपत । अर्थात् जति खपत, त्यति नाफा । त्यसका लागि जति प्राकृतिक साधनको दोहन, त्यति उत्पादन, त्यति खपत र त्यति नाफा । पुँजीवादले उपभोक्तावादी संस्कृति त्यसै निर्माण गरेको होइन । मान्छेलाई धेरैभन्दा धेरै सामान उपभोग गर्न नलगाई ऊ नाफा थुपार्न सक्दैन । यसरी नाफाका लागि अत्यधिक प्राकृतिक स्रोतसाधनको खपत गरेर पुँजीवादले पृथ्वीको वातावारण बिगार्दै छ । फलस्वरूप संसारभरका मान्छेहरू भोटेकोशी बाढीजस्त अनेकौं विपत्तिका स्वरूप भोग्न बाध्य छन् ।
पुँजीवादका लागि विपत्ति पनि नाफा आर्जन गर्ने एउटा अर्को महत्त्वपूर्ण अवसर हो । उदाहरणका लागि फेरि पनि हाम्रै भोटेकोशीको विपत्तिलाई प्रस्तुत गरौं । भोटेकोशीले हजारौं मान्छेको ज्यान लियो, खर्बांैको सम्पत्ति विनाश ग¥यो । तर, केही मान्छेका लागि यो परिस्थिति नाफा आर्जन गर्ने एउटा सुनौलो अवसर पनि हो । हजारौं घरवारविहीन भएका छन्, यसबाट केही मान्छे अर्बपति हुने सुनिश्चित छ । यस्तो व्यवस्था वा प्रणालीलाई पुँजीवाद भनिन्छ, जुन विश्वव्यापी छ ।
जसरी पुँजीवादले पुँजी निर्माण र संकलन गर्न युद्ध सञ्चालन गर्छ र त्यसमा आधारित युद्ध अर्थतन्त्र बनाउँछ, ठिक त्यसैगरी विपद र विपत्तिलाई पनि पुँजीवादले प्रयोग गर्दै नाफा आर्जन गर्न छुट्टै विपत्तिजन्य अर्थतन्त्र विकसित गर्छ, जसबाट केही सय मान्छे फेरि अर्बपतिको सूचीमा सामेल हुनेछन् । यो आरोप होइन, संसारभर लागू भएको र गरिने पुँजीवादी सिद्धान्तको कुरा हो ।
फेरि पनि मानिसहरूलाई सुरक्षित बसोबासको उपर्युक्त ठाउँ सरकारले छुट्याउने छैन । केही हजार मान्छेहरू फेरि सुकुम्वासी हुनेछन् । उनीहरूलाई विदेशी भूमिमा सञ्चालित बहुराष्ट्रिय कम्पनीमा रोजगारीका लागि जान बाध्य पारिनेछ । यसका लागि सरकारले आकर्षक सहुलियत पनि घोषणा गर्ला । विगतमा वैदेशिक रोजगारीका लागि युवाहरूलाई प्रोत्साहित गर्न ‘बिनाढेउवाके’ भन्ने त नारा नै तय गरिएको थियो । त्यसबाहेक जेनतेन घर बनाउन सक्नेहरूलाई पनि त्यही भोटेकोशी र त्रिशूली नदीकिनारका जोखिमयुक्त ठाउँमै बस्न प्रेरित गरिनेछ । सरकारी बजेट फेरि जोखिमयुक्त नदीकिनारमै खन्याइनेछ । किनकि अर्को विपत्ति फेरि पुँजीवादका लागि अवसर भएर आउनुपर्नेछ । जति विपत्ति, त्यति नाफा । केही सय मान्छेहरू जसले यो विपत्तिबाट नाफा आर्जन गर्नेछन्, उनीहरूका नयाँ महल काठमाडौं, अस्ट्रेलिया, क्यानडा र अमेरिकामा फेरि थपिनेछ । यो संसारभरका पुँजीवादीहरूको कार्यशैली र सिद्धान्त हो । भोटेकोशी किनाराका हजारौं बेघरबार मान्छेहरू सस्तो श्रमका नीम्ति विश्व श्रम बजारमा उपलब्ध हुने कुराले विश्व पुँजीवाद दंग छ ।
मानवनिर्मित यस्ता विपत्तिहरूबाट मुक्त हुन नाफामा आधारित विश्वव्यवस्था जसलाई हामी पुँजीवाद भन्छांै, त्यसको ठाउँमा अर्को विश्वव्यवस्था जरुरी छ, जसले प्रकृति, पृथ्वी र मान्छेलाई माया गरोस् । विश्वव्यवस्था फेर्ने यो विश्वव्यापी लडाइँमा हामी नेपाली कसको पक्षमा छांै ? भोटेकोशीमा खण्डहर भएका घरहरूले यो प्रश्न सोधिरहेको छ । कतै हाम्रा मतहरू विश्व पुँजीवादका पक्षमा खसिरहेका त छैनन् ? अर्को विश्वव्यवस्थाको सपना देखाएर पुँजीवादसमक्ष आत्मसर्मपण गर्ने केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालहरूको गद्धारीलाई देखाएर कतै विश्व पुँजीवादको घोषित चाकरहरूकै पक्षमा हामी उभिइरहेका त छैनौं ? राहत भन्दै गाडी र हेलिकोप्टर चढेर आएका मान्छेहरू नै कतै विपत्ति उत्पन्न गर्ने विचारधारा र नीतिका प्रखर समर्थक त होइनन् ? समीक्षा गरौं ! र भनौं, नाफाका लागि पृथ्वी बिगार्ने र विपत्ति निम्त्याउने विश्व पुँजीवाद मुर्दावाद !
(अर्याल नेकपा (संयुक्त)का केन्द्रीय प्रचार विभाग प्रमुख हुन् ।)