२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

होमनाथको ‘हराएको साथी’ लोकार्पण

Nada
२०८३ भदौ २२ गते १४:४२
Shares
होमनाथको ‘हराएको साथी’ लोकार्पण

काठमाडौं : स्रष्टा होमनाथ खनालको तेस्रो कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ । मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा महाकाव्यकार खेमनाथ दाहालको बाहुलीबाट कृति लोकार्पण गरिएको हो । 

ncell

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, विशिष्ट कलाकार लय संग्रौला, विश्व कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, स्रष्टा होमनाथ खनाललगायत साहित्य, कला र संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा ‘हराएको साथी’ लोकार्पणसँग स्रष्टा खनाललाई सम्मानसमेत गरिएको थियो । 

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण मिलाप मासिकका सम्पादक कृष्ण भुसालले गरेका थिए ।  सो अवसरमा कृतिमाथि समीक्षा गर्दै स्रष्टा सन्तोष श्रेष्ठले ‘हराएको साथी’लाई रहस्यमय तथा प्रेरणादायी कृतिका रूपमा व्याख्या गरेका छन् । ‘कृतिले पाठकलाई कथाको प्रवाहसँगै जीवनका विभिन्न पाटो र अनुभूतिसँग जोड्ने प्रयास गरेको छ,’ श्रेष्ठले भने ।  

कृतिकार होमनाथ खनालले आफ्नो जीवनयात्राका क्रममा देखेका, भोगेका र अनुभूति गरेका विविध विषयलाई कथाका रूपमा प्रस्तुत गरेको जानकारी दिए । जीवनमा भेटिएका पात्र, सम्बन्ध, घटना र अनुभवहरूले नै सिर्जनाको आधार तयार पारेको उल्लेख गर्दै उनले आफ्ना अनुभूतिलाई साहित्यिक रूप दिएर पाठकमाझ ल्याएको बताए ।

प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहालले ‘हराएको साथी’ कुनै एउटा पात्र हराएको कथा मात्र नभएको भन्दै कृतिले पाठकलाई आफ्नै जीवनमा हराएका सम्बन्ध, स्मृति, सपना र सम्भावनाहरूको खोजीमा निस्कने यात्रातर्फ डोर्‍याउने दाबी गरे । कार्यक्रमका अध्यक्ष राधेश्याम लेकालीले ‘हराएको साथी’को प्रकाशनले स्रष्टा होमनाथ खनालको सिर्जनात्मक यात्रालाई थप उचाइ दिने विश्वास व्यक्त गेका छन् । 

कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष गोपिकृष्ण न्यौपाने, गंगालाल अस्पतालका पूर्वप्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बू, गायिका तथा कलाकार शीला खनाल, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतले कृतिकार खनाललाई शुभकामना दिए । 

‘हराएको साथी’ स्रष्टा होमनाथ खनालको तेस्रो साहित्यिक कृति हो । यसअघि खनालले ‘यात्रा जिन्दगीको’ र ‘शब्दसंगम’ पाठकमाझ आइसकेका छन् । तेस्रो कृतिसम्म आइपुग्दा खनालले जीवनका विविध अनुभव, अनुभूति र भोगाइलाई साहित्यिक अभिव्यक्तिका रूपमा निरन्तर प्रस्तुत गर्दै आएका छन् ।

uae

ताजा खबर

सम्बन्धित खबर