
काठमाडौं : प्रतिनिधिसभाको बैठक चलिरहेको थियो । सांसदहरू आ–आफ्ना विषय राखिरहेका थिए । राजनीतिक बहस चलिरहेकै बेला आमाको पीडा गुञ्जियो । जेनजी आन्दोलनमा छोरा गुमाएकी सांसद रचना खतिवडा भावुन बनिन् ।
उनको सम्बोधनको केन्द्रमा सत्ता, पार्टी वा राजनीति थिएन । केन्द्रमा थिए, गत वर्ष २३ भदौको प्रदर्शनमा मारिएका उनका छोरा रसिक ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना अहिले प्रतिनिधिसभाकी सांसद छिन् । तर सांसद बनेपछि पनि उनको सबैभन्दा ठूलो परिचय फेरिएको छैन, उनी सहिद रसिककी आमा हुन् ।
उनका नजरमा संसद्मा बोल्नु सामान्य राजनीतिक जिम्मेवारी जस्तो छैन । हरेकपटक छोराको कुरा उठाउँदा उनले आफूले गुमाएको छोरालाई फेरि सार्वजनिक स्मृतिमा ल्याउनुपर्छ ।
मंगलबार संसद्मा बोल्दै गर्दा पनि उनी भक्कानिइन् । ‘यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन । यो मेरो न्याय खोज्ने यात्रा थियो,’ उनले भनिन् । बोलिरहँदा उनका आँखाबाट आँसु झरिरहे ।
राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो घरको दैलोसम्म पुगेको र प्रधानमन्त्री बालेन्द्र शाहले बारम्बार आग्रह गरेपछि आफू सांसद बनेको उनले बताइन् ।
तर सांसद बन्नुको उद्देश्य पद प्राप्ति नभएको उनको भनाइ थियो । ‘तमाम जेनजीहरूको बलिदान खेर जान नदिन म सदनमा पुगेकी हुँ,’ उनले भनिन् ।
सरकारले बाटो बिराउन खोजे संसद्को यही रोस्ट्रमबाट खबरदारी गर्न आफू आएको उनले बताइन् । ‘मेरो यो यात्राको उद्देश्य शासकहरूले आफ्नो गलत बाटो समयमा नै सुधारून् भन्ने हो,’ उनले भनिन् ।
उनले जेनजी आन्दोलनका सहिदले पूर्ण न्याय पाए आफू सांसद पदमा एक क्षण पनि नरहने बताइन् । ‘जुन दिन जेनजी आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन,’ उनले भनिन् ।
आफूले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने दुर्गा प्रसाईंको आरोपप्रति पनि उनले रोष प्रकट गरिन् । आफ्नो छोराको मृत्युको पीडामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गर्दै उनले भनिन्, ‘आज पनि कसैले मेरो छोरा जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु ।’
आफू मेडिकल माफिया बन्न नभई सहिद परिवार र जेनजी आन्दोलनका मागको प्रतिनिधित्व गर्न संसदमा आएको उनको भनाइ थियो । रसिकको मृत्युपछि रचनाको जीवनले नयाँ मोड लियो। उनी सडकमा देखिइन्, न्यायको माग गरिन् र अन्ततः संसद्को रोस्ट्रमसम्म आइपुगिन् ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि न्याय, घटनाको छानबिन, दोषीमाथि कारबाही र राज्यको जवाफदेहिताका प्रश्न अझै सार्वजनिक बहसमा छन् । रचना त्यही बहसकी एक प्रत्यक्ष पात्र बनेकी छन् ।