
दोहा : कतारको अन्तर्राष्ट्रिय सञ्चार कार्यालयले अमेरिकी पत्रिका द न्यू योर्कर मा प्रकाशित एक प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसमा लगाइएका आरोप पूर्ण रूपमा झुटा र बनावटी भएको जनाएको छ ।
द न्यू योर्कर ले सेप्टेम्बर १९ मा प्रकाशित गरेको प्रतिवेदनमा कतारले हमासलाई आर्थिक सहयोग उपलब्ध गराएको र उक्त रकम हमासको सैन्य शाखासम्म पुगेको दाबी गरिएको थियो । प्रतिवेदनमा ‘ब्लास्ट डकुमेन्ट्स’ भनिएका केही कागजातलाई आधार बनाउँदै कतारमाथि हमासलाई सहयोग गरेको गम्भीर आरोप लगाइएको थियो ।
उक्त प्रतिवेदनको खण्डन गर्दै कतारको अन्तर्राष्ट्रिय सञ्चार कार्यालयले सोमबार विज्ञप्ति जारी गरी द न्यू योर्कर को सामग्री प्रतिष्ठित सञ्चारमाध्यमको खोजमूलक प्रतिवेदनभन्दा ‘सामान्य ब्लग’ जस्तो देखिएको टिप्पणी गरेको छ । कार्यालयका अनुसार सामग्री प्रकाशन हुनुअघि नै ती कागजात नक्कली र बनावटी रहेको स्पष्ट प्रमाण पत्रिकालाई उपलब्ध गराइएको थियो । प्रमाण हुँदाहुँदै पनि त्यस्ता सामग्रीलाई आधार बनाएर प्रतिवेदन प्रकाशित गरिनु गम्भीर चिन्ताको विषय भएको कतारले जनाएको छ ।
कतारले आफूलाई बदनाम गराउने उद्देश्यले केही वर्षदेखि फर्जी कागजात तयार पार्ने र फैलाउने अभियान चलिरहेको दाबीसमेत गरेको छ । विशेषगरी इजरायलका दक्षिणपन्थी समूह तथा राजनीतिक व्यक्तिहरूसँग सम्बन्धित पक्षहरूले कतारविरुद्ध यस्तो अभियान सञ्चालन गरिरहेको कतारको आरोप छ । कतारले हमासलाई आर्थिक सहयोग गरेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै आफ्नो सहयोग गाजाका प्यालेस्टिनी नागरिकसम्म पुर्याउन इजरायली अधिकारी तथा अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय गरिएको स्पष्ट पारेको छ ।
कतारका अनुसार विगतका सहायता संयन्त्रअन्तर्गत खाना, औषधि, इन्धन तथा आर्थिक सहयोगसमेत इजरायल हुँदै गाजा प्रवेश गरेका थिए । सहायता वितरणमा संयुक्त राष्ट्रसंघीय निकाय र इजरायली अधिकारीसँग समन्वय गरिएको तथा कतारबाट हमासलाई प्रत्यक्ष रूपमा कुनै रकम उपलब्ध नगराइएको उसको भनाइ छ । कतारले विभिन्न इजरायली सरकार र सुरक्षा निकायको संलग्नतामा वर्षौँदेखि मानवीय सहायता उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।
कतारले यस्ता आरोप र भ्रामक सामग्रीले गाजासम्बन्धी वार्ता तथा मध्यस्थतामा आफ्नो भूमिकालाई कमजोर पार्ने प्रयास भएको जनाएको छ । क्षेत्रीय द्वन्द्व अन्त्य गर्न कूटनीति र मध्यस्थतालाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याउँदै कतारले प्यालेस्टिनी नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने कार्य पनि जारी रहने स्पष्ट पारेको छ ।