
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी अक्टोबरदेखि युएई जाने नेपाली श्रमिकको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण शुल्क आधाले घट्ने बताएको छ । संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघका पदाधिकारीहरूसहितको प्रतिनिधिमण्डलले नेपालस्थित संयुक्त अरब इमिरेट्सका राजदूतसँग भेटघाट गरी वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विभिन्न समसामयिक विषयमा महत्वपूर्ण छलफल गरेपछि युएई राजदूतावासले उक्त जानकारी दिएको हो ।
उक्त भेटमा संघले प्राथमिकताका साथ प्रहरी चालचलन रिपोर्ट एटेस्टेसनबिनै नेपाली श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न अनुरोध गरेको थियो । तर, युएईले प्रहरी चालचलन रिपोर्ट एटेस्टेसनको विषय युएईको आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित रहेको कारण उक्त प्रक्रिया पूर्णरूपमा हटाउन सम्भव नभए पनि अक्टोबर २०२६ देखि युएईमा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको प्रहरी चालचलन रिपोर्ट एटेस्टेसनमा लाग्दै आएको शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने बताएको छ । साथै, हाल लागिरहेको समयावधिलाई घटाई अबदेखि ३ कार्यदिनभित्र प्रमाणीकरण सम्पन्न हुने व्यवस्था मिलाइएको बताएको छ । जेनजी आन्दोलनपछि नेपाल प्रहरीले जारी गरेको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण गर्न ३ सय ५३ दिराम, करिब १४ हजार रुपैयाँ, लिने गरेको छ ।
त्यस्तै, निकट भविष्यमा नेपालबाट भ्रमण तथा व्यावसायिक भिसामा युएई जाने नेपाली नागरिकहरूका लागि प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण गर्न नपर्ने व्यवस्था मिलाउने प्रतिबद्धता समेत राजदूतबाट व्यक्त भएको संघले बताएको छ ।
त्यसैगरी, युएईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सञ्चालन गर्न थालेको र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत नियमित उडान सञ्चालनका लागि आवश्यक पहल भइरहेको तथा छिट्टै नियमित उडान सञ्चालन हुने प्रतिबद्धता राजदूतावासबाट जानकारी प्राप्त भएको संघले बताएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको अवस्थामा न्यून हवाई शुल्कका कारण विगतमा भारत हुँदै गन्तव्य मुलुक जान बाध्य नेपाली श्रमिकहरूले समेत राहत पाउने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक तथा गण्डकी प्रदेशसहित क्षेत्रमा कार्यरत व्यवसायीहरूले उक्त विमानस्थलहरू प्रयोग गरी श्रमिक पठाउने र नियमित हवाई सेवा सञ्चालनलाई थप सहज तथा दिगो बनाउने वातावरण सिर्जना गर्न संघको आग्रह छ ।
संघले व्यवसायीहरूले भोग्दै आएका अव्यावहारिक समस्याहरूको समाधानका लागि सम्बन्धित निकाय तथा कूटनीतिक नियोगहरूसँग निरन्तर समन्वय, सहकार्य र पहल गर्दै आइरहेको महासचिव हिराबहादुर डाँगी (हरि)ले जानकारी दिएका छन् । संघको प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव डाँगी र कोषाध्यक्ष धनु सिंजाली सहभागी थिए ।