
रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित पेटभर्वामा श्रीकृष्ण जन्माष्टमीको छठियार (छैठी) को अवसरमा आयोजित मूर्ति विसर्जनका क्रममा डिजेमा गीत बजाउने विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । बुधबार साँझ भएको उक्त घटनामा दुवै पक्षका गरी कम्तीमा छ जना व्यक्ति घाइते भएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार बुधबार साँझ करिब ७ बजे धार्मिक विधिपूर्वक मूर्ति विसर्जन कार्यक्रम सम्पन्न भएलगत्तै डिजेमा कुन गीत बजाउने भन्ने विषयमा सामान्य भनाभन सुरु भएको थियो। हेर्दाहेर्दै उक्त भनाभनले उग्र रूप लिई दुई समूहबीच कुटाकुट र हातहालाहालको स्थिति सिर्जना भएको हो ।
झडपमा परी डिजे सञ्चालक दिलीप साहको टाउकोमा गम्भीर चोट लागेको छ भने उनका भाइ मोहन साहको आँखा र मुखमा चोट लागेको छ । सोही पक्षका रामअधार साहको हातमा गम्भीर चोट लागेको छ भने महादेव ठाकुरसहित अन्य केही स्थानीयसमेत घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको प्रहरीले जनाए ।
यसैगरी अर्को पक्षका विजय यादवको नाकको हड्डी भाँचिएको र कानमा गम्भीर चोट लागेको छ भने मजय यादव पनि घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल भर्ना गरिएको छ ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक राजेश खत्रीका अनुसार स्थानीय मठ नजिकै डिजेमा गीत बजाउने विषयलाई लिएर दुई पक्षबीच विवाद बढेपछि झडपको स्थिति बनेको हो ।
गीत बजाउने विषयमा परस्पर विरोधी दाबी
घटनाको कारणबारे स्थानीय बासिन्दा र जनप्रतिनिधिको भनाइ फरक–फरक पाइएको छ। फतुवा विजयपुर नगरपालिका–६ का वडाध्यक्ष रामएकबाल यादवका अनुसार पूजास्थलको गरिमा कायम राख्न भगवान् श्रीकृष्णसँग सम्बन्धित भजन तथा धार्मिक गीत मात्र बजाउन एक पक्षले आग्रह गरेको थियो। तर उक्त आग्रहलाई बेवास्ता गर्दै अन्य गीत बजाइएपछि विवाद सुरु भएको वडाध्यक्ष यादवको दाबी छ ।
यद्यपि जातीय वा समुदायलक्षित कुनै आपत्तिजनक गीत बजाएकै कारण विवाद भएको भन्ने चर्चाबारे आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको वडाध्यक्ष यादवले स्पष्ट पारेका छन् ।
स्थानीय बासिन्दाहरू भने यस घटनालाई केवल डिजे बजाउने विषयमा सीमित नराखी विगत केही महिनादेखि पेटभर्वा गाउँमा चल्दै आएको ऐतिहासिक नाम परिवर्तनसम्बन्धी विवादको निरन्तरताका रूपमा हेरिरहेका छन् ।
प्राप्त जानकारीअनुसार पेटभर्वा गाउँको ऐतिहासिक नाम परिवर्तन गरी यदुवंशीनगर राख्ने प्रयास भएपछि स्थानीय दुई पक्षबीच गम्भीर मतभेद र तनाव सिर्जना हुँदै आएको छ । जातीय र सांस्कृतिक पहिचानका आधारमा गाउँको नाम फेर्न खोजिएको आरोप लगाउँदै केही स्थानीय समूहले त्यसको तीव्र विरोध गर्दै आएका छन् ।
उक्त नाम परिवर्तनको विषय जिल्ला प्रशासन कार्यालय रौतहट हुँदै हाल सर्वोच्च अदालतसम्म पुगेको छ र मुद्दा अहिले विचाराधीन अवस्थामै रहेको स्थानीयले बताए । यसअघि यही नाम परिवर्तनको विवाद र सम्भावित मुठभेडलाई ध्यानमा राख्दै जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा वर्षेनी लाग्दै आएको ऐतिहासिक पेटभर्वा मेलासमेत स्थगित गरिएको थियो ।
लामो समयदेखि गुम्सिएर रहेको नाम परिवर्तनको सामाजिक विवादकै बीच डिजे बजाउने निहुँमा पुनःदोहोरो झडप भएपछि पेटभर्वाको सामाजिक सद्भाव र वातावरणीय संवेदनशीलता थप जोखिममा परेको भन्दै स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको छ । सम्भावित थप अप्रिय घटना हुन नदिन र सामाजिक शान्ति कायम राख्न प्रहरीले प्रभावित क्षेत्रमा निगरानी बढाएको छ । घटनामा संलग्नहरूको पहिचान तथा कारबाहीका लागि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।