२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भोटेकोशी बाढी: बेपत्ता प्रहरी हवल्दारको दाहसंस्कार, ७ वर्षीय छोराले कुशको शवमा दिए दागबत्ती

Nada
लालबाबु बानिया
२०८३ असोज ७ गते २२:०१
Shares
भोटेकोशी बाढी: बेपत्ता प्रहरी हवल्दारको दाहसंस्कार, ७ वर्षीय छोराले कुशको शवमा दिए दागबत्ती

पर्सा : रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका हवल्दार श्रवणकुमार यादवको २९ दिनपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर हिन्दु धार्मिक परम्पराअनुसार दाहसंस्कार गरेको छ ।

ncell

पर्साको पर्सागढी नगरपालिका–९ एकटंगास्थित यादवको घरपरिवारले बुधबार हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरेको हो । दाहसंस्कारका क्रममा नेपाल प्रहरीका प्रहरीले शोक सलामीसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रसुवा प्रहरी चौकीमा कार्यरत हवल्दार यादव असोज १० गते आएको विनाशकारी बाढीपछि बेपत्ता भएका थिए । २९ दिनसम्म खोजतलास गर्दा पनि उन को अवस्था पत्ता नलागेपछि परिवारले छोरा जीवित भेटिने आशा मारेको भन्दै प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको जनाएको छ ।

यादवका काका मदन यादवका अनुसार श्रवण १६ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत थिए। रसुवामा बाढी आएको खबर पाएपछि परिवारका सदस्यहरू पर्साबाट त्रिशूलीसम्म पुगेर आफैंले समेत खोजतलास गरेको उनले बताए ।

‘नेपाल प्रहरीमा १६ वर्षदेखि कार्यरत थियो। रसुवामा विनाशकारी बाढीको खबर सुनेपछि हामीहरू छोरा श्रवणलाई खोज्न पर्सादेखि त्रिशूलीसम्म आफैं गयौं । तर कतै भेटेनौं,’ मदनले भने, ‘सरकारले पनि छोराको शरीर खोजेर दिन सकेन । धेरैपटक खोजतलास गर्दा पनि नभेटिएपछि छोराको आश मानेर २९ दिनपछि कुशको प्रतीक बनाएर दाहसंस्कार गरेका हौं ।’

श्रवण परिवारका लागि मुख्य आर्थिक सहारा रहेको परिवारले जनाएको छ । उनको परिवारमा श्रीमती, दुई छोरी, एक छोरा, आमाबुबा र एक बहिनी गरी सात जना छन् । परिवारमा कमाउने सदस्यका रूपमा श्रवण मात्रै रहेको परिवारको भनाइ छ । श्रवणका एक छोरा सात वर्षका छन् । आमाबुबा वृद्ध अवस्थामा पुगिसकेका छन् । परिवारको मुख्य सहारा रहेका श्रवण बाढीमा बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था थप कमजोर बनेको छ ।

छोराको अवस्था पत्ता नलागेपछि अन्ततः धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्नुपरेको पीडा परिवारले व्यक्त गरेको छ । परिवारले अब आफ्नो घरपरिवारको सहारा बन्न सरकारसँग सहयोगको आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर