
काठमाडौं : २२ वर्षीया पीडित युवती र काभ्रेपलाञ्चोकका समीर भन्ने शम्शेर तामाङबीच सामाजिक सञ्जाल (फेसबुक)मार्फत चिनजान भयो । तामाङले लगातार फोन सम्पर्क र भेटघाटका क्रममा युवतीलाई विवाह गरी श्रीमती बनाएर राख्छु भन्दै प्रलोभन र आश्वासन दिँदै गए । उनको मनसाय विवाह गर्ने थिएन, तर विवाहको प्रलोभन तथा आश्वासन दिएर उनी युवतीसँग शारिरीक सम्बन्ध राख्न चाहन्थे ।
२०७६ साल जेठ १ गते पीडित युवती आफ्नी बिरामी दिदीको हेरविचार गर्न काभ्रेको बनेपा पुगेकी थिइन् । जेठ ४ गते साँझ काठमाडौं फर्किने क्रममा तामाङले विवाह गर्ने प्रलोभन देखाइ उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित आफ्नी दिदी सिता वाईवाको डेरामा पु¥याए । पीडित युवतीले अदातलमा दिएको बयान अनुसार तामाङले बाहिर निस्कन नदिने र मोबाइल फोनसमेत प्रयोग गर्न नदिइ पूर्णतः सञ्चारविहीन बनाएका थिए । तामाङले पटक–पटक शारिरीक सम्बन्ध राख्ने प्रयास गरेका थिए । तर,पीडित युवतीले विवाह र टीकाटालो गरेपछि मात्र शारीरिक सम्बन्ध राखौं भन्दै स्पष्ट अडान राख्दाराख्दै पनि उनको इच्छा विपरित शारीरिक सम्बन्ध राखे । उनले विवाहको आश्वासन दिएर पटक–पटक जबरजस्ती करणी गरेको युवतीले बयान दिएकी छन् ।
जेठ ११ गते बिहान तामाङले पीडित युवतीलाई पुनःबनेपास्थित दिदीको कोठामा ल्याएर छाडिदिए र कामको सिलसिलामा १५ दिनका लागि गाउँ जाने बताएका थिए । तर तामाङ सम्पर्कमा नआएपछि पीडितले आफूमाथि भएको घटनाबारे परिवारलाई बताएपछि खोजतलास गर्दा तामाङ पहिले नै विवाहित रहेको र अर्कै युवतीसँग विवाह गरिसकेको तथ्य खुलेको थियो । झुठो आश्वासन दिएर छलकपट गरिएको थाहा पाएपछि पीडितले २०७६ जेठ महिनामै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
भक्तपुर जिल्ला अदालतमा २०७६ माघ १३ गते प्रमाण, स्वास्थ्य परीक्षण प्रतिवेदन र बयानका आधारमा जिल्ला अदालतले प्रतिवादी तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ बमोजिम ७ वर्ष कैद र दफा २२८ बमोजिम ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला ग¥यो । पाटन उच्च अदालतले २०७७ माघ २५ गते दुवै उमेर पुगेका व्यक्तिबीच सहमतिमा सम्बन्ध भएको भन्दै अभियुक्तलाई सफाइ दिएपछि पीडित थप पीडामा परेकी थिइन् । उच्च अदालतले आरोपितलाई सफाई दिएपछि मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो ।
आरोपित पुरुषले आफूहरुबीच सहमतिमा नै शारीरिक सम्बन्ध भएको र त्यसक्रममा कुनै प्रलोभन वा आश्वासन नदिएको दाबी गरेका थिए । तर पीडित युवतीले भने विवाह गर्ने सहमति अनुसार मात्रै आफू शारीरिक सम्पर्कका लागि तयार भएको बयान दिएकी थिइन् ।
६ वर्ष लामो कानुनी संघर्षपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पाटन उच्च अदालतको सफाइ फैसला उल्टी गर्दै प्रतिवादी तामाङलाई ७ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सुरु भक्तपुर जिल्ला अदालतको फैसला कायम गरेपछि पीडित युवतीको कानुनी लडाइँले सार्थकता पाएको छ ।
सर्वोच्च अदालतले विवाहको आश्वासन र प्रलोभनसहित शारीरिक सम्पर्क स्थापित गर्ने तामाङलाई बलात्कारको मुद्दामा कसुरदार ठहर गरेको हो । बिहेको उद्देश्य नभएको तर विवाह गर्छु भनि अनुचित प्रभावमा पारेर स्थापित शारीरिक सम्पर्कलाई ‘सहमतिको सम्बन्ध मान्न नसकिने’ व्याख्या गरेको हो ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘विवाह गर्छु भनि लिइएको सहमतिलाई स्वतन्त्र सहमति मान्ने हो भने यसले महिलाको भावना, सामाजिक अपेक्षा र शारीरिक संवेदनशीलताको पूर्ण उन्मुक्तिका साथ शोषण गर्न छुट दिन्छ, जसले गर्दा शारीरिक स्वयत्ततालाई नियोजित झुटमार्फत प्राप्त गर्न सक्ने वस्तुमा परिणत हुन जान्छ ।’
सर्वोच्च अदालतले विवाह गर्ने आश्वासनयुक्त सहमतिको स्वतन्त्र सहमति मान्न नमिल्ने व्याख्यासहित पुरुषलाई दोषी ठहर गरेको हो । जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ । ‘यदि यी प्रतिवादीले विवाह गर्ने प्रलोभन नदेखाएको भए पीडित युवती प्रतिवादीसँग करिब एक हप्तासँगै बस्नु स्वभाविक हुनै सक्दैन’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘तसर्थ विवाह गर्छु भनि वा विवाह गर्न भनी लगि करणी गरेकोलाई स्वतन्त्र सहमति मान्न सकिएन ।’
न्यायाधीशहरु मल्ल र पाण्डेयको इजलासले मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९(१)(क)मा भएको व्यवस्था अनुसार जबर्जस्ती करणी ठहरिने फैसला गरेको हो । उक्त दफामा ‘करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिइ लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’ भन्ने व्यवस्था छ ।
विवाहित व्यक्तिले अर्को व्यक्तिलाई विवाहको आश्वासन दिनु नै दूषित मनसाय हुने भन्दै सर्वोच्च अदालतले त्यस्तो सम्बन्ध स्वतन्त्र नभइ प्रलोभनयुक्त हुने व्याख्या गरेको हो । जागिर लगाइदिने आश्वासनसहित भएको एक बलात्कार घटनाको नजिर औंल्याउँदै सर्वोच्च अदालतले भनेको छ, ‘विवाह गर्ने झुठ्ठा आश्वासन दिएर पीडित महिलाले यौनसम्पर्कको लागि दिएको सहमतिलाई स्वतन्त्र सहमति मान्न मिल्दैन ।’