
रौतहट : तीन नेपाली नाबालिकालाई परिवारको जानकारीबिनै भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुरबाट २३ वर्षीय सलाउद्दीन अन्सारीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अन्सारीले नाबालिकालाई प्रलोभनमा पारी भारत लैजान खोजेको आशंका गरिएको छ ।
उद्धार गरिएका नाबालिकामा १५ वर्षीया ज्योशा राई, १६ वर्षीया नवीना परियार र १७ वर्षीया मनीषा विष्ट रहेका छन् । उनीहरू मकवानपुरको राई गाउँका रहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मुख्य सीमा नाकामा सुरक्षा कडाइ भएपछि ग्रामीण तथा वैकल्पिक बाटो प्रयोग गरी नाबालिकालाई भारत लैजान खोजिएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्सारीको साथबाट एक थान इलेक्ट्रिक स्कुटर, पाँच थान मोबाइल, आधार कार्ड, प्यान कार्ड, नेपाली रुपैयाँ ५१० र भारतीय रुपैयाँ ५२० बरामद भएको प्रहरीले जनाएको छ । अन्सारी भारतको पूर्वी चम्पारणस्थित ढाका थाना क्षेत्रको हारूनी गाउँका बासिन्दा हुन् ।
घटनाबारे भारतीय प्रहरीले अनुसन्धान अघि बढाएको छ । परिवारको जानकारीबिना नाबालिकालाई प्रलोभनमा पारेर सीमा पार गराउन खोजिएको घटनाले मानव बेचबिखन तथा शोषणको जोखिमप्रति पनि गम्भीर प्रश्न उठाएको छ ।
मोतीहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातका अनुसार अदालतबाट आवश्यक प्रक्रिया पूरा भएपछि उद्धार गरिएका नाबालिकालाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइनेछ । आरोपीमाथि कानुनअनुसार कारबाही गरिने उनले बताएका छन् ।
रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालले घटनाको पुष्टि गर्दै भारतीय प्रहरीसँग समन्वय भइरहेको जानकारी दिएका छन् । भारततर्फको कानुनी प्रक्रिया पूरा भएपछि नाबालिकालाई गौर ल्याएर अभिभावकको जिम्मा लगाइने उनले बताए ।