
रौतहट : पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार नजिकै इभी माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ गुजरा नगरपालिका–३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको कल्भर्ट नजिक दुर्घटना भएको हो । निजगढतर्फबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५९५ नम्बरको इभी र विपरीत दिशाबाट जाँदै गरेको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
तीव्र गतिमा रहेका दुवै सवारी साधन नियन्त्रण बाहिर गई ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । दुर्घटना लगत्तै प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तिया निवासी २० वर्षीय सन्देश यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यस्तै दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कटहरिया नगरपालिका–८ बलुवा टोलका २० वर्षीय राजगीर यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको मुख्य कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।