२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

गोदावरीमा असोज २३ र २४ गते महोत्सव, आम्दानी बाढीपीडितको अस्थायी आवासमा

Nada
२०८३ असोज ७ गते १९:१०
Shares
गोदावरीमा असोज २३ र २४ गते महोत्सव, आम्दानी बाढीपीडितको अस्थायी आवासमा

ललितपुर : ललितपुरको गोदावरीमा पर्यटन प्रवर्द्धनसँगै बाढीपहिरो प्रभावितका लागि सहयोग जुटाउने उद्देश्यले दुईदिने गोदावरी महोत्सव आयोजना हुने भएको छ ।

ncell

महोत्सव असोज २३ र २४ गते गोदावरीमा आयोजना गर्न लागिएको हो । महोत्सव सञ्चालनका लागि आयोजक संस्था क्रमशः इन्टरटेन्मेन्टले बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट स्वीकृति लिएको संस्थाका प्रमुख सन्दिप महर्जनले जानकारी दिए ।

उनका अनुसार गोदावरीको पर्यटन सम्भावनालाई उजागर गर्दै स्थानीय कला, संस्कृति, खानपान र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहनेछन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा अन्य सांस्कृतिक गतिविधिले महोत्सवलाई आकर्षक बनाउने आयोजकको तयारी छ ।

महोत्सव परिसरमा स्थानीय परिकार तथा उत्पादनका विभिन्न स्टलसमेत राखिनेछन् । गोदावरीमा उत्पादन हुने कृषि उपज, स्थानीय हस्तकला, खानाका परिकार तथा अन्य मौलिक उत्पादनलाई महोत्सवमार्फत आगन्तुकमाझ पुर्‍याउने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सवको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक सहयोग रहेको आयोजकले जनाएको छ । महोत्सवबाट संकलन हुने रकम भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट घरबार गुमाएका तथा प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणमा खर्च गरिनेछ ।

‘मनोरञ्जनसँगै मानवीय सहयोग’लाई महोत्सवको मूल भाव बनाइएको आयोजकको भनाइ छ । महोत्सवमा सहभागी हुने दर्शक तथा स्थानीयको सहभागिताबाट संकलित रकम विपद् प्रभावित परिवारको पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गोदावरी प्राकृतिक सौन्दर्य, हरियाली र धार्मिक तथा पर्यटकीय स्थलका कारण ललितपुरको महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । महोत्सवले गोदावरीको पर्यटन सम्भावनालाई थप चिनाउन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेका अनुसार महोत्सवलाई केवल मनोरञ्जनको कार्यक्रम नभई गोदावरीको पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन र विपद् प्रभावित परिवारलाई सहयोग गर्ने साझा अभियानका रूपमा अघि बढाउन खोजिएको बताए ।

ताजा खबर

सम्बन्धित खबर