२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी-विरोधका लागि असोज १२ सम्मको म्याद

Nada
२०८३ असोज ६ गते ११:४३
Shares
प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी-विरोधका लागि असोज १२ सम्मको म्याद

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्नका लागि असोज १२ गतेसम्म समयसीमा निर्धारण गरेको छ ।

ncell

सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताहरूको विवरण समावेश गरिएको छ । नामावलीमा नाम, थर वा जन्म मितिमा कुनै त्रुटि भए मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन नै सच्याउन निवेदन दिन सक्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।’ घिमिरेले भने, ‘त्यसैले असोज १ गतेदेखि १२ गतेभित्र आयोगको वेबसाइटमा आफ्नो विवरण हेरेर कुनै त्रुटि भए सच्याउनका लागि अनलाइनमार्फत नै समयमै निवेदन दिन सबै मतदाताहरूमा अनुरोध गरिएको छ ।’

आयोगले हाल दुई विधिमार्फत मतदाता नामावली संकलन तथा अद्यावधिक गरिरहेको छ । राष्ट्रिय परिचयपत्र (एनआईडी) मा आबद्ध भइसकेका मतदाताहरूले अनलाइन प्रणालीमार्फत नै आफ्नो तस्बिर तथा बायोमेट्रिक्स विवरण पेश गर्न सक्छन् भने परिचयपत्रमा आबद्ध नभएकाहरूले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ । दिएको समयावधि व्यक्तिगत विवरण सच्याउनका साथै नामावली शुद्धीकरणका लागिसमेत उपयोग गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

‘यो अवधि मतदाता नामावलीलाई पारदर्शी र त्रुटिरहित बनाउने अवसर पनि हो, यदि कुनै व्यक्ति मतदाता हुन योग्यता नपुगेको अवस्थामा पनि नाम समावेश भएको छ वा कसैले नागरिकता त्याग गरिसकेको छ भने त्यस्ता व्यक्तिको नाम सूचीबाट हटाउनका लागि पनि यही अवधिभित्र उजुरी वा निवेदन दिन सकिनेछ ।’

आयोगकाअनुसार तोकिएको म्यादभित्र प्राप्त हुने निवेदन तथा दाबी–विरोधउपर आवश्यक छानबिन गरी मतदाता नामावलीलाई अन्तिम रूप दिइनेछ ।

ताजा खबर

सम्बन्धित खबर