२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

राससको सेवालाई थप परिष्कृत र परिमार्जित गर्दै लैजान्छौं : अध्यक्ष झा

ADV
मध्यान्ह
२०८१ साउन ३२ गते १९:१९
राससको सेवालाई थप परिष्कृत र परिमार्जित गर्दै लैजान्छौं : अध्यक्ष झा

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सेवाग्राही सञ्चारमाध्यमले दिएका सुझाव र सल्लाहलाई आत्मसात् गरी आफ्ना सेवालाई थप स्तरोन्नति गर्दै लगिने विश्वास दिलाएका छन् ।

रासस केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित ‘रासससँग सेवाग्राहीका अपेक्षा’ विषयक अन्तरक्रियामा अध्यक्ष झाले विभिन्न मातृभाषामा समाचार सम्प्रेषण र समाचार गुणस्तर सुधारलाई उच्च प्राथमिकता दिइरहेको स्पष्ट पारे । ‘विगतका तुलनामा सेवा विविधीकरण र गुणस्तरीय सेवा प्रवाहमा हरतरहले प्रयास गरिएको छ,’ उनले भने, ‘आगामी भदौदेखि चौबिसै घण्टा समाचार सम्प्रेषण गर्ने तयारी गरिएको छ ।’

 राससले समाचार उपलब्ध गराउँदै आइरहेको वेबसाइटलाई छिट्टै ग्राहकमैत्री बनाइने जनाउँदै अध्यक्ष झाले सेवाग्राहीले दिएका सुझावका आधारमा सेवालाई थप परिष्कृत र परिमार्जित गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको सबैभन्दा ठूलो विश्वास र सम्पत्ति सेवाग्राही भएकाले उनीहरूका राय, सुझाव र परामर्श लिनका लागि वार्षिक ‘क्यालेन्डर’ नै बनाइएको जानकारी दिए ।

महाप्रबन्धक सिद्धराज राईले राससका सेवा गुणस्तर अभिवृद्धि, समाचार र तस्बिरको एकीकृत सम्प्रेषण, अन्तर्राष्ट्रिय समाचारको ठेट अनुवाद र चाँडो समाचार सम्प्रेषण होस् भन्ने सेवाग्राहीको सुझावलाई संस्थाले आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रासस सञ्चालक सदस्य डिल्लीराम भट्टराईले सेवाप्रवाहमा देखिएका कमीकमजोरीलाई सुधार्ने पाटोमा राससले ध्यान दिँदै गुनासालाई सुन्ने परिपाटीलाई स्थायी रूपमा लैजानुपर्ने बताए । नायब महाप्रबन्धक श्याम रिमालले राससबाट उपलब्ध भइरहेको सबै सेवाबारे सेवाग्राही सञ्चारमाध्यमलाई अवगत रहेको उल्लेख गर्दै पछिल्ला समय मातृभाषा र गुणस्तरीय सेवा उपलब्ध गराउन दत्तचित्त रहेको बताए ।

अन्तरक्रियामा सेवाग्राही सञ्चारमाध्यमका तर्फबाट प्रतिनिधिहरुले रासस सेवाका महत्वपूर्ण अंशका रुपमा रहेको भिडियो सेवालाई प्रभावकारी बनाउन व्यवस्थापनले विशेष ध्यान पुर्‍याउनुपर्नेमा जोड दिँदै समयमै समाचार उपलब्ध गराउने, भाषा शुद्धतालाई ख्याल गर्ने, समाचार अनुरुपको श्रव्य र तस्बिरलाई एकीकृतरुपमा उपलब्ध गराउन सुझाव दिए ।

सरकार र राजनीतिक दलका भाषणभन्दा मानवीय अभिरुचीका अन्य पक्षका सामग्री र विषयवस्तु सम्बन्धित समाचार सम्प्रेषणमा ध्यान दिन सुझाव दिँदै उनीहरूले राससप्रतिको विश्वसनीयताको पक्षलाई मर्न नदिने गरी काम गर्न आग्रह गरे ।

सो अवसरमा नायब महाप्रबन्धक राजु शाक्य, नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख शाखा प्रमुख कृष्ण अधिकारी, अंग्रेजी शाखा प्रमुख दीपराज सन्याललगायतले राससको समाचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा सेवाग्राहीले दिएका सुझाव मननयोग्य रहेकाले कार्यान्वयन गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise