
काठमाडौं : सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गरी तारेखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको छ ।
दाहालको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटीका नाममा यस्तो आदेश जारी गरेको हो ।
यसअघि सर्वोच्च अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न प्रहरीलाई आदेश दिएको थियो । साथै, आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानसम्बन्धी मिसिल र बन्दीसहित अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो ।
अदालतको आदेशपछि प्रहरीले दाहाललाई बिहीबार अदालतमा उपस्थित गराएको थियो । सुनुवाइपछि अदालतले उनलाई हिरासतमा नराखी तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
दाहाललाई प्रहरीले आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । प्रहरीले उनको युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको थियो ।