
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरिया र घानाले भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनका लागि ८० लाख रुपैयाँ सहयोग गरेका छन् ।
(एनआरएनए नाइजेरिया र घानाले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भोटेकोशीका बाढीपीडितका लागि संकलित रकम हस्तान्तरण गरेका छन् ।
एनआरएनए नाइजेरियाले नाइजेरियामा रहेका नेपाली, नेपालका शुभचिन्तक र औधोगिक तथा व्यावसायिक प्रतिष्ठानहरु बाट प्राप्त सहयोग ७७ लाख रुपैयाँको चेक अर्थमन्त्रीमार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि हस्तान्तरण गरेको हो ।
एनआरएनए नाइजेरियाका तर्फबाट पूर्वअध्यक्षहरु विश्वास पौडेल, दीपक कर्ण, पूर्व आइसिसी सदस्य मन थापा, संस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष अञ्जु पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी सोही अवसरमा एनआरएनए घानाका तर्फबाट भानु पाठकले अर्थमन्त्रीलाई तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरे ।
अफ्रिका एनआरएनएका शाखाबाट यसअघि प्रजातान्त्रिक गणतन्त्र कंगोबाट १३ लाख, तान्जानियाबाट साढे २ लाख, साउथ अफ्रिकाबाट साढे १ लाख र बोत्सवनाबाट ५० हजार सहयोग बैंकमार्फत पठाइसकिएको छ ।
त्यसैगरी एनआरएनए युगान्डाले ३५ लाखभन्दा बढीका टेन्ट, ग्यास सिलिन्डर र चुल्हो प्रभावित क्षेत्रमा पुगेर वितरण गरिसकेको छ । यसैगरी एनआरएनए केन्याले १० लाख रुपैयाँ नगद सहयोग पठाउने भएको छ ।