
दोहा, कतार : भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट घर, सम्पत्ति र वर्षौंको मिहिनेत गुमाएकी धादिङकी लक्ष्मी भण्डारी खतिवडालाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरनए एनसिसी) कतारले नेपाल फर्कन हवाई टिकट उपलब्ध गराएको छ । संघले उपलब्ध गराएको टिकटबाट खतिवडा बुधबार बिहान कतार एयरवेजको उडानमार्फत नेपाल पुगेकी छन् ।
गल्छी गाउँपालिका–६ धादिङकी खतिवडा बाढीका समयमा कतारमै रहेकी थिइन् । बाढीले घर, सम्पत्ति र वर्षौंको मिहिनेत बगाएर जीवनलाई शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पुर्याएको कठिन समयमा नेपाल फर्कन हवाई टिकट उपलब्ध गराएर सहयोग गरेकोमा उनले एनआरएनए एनसिसी कतारप्रति हृदयदेखि आभार व्यक्त गरेकी छन् ।
‘प्रवासमा रहेका हामी नेपालीको दुःखलाई आफ्नै दुःख सम्झेर साथ, सहयोग र हौसला प्रदान गर्दै कतारदेखि नेपालसम्मको हवाई टिकट उपलब्ध गराउनुभएकोमा एनसिसी कतारप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ खतिवडाले भनेकी छन् । ‘दुःखको समयमा प्राप्त सहयोग रकमभन्दा ठुलो कुरा त्यसले दिएको अपनत्व, भरोसा र हिम्मत हो । हजारौं किलोमिटर टाढा रहेर पनि मेरो पीडामा मलम बनेर साथ दिनुभएको यो सहयोग म जीवनभर सम्झिरहनेछु,’ उनले भनेकी छन् ।
उनले बाढी तथा विपद्मा परेका नेपालीलाई सहयोग गर्दै आएको एनसीसी कतारको मानवीय भावना र सेवा भावप्रति सम्मान व्यक्त गर्दै संघको साथले भग्नावशेषबाट फेरि उठ्ने हिम्मत दिएको बताएकी छन् ।
एनसिसी कतारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सञ्चालन गरेको आर्थिक संकलन अभियानमार्फत ५८ लाख १४ हजार ४३२ रुपैयाँ संकलन गरी सम्बन्धित राहत कोषमा जम्मा गरिसकेको जनाएको छ । एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले बाढीमा परिवार गुमाएका तथा नेपाल फर्कन कठिनाइमा रहेका कतारस्थित नेपालीलाई आवश्यक सहयोग, आश्रय तथा समन्वय गर्ने बताउँदै आएका छन् ।
एनसिसी कतारले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित लक्ष्मी भण्डारी खतिवडासहित तीन नेपालीलाई हालसम्म नेपाल फर्कन हवाई टिकट उपलब्ध गराएको छ । एनसिसीले रसुवाको उत्तरगया गाउँपालिका–१ की बाढीपीडित मिरा तामाङ र नुवाकोट निवासी धनकुटा मारेकटहरेका धनबहादुर तामाङलाई पनि कतारबाट नेपाल फर्कन हवाई टिकट उपलब्ध गराएको हो ।
एनसिसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलले विपद्का कारण परिवार गुमाएका तथा विभिन्न कारणले नेपाल फर्कन कठिनाइमा रहेका कतारस्थित नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।