२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रवासी भुजेल समाज कतारले दोस्रो बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज ७ गते १५:५१
Shares
प्रवासी भुजेल समाज कतारले दोस्रो बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै

दोहा, कतार : मानवीय सेवाको उद्देश्यसहित प्रवासी भुजेल समाज कतारले दोस्रो बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आगामी शुक्रवार आयोजना हुने कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने समाजले जनाएको छ ।

ncell

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रम नेपाली रक्तदाता संघ कतारको समन्वयमा हुन लागेको हो । कार्यक्रमलाई सफल बनाउन कतारमा रहेका सम्पूर्ण नेपालीलाई रक्तदानमा सहभागी हुन समाजका अध्यक्ष सन्तोष भुजेलले आह्वान गरेका छन् ।

अध्यक्ष भुजेलका अनुसार प्रवासी भुजेल समाज कतारले यसअघि पनि पहिलो रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । कतारमा उपचाररत बिरामीका लागि आवश्यक रगतको अभावलाई केही हदसम्म पूर्ति गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले दोस्रो कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

रक्तदानमा सहभागी हुन इच्छुकले आफ्नो वैध कतारी परिचयपत्र अर्थात् कतार आइडी अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । आयोजकले रक्तदानअघि पर्याप्त पानी पिउन, ६ देखि ८ घण्टासम्म पर्याप्त निद्रा लिन तथा खाली पेट नआई हलुका र पोसिलो खाना खान आग्रह गरेको छ । त्यस्तै, रक्तदान गर्नुअघि कम्तीमा २४ घण्टासम्म मद्यपान नगर्न र स्वास्थ्यसम्बन्धी समस्या भएका वा नियमित औषधि सेवन गरिरहेका व्यक्तिले रक्तदानअघि स्वास्थ्यकर्मीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

रक्तदानबाट संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा प्रयोग हुने भएकाले सामाजिक सेवाका रूपमा रक्तदानको महत्त्व रहेको आयोजकले जनाएको छ । कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न प्रवासी भुजेल समाज कतारले आग्रह गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर