२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

नेपालगञ्जमा किरिया पुत्री भवनले पूर्णता पाउँदै

shivam cement
मध्यान्ह
२०८१ साउन ३२ गते २१:२२
नेपालगञ्जमा किरिया पुत्री भवनले पूर्णता पाउँदै

नेपालगञ्ज : हिन्दू धर्मावलम्बीहरुका लागि जीवनको अन्तिम दाहसंस्कार गरेपछि १३ दिनसम्म धार्मिक संस्कार अनुसार मृतकका आफन्तहरु किरिया बस्नु पर्दछ । तर, करिया बस्नका लागि पश्मिम नेपालकै प्रमुख शहर नेपालगन्जमा अहिलेसम्म कुनै पनि सार्वजनिक स्थल र सुविधा उपलब्ध छैन । 

नेपालका अन्य ठूला शहरहरुमा भने यस खालका सुविधाहरु उपलब्ध छन् । विशेष गरेर नेपालगन्ज बाहिरबाट आएर भाडामा बस्ने सर्वसाधारण नागरिकका लागि अतिआवश्यक किरिया पुत्री भवन नभएकोले किरिया बस्नकै लागि र हिन्दू धर्म संस्कार र परम्परा अनुसार अन्तिम कर्म गर्नका लागि नेपालगन्ज बाहिर जानुपर्ने वा अन्यत्र व्यवस्था गर्नुपर्ने बाध्यता रहँदै आएको छ । यही अतिआवश्यक कर्मका लागि नेपालगन्ज वडा नं. ४ शिव पार्वती टोलमा स्थानीय सामाजिक अभियन्ताहरुको अग्रसरतामा सुविधा सम्पन्न ‘किरिया पुत्री भवन’ निर्माण कार्यले पूर्णता पाउँदैछ । 

गत फागुन १७ गते शिलान्यास गरिएको सुविधा सम्पन्न उक्त किरिया पुत्री भवनको दोस्रो तल्ला शनिबार ढलान गरिएको छ । 

भवन निर्माण समितिका संयोजक वरिष्ठ समाजसेवी सेमराज शाक्यका अनुसार २ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त दुई तल्लाको भवनमा दुई परिवारका लागि सुविधा सम्पन्न कोठाहरु, हल लगायतका संरचनाहरु निर्माण भइरहेको छ । 

शिलान्यासको बेला रु. ६० लाख खर्चको अनुमान गरिएकोमा हाल करिब १ करोड २० लाखको लागतमा निर्माण थालिएको उक्त किरिया पुत्री भवनका लागि स्थानीय तथा नेपालगन्ज बाहिरका स्वयंसेवी दाताहरुको सहयोग रहेको जानकारी दिँदै संयोजक शाक्यले आगामी असोज महिनाको अन्तिमसम्म भवनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए । किरिया बस्ने महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुनेछ भने मलामी र प्रसाद ग्रहण गर्नेहरुका लागि बस्ने व्यवस्था समेत गरिने शाक्यले जानकारी दिए । 

शिलान्यासको अवसरमा भवन निर्माणका लागि संकल्पकर्ता समाजसेवी माधवी शाहले रु.१० लाख, अनिता शाहले रु.५ लाख, काठमाडौं निवासी हिरामणी घिमिरे/सदीक्षा रिजालले रु.५ लाख, काठमाडौं निवासी अर्का प्रेरक डा. सावित्री कक्षपतिले रु.१ लाख ११ हजार, नेपालगन्ज उपमहानगरपालिकाले रु.११ लाख र सयौं सहयोगी दाताहरुले ११ हजार भन्दामाथि सहयोग गर्ने घोषणा गरेको संयोजक शाक्यले बताए । 

संयोजक शाक्यका अनुसार किरिया पुत्री भवन निर्माणका लागि दाताहरुले कबोल गरे अनुसार हालसम्म रु.५० लाख संकलन भइसकेको छ । भवनको तल्लो तल्ला प्लाष्टर र फिनिसिङ गर्ने काम भएको जानकारी संयोजक शाक्यले दिए । 

ADV

सम्बन्धित खबर

Advertise