२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

४० वर्षको साधनालाई मदन पुरस्कार

Nada
२०८३ भदौ २१ गते १८:१४
Shares
४० वर्षको साधनालाई मदन पुरस्कार

काठमाडौं : नेवार समुदायका परम्परागत मुकुन्डोनाचबारे चार दशक लामो अध्ययन, अनुसन्धान र खोजपछि तयार पारिएको पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ले यस वर्षको मदन पुरस्कार पाएको छ ।

ncell

पुस्तककी लेखिका वीणा जोशी (राजभण्डारी) ले करिब ४० वर्ष लगाएर नेवार समुदायमा प्रचलित परम्परागत मुकुन्डोनाच, त्यसको इतिहास, संस्कृति, नृत्य, रङ्गभूमि र रङ्गकर्मीबारे अध्ययन गरेकी हुन् । दशकौंको खोज, अनुभव र अनुसन्धानलाई पुस्तकको रूप दिँदा १ हजार ३ सय ६४ पृष्ठको यो कृति तयार भएको हो ।

२०८२ सालमा प्रकाशित पुस्तकको मूल्य ६ हजार रुपैयाँ छ । सत्र खण्डमा विभाजित पुस्तकमा ऐतिहासिक परिप्रेक्ष्यमा नाच, नेवार समुदायका परम्परागत मुकुन्डोनाचका रङ्गभूमि, रङ्गकर्मी नेवारहरूको परिचय तथा नेपाल उपत्यकामा नृत्यको इतिहास र त्यसका विभिन्न आयाम समेटिएका छन् ।

पुस्तकमा सयौं रङ्गीन तस्बिर पनि समावेश छन् । चर्या नृत्यबारे गरिएको विस्तृत अध्ययन पुस्तकको महत्वपूर्ण पक्ष हो । यज्ञमानपति बज्राचार्यले लेखेको भूमिकामा चर्या गीत, चर्या नृत्य तथा पयेंता बोल र ताललगायतका पक्षलाई समेत पुस्तकले समेटेको उल्लेख छ । हरिराम जोशी र नृत्यविद् भैरवबहादुर थापाका शुभेच्छा पनि पुस्तकमा समावेश छन् ।

भारतको बडोदास्थित महाराजा सयाजीराव विश्वविद्यालयबाट दीक्षित जोशीले आफ्नो अध्ययन र अनुसन्धानको लामो अनुभवलाई पुस्तकमा उतारेकी छन् । नेपालको नृत्य संस्कृति र नेवार समुदायको सांस्कृतिक परम्परा बुझ्न यो कृति महत्वपूर्ण दस्तावेजका रूपमा प्रस्तुत भएको छ ।

पुस्तकका सम्पादक होम भट्टराई हुन्। भाषा, लेखन र सम्पादनमा देखिएको मेहनतसँगै दशकौं लगाएर संकलन गरिएको सामग्री यसको विशेषता मानिएको छ ।

अक्टोजेरियन उमेरमा रहेकी जोशीको चार दशक लामो अध्ययन र लेखन यात्राको उपलब्धिका रूपमा पनि यो पुस्तकलाई हेरिएको छ । एउटा विषयमा यति लामो समय निरन्तर अध्ययन, खोज र अनुसन्धान गरेर तयार पारिएको कृतिले मदन पुरस्कार पाउनु नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि बनेको छ ।

‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ एउटा पुस्तक मात्र नभई नेपाली नृत्य संस्कृति र इतिहासको लामो यात्रालाई अभिलेखमा सुरक्षित गर्ने महत्वपूर्ण कृति बनेको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर