२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सुशासन कायम गर्न वर्तमान सरकार सफल हुनेछ : सभापति खतिवडा

ADV
मध्यान्ह
२०८१ भदौ १ गते ०९:११
सुशासन कायम गर्न वर्तमान सरकार सफल हुनेछ : सभापति खतिवडा

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले देशमा सुशासन कायम गर्न वर्तमान सरकार सफल हुने बताएका छन् । शुक्रबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासनको क्षेत्रमा देखिएका चुनौती’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा सुशासनको अवस्था, भ्रष्टाचार नियन्त्रण तथा सुशासनमा राज्य व्यवस्था समितिले खेलिरहेको भूमिकाबारे आफ्नो धारणा राख्दै उनले देशका नियामक निकायका कर्मचारी, कार्यकारी प्रमुखहरू र विभिन्न संस्थाहरुलाई आम जनतालाई कष्ट नहुने गरी कानूनसम्मत रुपमा कार्य गर्न आग्रह गरे । 

साथै उनले समितिमा भ्रष्टाचार निवारण संशोधन विधेयकमाथि भएको छलफलमा भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नुपर्ने विषय उठान भएपनि आफूले हदम्याद नराखी निलम्बनको नीतिलाई प्राथमिकता दिने औंल्याए । सो विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल भइसकेको उनले बताए ।

यस्तै कार्यक्रममा महालेखापरीक्षक तोयम रायले नेपालमा सुशासनको अवस्था र महालेखापरीक्षक कार्यालयको महत्वपूर्ण योजनालगायतका विषयमा बोल्दै महालेखापरीक्षकको कार्यालयले गरेको अडिटको विषयमा राम्ररी छलफल हुने हो भने सुशासनका क्षेत्रमा भइरहेका कमजोरी थाहा पाउन सकिने बताए । उनले राष्ट्र संंघीयतामा प्रवेश गरेपछि विभिन्न ऐनहरु तत्काल पारित हुनुपर्ने भएपनि ऐन पारित हुनमा ढिलाइ भइरहेको बताए । साथै उनले सुशासन कायम गर्न सबैले आफ्नो–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए । 

राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले राजश्व प्रशासनिक क्षेत्रमा देखिएका चुनौतीका बारेमा आफ्ना भनाइ राख्दै आमनागरिकले अनुभूत गर्ने किसिमको शासन नै सुशासन भएको बताए । उनले हिंसारहित अवस्था सिर्जना गरी जनताको आवाज सुन्ने, दण्डहीनताको अन्त्य र लोकतन्त्रको लाभलाई जनतासम्म पुर्‍याउन सके सुशासन कायम हुनेमा जोड दिए । साथै भ्रष्टाचारको अन्त्य नै सुशासन भएको पनि उनको भनाइ थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले सुशासन कायममा अख्तियारका चुनौतीका विषयमा बोल्दै उनले भ्रष्टाचारका विषय अख्तियारमा पुग्नु अघि नै सञ्चारमाध्यमबाट प्रकाशित हुने गरेको बताए । उनले कानूनीरूपमा अघि बढ्नुपर्ने विषयमा पनि जनताहरूले सम्बन्धित निकायमा सम्पर्क गर्नुको साटो सामाजिक सञ्जालमा हाल्न रुचाउने बताउँदै यसले प्रशासनिक निकायको विश्वासमा आँच आउने बताए ।

यस्तै नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले नेपालको सुशासन कोमामा गएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले भने, 'हाम्रा नेताहरूबाट सुशासन कायम हुन्छ भन्ने भ्रम अब जनतामा छैन ।' उनले नेता, कर्मचारी र व्यापारी राजस्व छल्ने विषयका प्रमुख भएको औंल्याए । उनले पुराना गल्ती ढाकछोप गर्न नयाँ नीति निर्माणको अभिनय सरकारले गरिरहेको बताए । साथै उनले हदम्यादको व्यवस्था खारेज गर्न सरकारसमक्ष आग्रह गरे ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्दप्रसाद चौलागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise