२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

जापानमा सुदूरपश्चिम सांस्कृतिक साँझको तयारी तीव्र

Nada
पूर्ण चलाउने
२०८३ भदौ २७ गते १३:४७
Shares
जापानमा सुदूरपश्चिम सांस्कृतिक साँझको तयारी तीव्र

टोकियो : सुदूरपश्चिमेली नेपाली समाज जापानले जापानको राजधानी टोकियोसहित अन्य शहरमा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना गर्ने भएको छ ।

कार्यक्रम अक्टोबर ११ तारिख आइतबार साँझ ५ बजेदेखि टोकियोको मेगुरोस्थित मेगुरो कुमिन सेन्टरमा (टोकियोतो मेगुरोकु याकुमो १–१–१) आयोजना गरिने आयोजकले जनाएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, बाढीपीडितहरूका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारहरू रेखा जोशी, चक्र बमलगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज जापानले जनाएको छ ।

त्यसैगरी, समाजको क्षेत्रीय शाखा सुदूरपश्चिमेली समाज कान्साईको आयोजनामा ओसाकामा पनि कार्यक्रम हुने भएको छ । ओसाकामा अक्टोबर १२ तारिख सोमबार साँझ ५ बजेदेखि कोकोप्लाजाको यूथ सेन्टरमा कार्यक्रम आयोजना गरिने तय भएको छ ।

सेन्दाईमा आयोजना गर्ने भनिएको पूर्वनिर्धारित सुदूरपश्चिम महोत्सव भने नेपालमा आएको बाढीपहिरोका कारण रद्द गरिएको समाजले जनाएको छ ।

कार्यक्रमका लागि कलाकारहरूले भिसा प्राप्त गरिसकेका छन् भने अन्य प्राविधिक तथा आवश्यक प्रक्रियासमेत पूरा भइसकेको समाजका अध्यक्ष विकास रोकायाले जानकारी दिएका छन् ।

नेपालमा बाढीपहिरो आउनुअघि नै निर्धारण गरिएको कार्यक्रमलाई रद्द गर्नुभन्दा निरन्तरता दिई कार्यक्रमबाट प्राप्त हुने मुनाफा रकम विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेहरूको सहयोगमा प्रयोग गर्नु सान्दर्भिक हुने अध्यक्ष रोकायाले मध्यान्हलाई बताए ।

आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै बाढीपीडितहरूको सहयोगार्थ आयोजना गरिने उक्त विशेष सांस्कृतिक साँझमा जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।

कार्यक्रममा जापानवासी नेपालीका साथै विशेषगरी जापानमा रहेका सुदूरपश्चिमेली समुदायको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर