
काठमाडौं : नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् ।
कार्यदलको शुक्रबार बसेको बैठकमा पार्टीका उपाध्यक्ष एवम् कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका हुन् । कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेको एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेका छन् । पार्टी महासचिवलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको भएपनि कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्षले पनि छुट्टै सुझाव तथा प्रतिवेदन प्रस्तुत गरेको उपमहासचिव भट्टले बताए ।
दुवै प्रतिवेदनमा रहेका विषयवस्तु अध्ययन गरेर समान धारणा निर्माण गर्ने र एउटै प्रतिवेदन सचिवालयमा लैजाने निर्णय गरिएको उनले जानकारी दिए । उनका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्नेगरि कार्यदलको बैठक स्थगित गरिएको छ । आइतबार बस्ने बैठकले एकीकृत प्रतिवेदन तयार गर्ने उनले जानकारी दिए ।
उनले दुईवटा प्रतिवेदन आएपनि पार्टीभित्र ठुलो विवाद भने नरहेको बताए । केही विषयमा बुझाइमा अन्तर रहेकाले छुट्टाछुट्टै प्रतिवेदन आएको उनले बताए । दुई नेताबीच ‘पुनर्गठन’लाई मूल नेतृत्व परिवर्तनका रूपमा बुझ्ने वा समग्र पार्टीको समीक्षा तथा संगठन पुनर्गठनका रूपमा बुझ्नेबीच केही फरक धारणा देखिएको उनले जानकारी दिए ।
उनले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको बताए । महासचिवको प्रतिवेदन आफूले अध्ययन गरेको उल्लेख गर्दै उनले त्यस्तो प्रस्ताव आफूले नदेखेको दाबी गरे । उनका अनुसार प्रतिवेदनमा केही समीक्षा तथा कार्यदलमा आएका सुझावहरू समेटिएका छन् ।
संयोजकले ल्याएको छुट्टै दस्तावेजलाई पनि पूर्ण रूपमा अलग प्रतिवेदन भन्न नमिल्ने उनको जिकिर छ । महासचिवले ल्याएका विषयमा केही थप गर्न संयोजकले सुझाव प्रतिवेदन तयार गरेको उनले बताए ।
कार्यदलले दुईवटै दस्तावेजलाई छुट्टाछुट्टै रूपमा केन्द्रीय कमिटीमा पेश नगर्ने पनि उनले जानकारी दिए । एकीकृत प्रतिवेदन सचिवालयमा पेस गरिने र सचिवालयबाट पारित भएपछि एउटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने उनको भनाइ छ ।