२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

गुठी र कुटीका जग्गावासीको उठीबास रोक्न माग, शुक्रवार जनकपुरधाममा प्रदर्शन

Nada
२०८३ असोज ८ गते १८:३५
Shares
गुठी र कुटीका जग्गावासीको उठीबास रोक्न माग, शुक्रवार जनकपुरधाममा प्रदर्शन

काठमाडौँ : गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरूले आफूलाई विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गर्ने भएका छन् ।

ncell

‘गुठी कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समिति’ को आयोजनामा शुक्रवार हुने प्रदर्शनले सरकारको पछिल्लो कदमको विरोध गर्दै आफ्नो हक अधिकार सुनिश्चित गर्न माग गर्ने भएको हो ।

समितिका अध्यक्ष सन्तोष साहका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा गुठी र कुटीको जग्गामा बसोवास गर्दै आएका सयौँ परिवार यतिबेला सरकारी नीतिका कारण विस्थापित हुने डरमा छन् ।

आफूहरू पुस्तौँदेखि कुटीको जग्गामा बसोवास गर्दै आए पनि पछिल्लो समय प्रशासनले प्रक्रियागत झन्झट देखाउँदै उठीबास गराउन खोजेको साहको आरोप छ । आन्दोलनको कार्यक्रमअनुसार शुक्रबार जनकपुरधाम नगर क्षेत्रमा प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागीहरूले नगर परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

समितिले सरकारसामु प्रमुख दुई माग अघि सारेको छ । कुटीको जग्गामा बसोवास गर्दै आएका परिवारलाई जग्गाको रैतान नम्बरी कायम गरी स्वामित्वको अधिकार दिनुपर्ने, हालका लागि जग्गा खाली गराउने वा उठीबास गराउने कार्य तत्काल रोकी प्रभावित परिवारको उचित बासस्थानको ग्यारेन्टी गरिनुपर्ने माग अघि सारेको छ ।

अध्यक्ष साहले भने, ‘हामी गुठीको जग्गामा होइन, कुटीको जग्गामा बसोबास गरिरहेका छौँ । राज्यले कानुनको अपव्याख्या गरेर हाम्रा सन्तानको भविष्यमाथि खेलबाड गर्न पाउँदैन ।’

संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने चेतावनी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर