
काठमाडौँ : आगामी केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै पर्यटन विभागले पर्यटकीय गन्तव्यमा रहेका तथा भ्रमणको तयारीमा रहेका पर्यटक, पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले बुधबार मौसमसम्बन्धी सूचना जारी गर्दै शरद ऋतुका लागि हिमाली क्षेत्रमा पुगिसकेका तथा जाने तयारीमा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तथा आरोहणसम्बन्धी गतिविधि सञ्चालन गर्न आग्रह गरेको हो ।
नेपाल मौसम बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । उक्त अवधिमा भूक्षय, बाढी तथा पहिरोको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ ।
मौसमको प्रतिकूलताले पदयात्रा तथा हिमाल आरोहणका गतिविधिमा समेत असर पार्न सक्ने भएकाले विभागले यो अवधिमा सकेसम्म यात्रा नगर्न र नगराउन अनुरोध गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भए सुरक्षित तथा सावधानीपूर्वक यात्रा गर्न विभागको आग्रह छ ।
विभागले मौसमी पूर्वानुमानलाई ध्यानमा राखेर पदयात्रा तथा आरोहणका आगामी योजना बनाउनसमेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
यसैबीच, पदयात्रा तथा हिमाल आरोहणको अनुमति जारी भएका गोरखाको सामागाउँ, खुम्बु क्षेत्र र मनाङलगायत स्थानमा रहेका स्वास्थ्य संस्थालाई सेवा अवरुद्ध नहुने गरी तयारी अवस्थामा रहन विभागले अनुरोध गरेको छ ।
त्यस्तै, काठमाडौँ र पोखरामा रहेका हिमाली क्षेत्रमा देखिन सक्ने स्वास्थ्य समस्याको उपचार सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई पनि आवश्यक तयारीसहित सहज र अविच्छिन्न स्वास्थ्य सेवा उपलब्ध गराउन विभागले आह्वान गरेको छ ।
विभागले मौसमको अवस्था प्रतिकूल हुनसक्ने भएकाले पर्वतारोहण तथा पदयात्रामा संलग्न व्यक्ति र सम्बन्धित व्यवसायीले जोखिमको आकलन गरी आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।