
यसवर्षको मदन पुरस्कार ८२ वर्षीया वीणा जोशी राजभण्डारीको पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ले प्राप्त गरेको छ । झण्डै चार दशकको साधनापछि यो पुस्तक तयार भएको थियो । आइतबार पुरस्कार घोषणापछि मध्यान्हले लेखिकासँग संक्षिप्त कुराकानी गरेको छ ।
परम्परागत नाचबारेको यो पुस्तक कसरी लेखियो ?
यो निकै लामो समय लगाएर लेखिएको पुस्तक हो । मेरा लागि यो पहिलो र सम्भवतः अन्तिम पुस्तक हो । यस्तो किताब लेखिएको छैन ।
यो पुस्तक लेखन यात्रा कहिलेदेखि सुरु भयो ?
५५ वर्षअघि नाच गुरुहरुसँग कुराकानी गरेँ । पुराना गुरुहरुलाई सम्भव भएसम्म भेटेँ । धेरैलाई थाहा नभएका तथ्यहरु संकलन गरेँ । सुरुमा जुन रफ्तारमा मैले काम गरेको थिए, पछि ब्रेक एउटा गृहिणी भएर शोध गर्दै जाँदा समय लाग्यो । विवाहपछि मैले यसमा लाग्न सकिन् । यसमा ब्रेक लाग्यो । विवाह पछि म इग्ल्याण्ड गएँ । पछि घर गृहस्थीले फुर्सद मिलेन ।
नृत्यप्रतिको तपाईंको रुचि कसरी सुरु भयो ?
म विराटनगरमा जन्मिएँ । सर्लाहीको मलंगवामा हुर्किएँ । मलाई नृत्यप्रति रुचि र चासो विद्यालयबाटै जाग्यो । २०१८ सालमा मैले एसएलसी गरेको हो । एउटा प्रश्न अहिले पनि मलाई सम्झना छ । सोधिएको थियो, ‘एसएससीपछि तपाईं के गर्ने सोच्नु भएको छ ?’ मैले उत्तर दिएको थिए, म डान्स सिक्न जान्छु । डान्स कक्षा चलाउने मेरो लक्ष्य छ । नभन्दै म डान्स सिकेँ । त्यही सपनाले मलाई परम्परागत नाचको अध्ययनप्रति रुचि जगायो ।
विद्यालयदेखि नै आफ्नो समुदायको संस्कृति र परम्पराप्रति पनि तपाईंको रुचि थियो ?
स्कूलदेखि नै मलाइ आफ्नो समुदायका परम्परा, संस्कृति र पर्वप्रति रुचि थियो । एउटा समुदायमा परम्परागत नाच त्यत्तिकै बन्दैन । त्यसमा इतिहास हुन्छ । संस्कृति हुन्छ । सबैलाई जोडेर पर्व, नाच र परम्परा बनेको हुन्छ ।
त्यसपछि परम्परागत नाचको अध्ययनमा तपाईंको रुचि कसरी गहिरिँदै गयो ?
धेरैले रियलाइज गरेका छैनन । तर, संस्कृति वा परम्पराले प्राचिन इतिहासलाई जिवित राख्छ । त्यो महशुस गरेरै मैले गुरुहरुसँग संगत बढाएँ । तर, केटी मान्छेलाई सजिलो थिएन् । त्यसै त तन्त्रमन्त्र अरुलाई भन्नुहुँदैन् भन्ने मान्यता हुन्छ । त्यसमाथि महिलालाई झन् भन्नु हुँदैन् । दिक्षित नभएकालाई सुनाउनु हुँदैन् भन्ने हुन्छ । तर, गुरुहरुले बडो विश्वास गरेर मलाई भन्नुभयो । नाचहरुमा मलाई संगै लिएर जानु भयो । मैले संकलन गर्दै गएँ ।
तपाईंको अनुसन्धानमा संस्कृति र परम्परा बसाइँसराइसँगै हराउँदै गएको पनि देख्नुभयो ?
आस्था नभइ परम्परा हुँदैन् । त्यसमाथि संस्कृति परम्परा बसाईसराईसँग हराउँदै जान्छ । उत्पत्ति भएका ठाउँमा हराएका नाँच मान्छेसँग नयाँ ठाउँमा बाँचिरहेको पनि पाइएको छ । एउटै संस्कृति परम्परा र नाच ठाउँले भिन्न पार्छ ।
पुराना गुरुहरूसँग रहेको ज्ञान संरक्षणका लागि तपाईंले राज्यका निकायलाई पनि आग्रह गर्नुभएको थियो ?
पुराना गुरुहरुसँगै यस्तो परम्परागत ज्ञान नजाओस् भनेर मैले कैयौं पटक प्रज्ञा प्रतिष्ठानलाई पनि भनेँ । गुरुहरु पनि रुनुहुन्थ्यो । यो सांस्कृतिक वैभव आफैसँग जाने भो भनेर चिन्ता गर्नुहुन्थ्यो । तर, प्रज्ञाले चासो दिनु भएन् ।
राज्यले यस्तो अध्ययन किन गर्नुपर्छ भन्ने लाग्यो ?
व्यक्तिले गर्ने शोधभन्दा राज्यले गर्दा बृहत हुन्छ भन्ने लागेको थियो । एक्लै गर्नुमा र एउटा टिमले गर्नुमा फरक पर्छ भन्ने लागेको थियो । त्यसो हुन पाएन ।
यति लामो समय एक्लै अनुसन्धान गर्दा कहिलेकाहीँ यसलाई पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने लाग्थ्यो ?
म सधै सकारात्मक सोच्छु । यति सोधिखोजी गरेर पनि केही गर्न सक्दिन कि भन्ने लाग्थ्यो । तर, मैले यसलाई एउटा निस्कर्षमा पुर्याएँ ।
यो पुस्तकका लागि तपाईंले आफ्नो जीवनको कति लामो समय दिनुभयो ?
यो पुस्तकका लागि मैले सिंगो जीवन दिएँ । १८ वर्षको उमेरदेखि अहिले ८२ वर्ष हुँदासम्म यसैमा लागें । ४० वर्षभन्दा धेरै त यसैमा केन्द्रित रहें । नाचहरूबारे प्राप्त तथ्य, पुराना गुरुलाई भेटेर रातभर लेखेर बस्थें । कहिलेकाहीँ पुस्तक पूरा हुँदैन कि भनेर निराश पनि हुन्थें । तर, हिजोको कुरा आज र भोलिका लागि भनेर हार मानिन् ।
चार दशकभन्दा लामो यो साधनाको अन्त्यमा मदन पुरस्कार पाउँदा कस्तो अनुभूति भइरहेको छ ?
मैले कुनै पुरस्कारका लागि यो पुस्तक लेखेको होइन । तर, आज मदन पुरस्कार पाउँदा धेरै खुसी लाग्यो । यो कामबाट मैले मुक्ति पाएँजस्तो लाग्यो । यस विषयको मूल्यांकन गर्न धेरै मानिस छैनन् । निर्णायक समितिलाई पनि पक्कै कठिन भयो होला ।