२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भारी वर्षाको जोखिमपछि कान्तिलोकपथ बेलुका ४ बजेदेखि बन्द

Nada
रामहरि कार्की
२०८३ असोज ७ गते २१:००
Shares
भारी वर्षाको जोखिमपछि कान्तिलोकपथ बेलुका ४ बजेदेखि बन्द

ललितपुर : भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कान्तिलोकपथ बिहीबार बेलुका ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ । 

ncell

जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुधबार बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नरहरि घिमिरेले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्तिलोकपथ बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

जिल्लामा २७ वटा जोखिमयुक्त स्थान पहिचान गरिएको छ । ती स्थानका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न स्थानीय तहले माइकिङ गर्नुपर्ने निर्देशन दिइएको छ । प्रशासनले नागरिकलाई सुरक्षित तथा वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालका अनुसार बिहीबार बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र टीकाभैरबाट मकवानपुरतर्फ सवारीसाधन जान दिइनेछ । त्यस्तै, मकवानपुरबाट ललितपुर प्रवेश गर्ने बागमती गाउँपालिका–२, बगुवा नाकाबाट पनि बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र प्रवेश गर्न दिइनेछ ।

जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनमा असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

बैठकमा ललितपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य जगदीश खरेलले असोज ९ देखि ११ गतेसम्म हुनसक्ने वर्षा र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षा निकायलाई सक्रिय रहन निर्देशन दिए । उनले सम्भावित विपद्मा मानवीय क्षति शून्य बनाउने गरी तयारी गर्नुपर्ने बताए ।

उनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना पुर्‍याउन र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्न पनि आग्रह गरे । उनका अनुसार ललितपुर क्षेत्र नं. १ विपद्का दृष्टिले अत्यन्त जोखिमपूर्ण क्षेत्र हो । 

ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले २०८१ असोजमा आएको बाढीपहिरोबाट पाठ सिकेर यसपटक आवश्यक तयारी गर्नुपर्ने बताइन् । दक्षिण ललितपुरमा विपद्का बेला सञ्चार सम्पर्क विच्छेद हुनसक्ने भएकाले सुरक्षा निकाय र अस्पताललाई समेत उच्च सतर्क अवस्थामा राख्नुपर्ने उनको भनाइ थियो । 

कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्र सुरक्षित स्थान पहिचान गरी माइकिङसमेत गरिएको जानकारी दिए । विद्युत् अवरुद्ध हुनसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले पनि आवश्यक तयारी गर्नुपर्ने उनले बताए ।

बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी मगरले कान्तिलोकपथको संरचना कमजोर रहेकाले जोखिमको समयमा निश्चित अवधि सडक बन्द गर्नु उपयुक्त हुने बताए । सञ्चार सम्पर्क विच्छेद हुनसक्ने भएकाले आवश्यक स्थानमा तत्काल जेनेरेटरको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो । 

नेपाली कम्युनिस्ट पार्टीका नेता शिव कट्टेलले विपद्का समयमा मिथ्या सूचना फैलिन सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे । निर्माण व्यवसायी संघ ललितपुरका उपाध्यक्ष भगिरथ तिमिल्सिनाले विपद्का बेला उद्धार तथा व्यवस्थापनमा हुने ढिलासुस्ती हटाउनुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर