
दोहा, कतार : सपनी र गन्तव्यको खोजीमा कतार पुगेका सर्लाहीवासीहरूको साझा संस्था 'सर्लाही प्रवासी सेवा समाज, कतार'ले आफ्नो १२औं अधिवेशन तथा १८औं स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ । स्थापना दिवससँगै नेपालीहरूको महान् पर्व विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको समेत आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रकाश आले मगरले जानकारी दिएका छन् ।
सन् २००८ मा स्थापना भएको यस समाजले कतारमा रहेका सर्लाहीवासीहरूलाई एकै ठाउँमा जोड्दै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । समाजका अनुसार उक्त विशेष समारोह आउँदो शुक्रवार सनैयास्थित 'जिम्बु थकाली रेस्टुरेन्ट' (प्लाजा मल) मा आयोजना हुनेछ । कार्यक्रम मध्यान्ह १२:०० बजेदेखि सुरु हुने जनाइएको छ ।
उक्त अधिवेशन, स्थापना दिवस तथा पर्व विशेष शुभकामना आदान-प्रदान कार्यक्रममा कतारमा रहेका सम्पूर्ण सर्लाहीवासी, वैचारिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायीका साथै सर्वसाधारण दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक निमन्त्रणा तथा आह्वान गरेको छ ।
स्थापनाकालदेखि नै समाजले वैदेशिक रोजगारीका क्रममा कतारमा दुःख, कष्ट र अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको उद्धार तथा राहतमा निरन्तर सहयोग गर्दै आएको छ । यसका साथै गृह जिल्ला सर्लाहीमा आइपर्ने दैवी प्रकोप, विपत्ति, गरिबी, स्वास्थ्य उपचारबाट वञ्चित नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक एवं भौतिक सहयोग पुर्याउँदै आएको छ । समाजले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रहरूमा समेत आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न परोपकारी कार्यहरू सञ्चालन गर्दै आएको छ ।