
काठमाडौं : पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्ध सुदृढ पार्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा भोली असोज ९ देखि बृहत् पुस्तक प्रदर्शनी–२०८३ सुरु हुने भएको छ ।
कमलादीस्थित प्रतिष्ठान परिसरमा आगामी असोज ९ देखि १८ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन र ज्ञान–विज्ञानसम्बन्धी पुस्तक ४० प्रतिशतसम्मको सहुलियत मूल्यमा बिक्री गरिने प्रतिष्ठानले जनाएको छ ।
प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीका अनुसार, प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका अतिरिक्त निजी प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाहरूले समेत कक्ष राखी आफ्ना पुस्तक प्रदर्शन तथा बिक्री–वितरण गर्नेछन् । प्रदर्शनीमा साझा प्रकाशन, राष्ट्रिय अभिलेखालय, ललितकला, नेपालय, इन्डिगो इन्कलगायत दर्जनौँ ख्यातिप्राप्त प्रकाशन गृहहरूको सहभागिता रहनेछ ।
प्रदर्शनी कक्षमा भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तकलाई विशेष प्राथमिकताका साथ राखिनेछ । सहभागी प्रकाशन गृह तथा संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा प्रतिष्ठानले निःशुल्क कक्ष उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।